ग्रिनकार्डमा अमेरिकाबाहिर गएको एकबर्ष नाघिसक्यो, अब कसरी आउने ?

प्रकाशित मिति : फाल्गुन ९, २०७७ आईतबार

ग्रिनकार्डवाहक अमेरिकाबाहिर लगातार एकबर्षभन्दा लामो समय बसेको खण्डमा त्यस्तो व्यक्तिले अमेरिका प्रवेश गरेर ग्रिनकार्डको निरन्तरताका लागि नयाँ आप्रवासी भिसाका लागि आवेदन दिनुपर्छ । आफ्नो नियन्त्रणबाहिर रहेको अवस्थाका कारण एकबर्षभित्र अमेरिका आउन नसक्ने ग्रिनकार्डवाहकका लागि अमेरिकाको भिसा कानूनले रिर्टनिङ रेसिडेण्ड विशेष आप्रवासी भिसाको व्यवस्था गरेको छ ।

यदि तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ र अमेरिका छाडेको एकबर्षभित्र अमेरिका फर्कन सक्नुभएन भने तपाई रिर्टनिङ रेसिडेण्ड एसबीवान लागि योग्य हुन सक्नुहुनेछ । त्यसका लागि तपाईले नजिकको अमेरिकी दूतावास वा कन्सुलेटमा आवेदन दिनुपर्ने हुन्छ । यदि तपाईको रिर्टनिङ रेसिडेण्ड भिसाको आवेदन स्वीकृत भएको खण्डमा तपाई अमेरिका आएर ग्रिनकार्डलाई निरन्तरता दिन सक्नुहुनेछ ।

सम्बन्धित:  एकबर्षभन्दा कम अवधि अमेरिकाबाहिर रहेको बेला ग्रिनकार्ड हराए वा एक्सपायर भए के गर्ने ?

अन्यथा तपाईका लागि पहिलेकै जस्तो सुरुवातबाटै ग्रिनकार्डको प्रकृया सुरु गर्नुपर्छ । यदि तपाईको भिसा परिवारमा आधारित थियो भने तपाईका लागि पुन आई १३० आवेदन फाइल गर्नुपर्ने हुन्छ । रोजगार र डिभी लोटरीका आधारमा तपाईले ग्रिनकार्ड पाउनुभएको थियो भने तपाईले भविश्यमा ग्रिनकार्ड नपाउने सम्भावना समेत रहनसक्छ ।

रिर्टनिङ रेसिडेण्ड भिसाका लागि आवेदन दिइसकेपछि तपाईले दुईपटक अन्तरवार्ता दिनुपर्ने हुनसक्छ । सुरुमा तपाई यो भिसाको लागि आवेदन दिन योग्य भए नभएको सन्दर्भमा निर्धारण गर्ने आवेदन डीएस ११७ दिइसकेपछि तपाईको अन्तरवार्ता हुनसक्छ । यदि तपाई योग्य ठहरिनुभएको खण्डमा तपाईले भिसाका लागि डीएस २६० आवेदन दिनुपर्छ । त्यतीबेला तपाईको अर्को अन्तरवार्ता हुनसक्छ ।

नमुना डीएस २६० फर्म यहाँ उपलब्ध छ ।

यो भिसा प्राप्त गर्नका लागि मेडिकल परीक्षण गरेको हुनुपर्छ । त्यसैले मेडिकल शुल्क र भिसा प्रकृया शुल्क तिर्नुपर्ने हुन्छ । यो भिसाका लागि योग्य हुनका लागि तपाई अमेरिका छाड्ने बेलामा ग्रिनकार्डमै रहेको, फर्कने आशयका साथ अमेरिका छाडेको, विदेशको अस्थायी भ्रमणबाट अमेरिका फर्कन लागेको र अमेरिकाबाहिरको बसाई लम्बिएको खण्डमा तपाईको नियन्त्रणमा नरहेको अवस्थाका कारण लम्बिएको प्रमाणित गर्नुपर्छ ।

