न्युयोर्क सिटी, लङ आइल्याण्ड र न्युजर्सीका युएससीआईएस अफिस भोलिपनि बन्द


प्रकाशित मिति : माघ १९, २०७७ सोमबार

आजको अपडेट समाप्त भएको छ । थप अपडेटका लागि यहाँ क्लीक गर्नुहोला ।

 

5:35PM (EST):न्युयोर्क र न्युजर्सीका युएससीआईएस फिल्ड अफिस, एसाइलम अफिस र एप्लीकेशन सपोर्ट सेन्टर भोलिपनि बन्द हुने

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क सिटी क्षेत्र र लङ आइल्याण्डमा रहेका युएससीआईएसका फिल्ड अफिस, एसाइलम अफिस र एप्लीकेशन सपोर्ट सेन्टरहरु भोलिपनि बन्द हुने भएका छन् । हिमपातका कारण कार्यालय संचालन गर्न नसकिएको युएससीआइएसले जनाएको छ ।

न्युजर्सीका सबै युएससीआईएस अफिसहरु भोलि समेत बन्द हुने भएका छन् । फिल्ड अफिस, एसाइलम अफिस र एप्लीकेशन सपोर्ट सेन्टरहरु बन्द हुँदा बायोमेट्रिकदेखि अन्तरवार्ता लगायत सबै स्थगित भएका छन् । भोलि म्यानहटनमा रहेको नेवार्क एसाइलम अफिस पनि बन्द हुनेछ ।

न्युयोर्कको अल्बानीमा रहेको फिल्ड अफिस र एप्लीकेशन सपोर्ट सेन्टर भने भोलि विहान १० बजेदेखि खुल्नेछ ।

4:30PM (EST):जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलका सबै कमर्सियल उडानहरु रद्द

न्युयोर्कको जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलका सबै कमर्सियल उडानहरु रद्द गरिएका छन् । हिमपातका कारण मौषमको खराबीका कारण सबै उडानहरु रद्द गरिएको हो । यात्रुहरुलाई सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न सुझाव दिइएको छ ।

3:40PM (EST):न्युयोर्कको समुन्द्री तटमा पानीको सतह बढ्दै, एकइन्च बढे ब्याट्रीपार्कमा डूबान

न्युयोर्कको हडसन रिभर र समुन्द्री तटमा पानीको सतह सन् २०१२ पछिकै सबैभन्दा धेरै हुने अनुमान गरिएको छ । हिमपात र हिमआँधीका कारण पानीको सतहमा समेत बृद्धि भएको छ ।

ब्याट्रीपार्कमा आज रातीसम्म पानीको सतह ८ दशमलव ४ फिटसम्म पुग्ने अनुमान गरिएको छ । यदि ८ दशमलव ५ फिट नाघेमा पानीले ब्याट्रीपार्कको समुन्द्री पर्खाल नाघेर बाढीका रुपमा पस्न सुरु गर्नेछ ।

आज विहानमात्र हिमपात र आँधीकार कारण पानीको सतह २ देखि ३ फिटसम्म बढेको जनाइएको छ । साँझ हावाहुरी बढ्दै जाँदा त्यसमा बृद्धि हुने अनुमान गरिएको छ । त्यसो भएमा पानीको छालले ब्याट्रीपार्क नाघ्नसक्ने खतरा रहेको छ ।

अहिले अनुमान गरिएको ८ दशमलव ४ फिट पनि अहिलेसम्मकै इतिहासमा टपटेनभित्रको रेकर्ड हो । सन् २०१२ स्याण्डी आँधीको बेलामा ब्याट्रीपार्कमा पानी १४ दशमलव २ फिटसम्म पुगेको थियो ।

 

12:45PM (EST): स्थीति खराब बनेपछि न्युयोर्क सिटीसहित ४४ काउन्टीमा संकटकाल, २ बजेपछि बाहिर चल्ने ट्रेन बन्द

हिमपातका कारण स्थीति खराब बनेपछि न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले राज्यका ४४ वटा काउन्टीहरुमा संकटकालको घोषणा गरेका छन् । यसअगाडि न्युयोर्कका सिटीका मेयरले न्युयोर्कसिटीभर मौषम संकटकाल घोषणा गरेकोमा गभर्नरले न्युयोर्क सिटीसहित ४४ काउन्टीमा संकटकाल घोषणा गरेका हुन् ।

