आधा अमेरिका खराब मौषमको चपेटामा, टेक्सासमा संकटकाल, ३८ लाख घर अन्धकार


प्रकाशित मिति : फाल्गुन ३, २०७७ सोमबार

(यो समाचारको विवरण र शीर्षक थप विवरणसहित अपडेट गरिएको छ । – सम्पादक)

अमेरिकाका कम्तीमा २५ राज्यमा खराब मौषमका कारण मौषमबारेका चेतावनी र एड्भाइजरीहरु जारी गरिएको छ । कम्तीमा १५० मिलियन जनसंख्या यस्ता चेतावनी र एड्भाइजरी अन्तरगत रहेका छन् ।

सोमबार पनि अमेरिकाको अधिकांश भूभाग शीतआँधीको चपेटामा परेको छ भने टेक्सासमा मात्र ३८ लाख भन्दा बढी घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ ।  टेक्सासमा ३८ लाख, ओरेगनमा ३ लाख बढी, लुजियानामा एकलाख बढी, भर्जिनियामा एकलाख बढी र मिसिसिपीमा ६० हजारभन्दा बढी घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ ।

अमेरिकाको मध्य र दक्षिण क्षेत्रमा भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

दक्षिण टेक्सास देखि उत्तरी मैनसम्म शीतआँधी र बर्फबारीका चेतावनी र एड्भाइजरी जारी गरिएको राष्ट्रिय मौषम सेवाले जनाएको छ । अमेरिकाको मध्यभागमा अत्यन्तै चिसो बढेको छ भने आगामी केही दिनमा ५० मिलियनभन्दा धेरै व्यक्तिले शुन्य डिग्रीभन्दा कम तापक्रमको सामना गर्नुपर्ने जनाइएको छ ।

टेक्सासबासीहरुलाई सुरक्षामा विशेष ध्यान दिनका लागि चेतावनी दिइएको छ । खराब मौषमका कारण टेक्सासको पोर्ट आर्थरमा रहेको अमेरिकाको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र पनि बन्द भएको छ ।

टेक्सासमा एउटा पुस्ताले एकपटकमात्र भोग्ने प्रकारको आँधीको चेतावनी दिइएको छ । टेक्सासबासीहरुले जीवनकालकै सबैभन्दा खराब चिसो मौषमको सामना गरिरहेको जनाइएको छ । दुईवटा मुख्य आँधीले टेक्सासमाथि प्रहार गरिसकेको छ भने अर्को आँधी आउने क्रममा रहेको छ ।

स्थानीयबासिन्दाहरुलाई खतरनाक बाटोहरुका लागि तयार रहन चेतावनी दिइएको छ । क्याटेगोरी ५ को आँधीपछि आउने अवस्था जस्तै बाटोको अवस्था खतरनाक हुने चेतावनी दिइएको हो ।

टेक्सासको सान एन्जेलोमा आइतबार १० इन्चसम्म हिउँ मापन गरिएको थियो । टेक्सासको गाल्भेस्टोन क्षेत्रमा सोमबार मेघगर्जनसहित हिमपात भएको जनाइएको छ । टेक्सास, ओक्लाहोमा र अर्कान्सासका गभर्नरहरुले उद्दार लगायतका काममा खटाउनका लागि नेशनल गार्ड सकृय बनाएका छन् ।

राष्ट्रपति जो बाइडेनले टेक्सासमा संकटकालको घोषणा गरेका छन् भने संघीय सहायता उपलब्ध गराउनका लागि आदेश दिएका छन् । यो घोषणाले होमल्याण्ड सेक्युरिटी र संघीय आपतकालिन व्यवस्थापन एजेन्सीलाई प्रकोप सहायता उपलब्ध गराउनका लागि बाटो खोलेको छ ।

आज दिउसो २ बजेसम्म अमेरिकाभर साढे ५ हजारभन्दा धेरै उडानहरु रद्द भएका छन् । मंगलबार २४ सयभन्दा धेरै उडान रद्द हुने अनुमान गरिएको छ । रनवेमा बरफ जमेपछि ह्युस्टनको जर्ज बुस इन्टरनेशनल एयरपोर्ट सोमबार विहान बन्द गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com