सम्बन्धित: अमेरिकामा एसाइलम पेन्डिङ भएका र स्वीकृत भएकाहरुका लागि ५ अध्यागमन सुविधा

रिर्टनिङ रेसिडेण्ड भिसा आवेदन दिन चाहनेले अमेरिका फर्कन चाहेको मितिले कम्तीमा ३ महिना अगाडि नजिकको दूतावास वा कन्सुलेटमा सम्पर्क गर्नुपर्छ । सुरुमा फर्म डीएस ११७ भरेर बुझाउनुपर्छ र साथमा आफ्नो ग्रिनकार्ड पनि पेश गर्नुपर्नेछ । अमेरिका छाड्ने बेलाको टिकट, पासपोर्टमा लगाएको छाप, अमेरिका ट्याक्स फाइल गरेको लगायतका पारिवारिक र सामाजिक सम्बन्ध पुष्टी गर्ने कागजात, लामो समय अमेरिकाबाहिर बस्नुपर्नाको स्वास्थ्य लगायतका आफ्नो नियन्त्रणबाहिरको समस्याको प्रमाण समेत पेश गर्नुपर्छ ।

कन्सुलर अधिकारीले यो आवेदन हेरेपछि रिर्टनिङ रेसिडेण्ड भिसाका लागि मापदण्ड पूरा गरे नगरेको निर्धारण गर्नेछन् । मापदण्ड पूरा गरेको निर्धारण भएमा डीएस २६० फर्म, मेडिकल परीक्षण, पासपोर्ट र दुईवटा फोटोसहित आवेदन दिनुपर्छ ।

थप जानकारीका लागि अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको यो पेज हेर्नुहोला ।

यदि तपाई नेपालमा हुनुहुन्छ भने आफ्नो रिटर्निङ रेसिडेन्ट हैसियत पत्ता लगाउनका लागि नेपालस्थित अमेरिकी दूतावासमा अन्तर्वार्ता निर्धारण गर्नु पर्दछ । अन्तर्वार्ताका लागि समय लिन [email protected] मा ईमेल पठाउनुहोला । विस्तृत पुनरावलोकन तथा अन्तर्वार्तापश्‍चात् कन्सुलर अफिसरले तपाईँ यो भिसाका निम्ति योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा निर्धारण गर्नेछन् ।

सम्बन्धित: एसाइलम स्वीकृत भयो, ग्रिनकार्ड आएको छैन, अब यात्रा गर्दा के गर्ने ?

सबै आवेदकहरूले १८० अमेरिकी डलरको फिर्ता नहुने दाखिला शुल्क वा सो सरहको रकम स्थानीय मुद्रामा तिर्न आवश्यक हुन्छ । उक्त शुल्क दूतावासको कन्सुलर क्‍याशिएरमा नगद वा क्रेडिट कार्डमार्फत तिर्न सकिन्छ । दाखिला शुल्क भिसा आवेदन शुल्क होइन । यो त रिटर्निङ रेसिडेन्ट हैसियत निर्धारण गर्नका लागि लाग्ने शुल्क हो । दाखिला शुल्क तिर्दैमा त्यसले रिटर्निङ रेसिडेन्ट हैसियत स्वीकृत हुन्छ भन्ने कुरा प्रत्याभूत गर्दैन ।

थप जानकारीका लागि अमेरिकी दूतावास काठमाडौंको यो पेज हेर्नुहोला ।

रिटर्निङ रेसिडेन्ट हैसियत प्राप्त भइसकेपछि डीएस २६० भर्दा त्यसको छुट्टै शुल्क तिर्नुपर्छ । त्यसपछिमात्र भिसा प्राप्त हुनेछ ।

श्रोत: अमेरिकी विदेश मन्त्रालय र अमेरिकी दूतावास काठमाडौं

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com