कासा वा एएसएपी सदस्यले एसाइलम पेन्डिङ रहेको १५० दिनपछि वर्क परमिट आवेदन दिनसक्ने


प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार

एसाइलमका लागि आवेदन दिएको र आवेदन पेन्डिंग रहेको १५० दिनपछि कासा डे मेरिल्याण्ड (कासा) वा एसाइलम सिकर एड्भोकेसी प्रोजेक्ट (एएसएपी)को सदस्यता सहित पठाएका आवेदनहरु युएससीआईएसले स्वीकार गरेको छ । कासा वा एएसएपीको सदस्यता अहिलेपनि लिन सकिने र अहिले सदस्यता लिएर उक्त सदस्यता सहित पठाएका वर्क परमिटका आवेदनहरु एसाइलम आवेदन दिएको एकसय ५० दिनपछि नै युएससीआईएसले स्वीकार गरेको अनुभव घिमिरेले सुनाए । उनले भने हामीले एसाइलम आवेदन दिएको १५० दिन नाघेका र आवेदन पेन्डिंग रहेका केही आवेदकका सन्दर्भएसाइलम सिकर एड्भोकेसी प्रोजेक्टको सदस्यता लिएर त्यस्तो सदस्यताको प्रमाणसहित पठाएका आवेदनहरु युएससीआईएसले स्वीकार गरेर रिसिप्ट समेत पठाएको छ ।

गत सेप्टेम्बर ११ मा मेरिल्याण्डको ड्रिस्ट्रिक्ट कोर्टले कासा डे मेरिल्याण्ड (कासा) वा एसाइलम सिकर एड्भोकेसी प्रोजेक्ट (एएसएपी) को सदस्यता लिएकाहरुका सन्दर्भमा एसाइलम आवेदन पेन्डिंग रहेको १५० दिनपछि नै वर्क परमिटका लागि आवेदन दिनसक्ने र ३६५ दिन कुर्न नपर्ने फैसला गरेको थियो । यी दुई संस्थाको सदस्यता लिएकाहरुले बायोमेट्रिक लगायतका अन्य सन्दर्भमा समेत कैयन छुटहरुको व्यवस्था गरिएको छ । सदस्यता लिएपछि सदस्यता कार्ड वा ती दुई संस्थामध्ये एउटाले सदस्यताको प्रमाणसहित दिएको पत्र समेत समावेश गर्नुपर्ने जनाइएको छ ।

एएसएपीको सदस्यता लिनका लागि यहाँ क्लीक गर्नुहोला ।

पारालिगल घिमिरेले आफ्नो कार्यालयमा आएकाहरुलाई सदस्यता लिनका लागि निशुल्क सहयोग गर्ने गरेको समेत जानकारी दिए । उनले अनुभव सुनाए – ‘कासाको तुलनामा एएसएपीको सदस्यता लिन निकै सहज छ । उनीहरुले आवेदन दिएको एकसाताभित्र सदस्यता उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि दुईदिनमै उपलब्ध गराउदै आएका छन् । यो सदस्यताका लागि कुनै शुल्क समेत तिर्नुपर्दैन ।’

सदस्यता विना पठाएका आवेदन युएससीआईएसले फिर्ता गरेपछि पुन सदस्यतासहित आवेदन पठाउँदा स्वीकार गरेको उनले जानकारी दिए । यी दुईमध्ये एउटा संस्थाको सदस्यता हुनेहरुका सन्दर्भमा युएससीआईएसले ३० दिनभित्र वर्क परमिटको फैसला गर्नुपर्ने पूरानै नियम कार्यान्वयन गर्ने जनाइएको छ । यद्यपी आवेदनको चापका कारण युएससीआईएसले एसाइलमका वर्क परमिटका आवेदनमा ३० दिनभन्दा लामो समय नै लगाउँदै आएको थियो ।

एसाइलम सिकर एड्भोकेसी प्रोजेक्ट (एएसएपी) को सदस्यतासहित एसाइलम पेन्डिङ रहेको १५० दिनपछि पठाइएको वर्क परमिटको आवेदन युएससीआईएसले स्वीकार गरेको रिसिप्ट ।

त्यस्तै एसाइलम पेन्डिंगका आधारमा वर्क परमिटको आवेदन दिंदा यी संस्थाको सदस्यता हुनेहरुलाई बायोमेट्रिक इन्फर्मेशन समेत बुझाउनु नपर्ने जनाइएको छ । त्यस्तै अगस्त २५ वा त्यसपछि फाइल गरेका एसाइलमका आवेदनहरु अमेरिका आएको एकबर्षभन्दा लामो समयपछि फाइल गरेको भएतापनि एकबर्षपछि फाइल गरेकाहरुलाई वर्क परमिट नदिने नियम समेत उनीहरुका हकमा लागु हुनेछैन ।

कासा सदस्यता लिनका लागि यहाँ क्लीक गर्नुहोला ।

आवेदन पठाउँदा फर्म आई ७६५ को ठीक पछाडि सदस्यताको प्रमाण राखेर पठाउन युएससीआईएसले सुझाव दिएको छ । यी दुई संस्थामध्ये एउटाको सदस्यताको प्रमाण राखेर पठाएका आवेदनहरु बायोमेट्रिक शुल्क विना नै स्वीकार गर्ने युएससीआईएसले जनाएको छ । उनीहरुले वर्क परमिटका आवेदनका सन्दर्भमा बायोमेट्रिक अप्वाइन्टमेन्टका लागि उपस्थीत हुनु नपर्ने भएपनि एसाइलम आवेदन आई ५८९ का सन्दर्भमा भने पहिलो बायोमेट्रिक नदिएको भएमा बायोमेट्रिक अप्वाइन्टमेन्टमा उपस्थीत हुनुपर्ने हुनसक्ने युएससीआईएसले जनाएको छ ।

यी दुईमध्ये एउटा संस्थाको सदस्य नभएको खण्डमा भने बायोमेट्रिक शुल्क समेत पठाउनुपर्ने युएएससीआईएसले स्मरण गराएको छ । शुल्क तिर्न नसक्नेहरुले शुल्क मिनाहाको अनुरोध समेत गर्नसक्नेछन् ।

स्मरणीय छ, युएससीआईएसले गत अगस्त २५ देखि लागु हुनेगरी एसाइलमका वर्क परमिटका नियममा परिवर्तन गरेको थियो । अगस्त २५ बाट लागु भएको नयाँ नियम अनुशार वर्क परमिटका लागि आवेदन दिन एसाइलम पेन्डिङ रहेको एकबर्ष पूरा भएको हुनुपर्ने रहेको छ । विगतमा एसाइलम पेन्डिङ रहेको १५० दिनपछि वर्क परमिटका लागि आवेदन दिन सकिने नियम रहेको थियो ।

अगस्त २५ देखि लागु भएको नयाँ नियम अनुशार युएससीआईएस वा अध्यागमन अदालतमा एसाइलम आवेदन प्राप्त भएको ३६५ दिन पूरा भएपछिमात्र वर्क परमिटका लागि आवेदन दिन सकिन्छ । त्यस्तै आवेदकको कारणले आवेदनउपर निर्णय हुनमा ढिलाई भएको अवस्थामा वर्क परमिट अस्वीकार गर्ने समेत नयाँ नियममा व्यवस्था गरिएको छ । यी दुईमध्ये एउटा संस्थाको सदस्यताको हकमा भने आवेदन अस्वीकार गर्नसक्ने नयाँ तजविज अधिकार लागु नहुने जनाइएको छ ।

यो नियमबारे थप जान्न यहाँ क्लीक गर्नुहोला ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com