न्युयोर्कमा आइतबार बेलुकादेखि १० इन्चसम्म हिमपात हुने मौषमविद्हरुको अनुमान
प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार
न्युयोर्कमा आइतबार रातीदेखि मंगलबारसम्म हिमपात हुने मौषमविद्हरुले अनुमान गरेका छन् । ६ देखि १० इन्चसम्म हिमपात हुने मौषमविद्हरुको प्रारम्भिक अनुमान रहेको छ ।
शनिबार र आइतबार न्युयोर्कको तापक्रम अत्यन्तै चिसो हुने अनुमान गरिएको छ । लगत्तै आइतबार बेलुकादेखि हिमपात सुरु हुने जनाइएको छ ।
अहिले अनुमान गरेभन्दा केही अदलबदल हुनसक्ने समेत मौषमविद्हरुको चेतावनी छ । हिमआँधीको बाटो बदलिएको खण्डमा १२ इन्च वा त्योभन्दा बढी समेत हिमपात हुनसक्नेछ ।

आइतबार न्युयोर्कको तापक्रम १८ डिग्री फरेनहाइटसम्म झर्नेछ । सोमबार केही न्यानो हुने र तापक्रम २५ डिग्री फरेनहाइटसम्म पुग्ने अनुमान गरिएको छ । सोमबार भने तापक्रम ३२ डिग्रीसम्म पुग्नेछ ।
हिमपातका कारण सोमबार गाडी चलाउनमा समस्या हुनसक्ने देखिएको छ । सोमबार हिमपातका साथमा ५० माइल प्रतिघण्टाको दरले हावाहुरी चल्ने अनुमान गरिएको छ ।
यसैबीच न्युयोर्कको इमर्जेन्सी व्यवस्थापन विभाग र स्वास्थ्य विभागले अत्यन्तै चिसो मौषमका लागि तयार रहन चेतावनी दिएका छन् । यदि घरमा हिटरले काम नगरेको खण्डमा ३११ मा फोन गर्न सुझाव दिइएको छ ।






