शान्तिपूर्ण खुला राजनीतिको बाटो खोज्दै विप्लव नेतृत्वको नेकपा, सरकारसँग वार्ता गर्न तयार
प्रकाशित मिति : फाल्गुन ८, २०७७ शनिबार
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले शान्तिपूर्ण र खुला राजनीतिको बाटो खोज्न थालेको छ । शान्तिपूर्ण राजनीतिमा आएर वैकल्पिक धारको नेतृत्व गर्नसक्ने सम्भावना देखेको विप्लव नेतृत्वको नेकपाले वार्तामार्फत प्रतिबन्ध फुकुवा गरेर खुला राजनीतिमा आउन चाहेको संकेत दिएको छ ।
हालै आफ्नो कार्यनीतिमा समेत फेरबदल गरेको यो पार्टीले सहजरुपमा जनतामाझ जाने वातावरण निर्माण गर्नका लागि वार्तामा बस्न इच्छा देखाएको हो । आज महासचिव विप्लवले एक वक्तव्य जारी गरेर जनतामाझ सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्था भएमा सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन् ।
विप्लवले हस्ताक्षर गरेको वक्तब्यमा भनिएको छ – ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’

सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएका कारण यो पार्टीले जनतामाझ खुला रुपमा आफ्ना राजनीतिक कार्यक्रमहरु गर्न पाएको छैन । पार्टीका नेता कार्यकर्ताहरु पनि बारम्बार पक्राउ पर्दै आएका छन् । विप्लव लगायत पार्टीका नेताहरु भूमिगत अवस्थामा रहेका छन् ।
सरकारले पनि विप्लव नेतृत्वको नेकपामाथि को प्रतिबन्ध हटाउने तयारी गरेको बताइसकेको छ । खानेपानी मन्त्री मणि थापाले नख्खु कारागार गएर चन्द समूहका नेता हेमन्तप्रकाश ओलीलाई समेत भेटेका थिए ।
सरकारले दुई वर्षअघि नेकपा चन्द समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो ।विप्लव नेतृत्वको नेकपाका तर्फबाट हिंशात्मक घटनाहरु भएपछि सरकारले यस्तो प्रतिबन्ध लगाएर नेताहरुबिरुद्ध मुद्दा चलाउदै आएको छ ।
अहिलेको राजनीतिक नेतृत्वसँग जनताहरु असन्तुष्ट भएको अवस्थामा विप्लव नेतृत्वको नेकपाले आफ्नो पक्षमा जनताहरुलाई ध्रुबिकरण गराउन प्रयत्न गर्ने कार्यनीति लिएको छ । तर प्रतिबन्धका कारण विभिन्न कार्यक्रम लिएर जनतामाझ जानमा समस्या भएका कारण प्रतिबन्ध फुकुवाका लागि कार्यनीतिमा फेरबदल गरेको देखिएको छ ।