न्युयोर्क सिटीमा दिउसो २ बजेदेखि बाहिरचल्ने एमटीए ट्रेनहरु बन्द हुने भएका छन् । बसहरु अहिले पनि चलिरहेका छन् । ९० प्रतिशतभन्दा बढी उडानहरु रद्द भइसकेका छन् । लंग आइल्याण्ड रेलरोड र मेट्रो नर्थ पूरै बन्द गरिएको छ ।

12:45PM (EST):न्युजर्सीमा ३४० दुर्घटना, १५ सयभन्दा बढी घरमा विद्युत आपूर्तिमा अवरोध

हिमपात र हिमआँधीका कारण न्युजर्सीमा ३४० भन्दा बढी दुर्घटनाका खबर आएका छन् । १५ सय भन्दा धेरै घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । सुरुमा मंगलबारविहान सम्म हिमपात हुने अनुमान गरिएपनि अब मंगलबार बेलुकासम्म नै हिमपात हुने अनुमान गरिएको छ ।

गभर्नर फिल मर्फीले अत्यन्तै खराब अवस्था आउनै बाँकी रहेको बताएका छन् । अबको १२ घण्टा असाध्यै खराब हुने उनले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए । आज त्यहाँ सबै भ्याक्सिन केन्द्रहरु बन्द गरिएका छन् । भोलि खुल्ने नखुल्ने ठेगान छैन ।

 

12:26PM (EST):न्युयोर्क र न्युजर्सीका युएससीआईएस फिल्ड अफिस, एसाइलम अफिस र एप्लीकेशन सपोर्ट सेन्टर बन्द

न्युयोर्क सिटी क्षेत्र र लङ आइल्याण्डमा रहेका युएससीआईएसका फिल्ड अफिस, एसाइलम अफिस र एप्लीकेशन सपोर्ट सेन्टरहरु आज बन्द भएका छन् । हिमपातका कारण कार्यालय संचालन गर्न नसकिएको युएससीआइएसले जनाएको छ ।

न्युजर्सीका सबै युएससीआईएसफ अफिसहरु पनि बन्द भएका छन् । फिल्ड अफिस, एसाइलम अफिस र एप्लीकेशन सपोर्ट सेन्टरहरु बन्द हुँदा बायोमेट्रिकदेखि अन्तरवार्ता लगायत सबै स्थगित भएका छन् । म्यानहटनमा रहेको नेवार्क एसाइलम अफिस पनि बन्द भएको छ ।

कनेक्टिकटको फिल्ड अफिस पनि आज बन्द रहेको छ । न्यु ह्याम्पशायरको बेडफोर्ड अफिस भोलि १० बजेपछिमात्र खुल्नेछ । पेन्सिलभेनियाको फिलाडेल्फिया अफिस आज बन्द छ । मासाचुसेट्सको लरेन्स अफिस आज साढे १२ बजेपछि बन्द छ भने भोलि १० बजेपछिमात्र खुल्नेछ । यो अवधिका सबै अप्वाइन्टमेन्ट रद्द गरिएका छन् ।

 

12:13PM (EST):सोमबार र मंगलबार भ्याक्सिन लगाउने काम स्थगित

न्युयोर्कमा सोमबार र मंगलबार भ्याक्सिन लगाउने काम स्थगित गरिएको छ । मेयर बिल डे ब्लाजिओका अनुशार हिमआँधी र खराब मौषमका कारण भ्याक्सिन लगाउने कार्यक्रम समेत स्थगित गर्नुपरेको हो ।

भ्याक्सिनका लागि आजको मिति तय भएकाहरुले अर्को मितिका लागि अनुरोध गर्नसक्ने जनाइएको छ । भ्याक्सिन लगाउनका लागि साधनश्रोत प्रयाप्त रहेको तर भ्याक्सिन कम रहेको ब्लाजिओले बताएका छन् ।

 

11:10AM (EST):न्युयोर्कको हिमपातको लाइभ भिडियो

न्युयोर्कमा हिमपातको अवस्था अहिले कस्तो छ ? हेर्नुहोस् न्युयोर्कको क्वीन्स, कोरोनाबाट लाइभ ।


11:00AM (EST): लागुआर्डिया विमानस्थलबाट सबै उडान रद्द, जेएफकेका अधिकांश

हिमपात र खराब मौषमका कारण न्युयोर्कको लागुआर्डिया विमानस्थलबाट सबै उडान रद्द गरिएको छ । शक्तिशाली हिमआँधीका कारण न्युयोर्क आउने र न्युयोर्कबाट बाहिर जाने उडानहरु प्रभावित भएका छन् ।

आजका सबै ब्यापारिक उडानहरु रद्द गरिएको एयरपोर्टले ट्वीट गरेको छ । जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि ८३ प्रतिशत उडानहरु रद्द भएका छन् । दिउसोसम्म अझ धेरै उडान रद्द हुने अपेक्षा गरिएको छ ।

नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि ७५ प्रतिशत उडानहरु रद्द भएका छन् । सबै यात्रुहरुलाई आफ्ना एयरलाइन्सलाई सम्पर्क गर्न सुझाव दिइएको छ ।

7:00AM (EST):हिमपात जारी, बाहिर निस्कन रोक

न्युयोर्कका मेयर बिल डे ब्लाजिओले स्थानीय संकटकालिन घुमफिर प्रतिबन्धको घोषणा गरेका छन् । आज विहान ६ बजेदेखि मंगलबार विहान ६ बजेसम्म अत्यावश्यक बाहेकका अन्य घुमफिरमा प्रतिबन्ध लगाइएको छ ।

स्थानीय मौषम संकटकाल घोषणामा आपतकालिन अवस्थामा बाहेक अन्य अवस्थामा बाहिर निस्केर घुमफिर गर्नमा रोक लगाइएको छ । न्युयोर्क सिटीमा २२ इन्चसम्म हिमपात हुने र सिटीभर हिमआँधीको जस्तै अवस्था हुने मौषमविदहरुको चेतावनी रहेको छ ।

मेयर बिल ब्लाजिओले यो हिमआँधीले भारी हिमपात ल्याउने भएकाले कुनै गल्ती नगर्न चेतावनी दिएका छन् । साथै हिमपातका कारण यात्रा खतरनाक हुने उनको भनाई छ । न्युयोर्कबासीहरुलाई घरभित्रै बस्न उनले सुझाव दिएका छन् । साथै आपतकालिन गाडीहरुका लागि बाटो खुला राख्न र हिउँ सोहोर्ने गाडीलाई राम्रोसँग काम गर्ने वातावरण बनाउन ब्लाजिओले आग्रह गरेका छन् ।

यो आदेश आज विहान ६ बजेदेखि लागु भएको छ । सोमबार विहान १० बजेदेखि हरेकघण्टा न्युयोर्क सिटीमा २ देखि ४ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ । न्युयोर्क सिटीमा प्रतिघण्टा ५० माइलसम्म हुरी चल्ने अनुमान गरिएको छ ।

सार्वजनिक यातायातमा काम गर्ने कामदारहरु, फस्ट रेस्पोण्डरहरु, हेल्थकेयर र होमकेयर कामदारहरु, प्रहरी अधिकारीहरु, शान्ति अधिकारीहरु, अत्यावश्यक सिटीको सेवामा संलग्न कामदारहरुलाई भने छुट दिइएको छ ।

त्यस्तै खाना, औषधी र इन्धन डेलिभरी गर्नेहरु, संचारमाध्यमहरु, होटलका कामदारहरु, होमलेस सेल्टरमा काम गर्नेहरु र आउटरिच कामदारहरु, आपतकालिन मर्मतमा खट्ने युटिलिटी कामदारहरुलाई छुट दिइएको छ ।

फार्मेसी, ग्रोसरी स्टोर, खाना तथा बेभरेज स्टोर, कन्भिनियन्स स्टोर, ग्यास स्टेशन, लण्ड्री, होटल, रेष्टुरेण्ट, बार र हार्डवेयर स्टोरमा काम गर्नेहरु, औषधी उपचार वा औषधीका सामाग्री किन्न निस्केकाहरु, कार्यस्थलबाट कामदारलाई लिन लैजाने प्रयोग हुने गाडीहरुलाई पनि छुट दिइएको छ ।

त्यो बाहेक अरु सबैलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com