नियमित भिसा सेवा सुचारु नभएपनि अमेरिकी दूतावास काठमाडौंबाट डिसेम्बरमा ९१५ भिसा जारी


प्रकाशित मिति : माघ १०, २०७७ शनिबार

अमेरिकी दूतावास काठमाडौंबाट डिसेम्बरमा जारी गरिएका भिसाको संख्या सार्वजनिक गरिएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार अमेरिकी दूतावास काठमाडौंबाट डिसेम्बरमा ९१५ जनालाई आप्रवासी र गैर आप्रवासी भिसा जारी गरिएको छ ।

कोरोनाको महामारीका कारण दूतावासले नियमित भिसा सेवा भने सुचारु गरेको छैन । यद्यपी डिसेम्बरमा ६२९ जनालाई गैर आप्रवासी र २८६ जनालाई आप्रवासी भिसा प्रदान गरिएको छ । सबैभन्दा धेरै ५६६ जनाले भिजिटर भिसा प्राप्त गरेका छन् ।

कुन श्रेणीका गैर आप्रवासी भिसा कतिजनालाई ?

डिसेम्बरमा ११ जनाले सरकारी प्रयोजन वा कुटनीतिक यात्राका लागि ए भिसा प्राप्त गरेका छन् । यो भिसा कुटनीतिज्ञ वा सरकारी कर्मचारीले अमेरिका आउनुपरेको खण्डमा प्राप्त गर्छन् । बीवान र बीटु भिसा ५६६ जनाले र बीटु भिसामात्र एकजनाले प्राप्त गरेका छन् ।

त्यस्तै अमेरिकामा विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थामा काम गर्नका लागि प्रदान गरिने जी भिसा काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट डिसेम्बरमा १६ जनाले प्राप्त गरेका छन् । ती संस्थामा काम गर्नेहरु र उनीहरुका परिवारले यो श्रेणीको भिसा प्राप्त गर्छन् । कामदार भिसाका डिपेन्डेन्टहरु २ जनालाई एचफोर भिसा जारी गरिएको छ ।

एक्सचेन्ज भिजिटर र उनीहरुका डिपेन्डेन्टका लागि १३ जनालाई जे श्रेणीको भिसा जारी गरिएको छ । मंगेतरका लागि जारी गरिने के वान श्रेणीको भिसा १७ जनाले पाएका छन् भने मंगेतरका छोराछोरीले पाउने के टु भिसा ३ जनाले पाएका छन् ।

ट्रम्पले मार्च ३१ सम्म लम्बाएको आप्रवासन रोकमा कसकसलाई छुट छ ? डिभी लोटरी लगायतका भिसामा मार्च अगाडि नै छुटसहित आउन के गर्नुपर्छ ? हेर्नुहोस् भिडियो : 

 

कुन श्रेणीका आप्रवासी भिसा कतिजनालाई ?

काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट डिसेम्बरमा २८६ जनालाई आप्रवासी भिसा प्रदान गरिएकोमा अमेरिकी नागरिकका दम्पत्तिहरुले पाउने आप्रवासी भिसा डिसेम्बरमा २०४ जनालाई प्रदान गरिएको छ । उनीहरुका १६ जना बच्चाबच्चीले पनि भिसा पाएका छन् ।

रोजगारमा आधारित तेश्रो श्रेणीको दक्ष कामदार भिसा ३१ जनाले प्राप्त गरेका छन् भने उनीहरुका ५ जना दम्पत्तिले पनि भिसा पाएका छन् । अमेरिकी नागरिकका एकजना दाजुभाई वा दिदिबहिनी, उनका एकजना दम्पत्ति र एकजना बच्चाले पनि डिसेम्बरमा अमेरिकी दूतावास काठमाडौंबाट भिसा प्राप्त गरेका छन् ।

अमेरिकी नागरिकका २३ जना बुबाआमाहरुले पनि अमेरिकी दूतावास काठमाडौंबाट डिसेम्बरमा भिसा पाएका छन् । ग्रिनकार्डवाहकका ८ जना दम्पत्ति र एकजना बच्चालेपनि डिसेम्बरमा काठमाडौंबाट भिसा पाएका छन् । ग्रिनकार्ड वा ट्राभल डकुमेन्टमा अमेरिकाबाहिर रहँदा एकबर्ष वा २ बर्षको अवधि नाघिसकेका २ जनाले पनि डिसेम्बरमा अमेरिकी दूतावास काठमाडौंबाट रिटर्निङ रेसिडेन्ट भिसा प्राप्त गरेका छन् ।

नेशनल इन्ट्रेस्ट छुट पाउने र नविकरण गर्नेलाई भिसा

मार्चको अन्त्यसम्म पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आप्रवासन रोक जारी छ । तर निश्चित प्रकारका अपवादका मापदण्ड पूरा गर्नेहरुले भने त्यो भन्दा अगाडि पनि भिसा पाइरहेका छन् ।

२४ महिनाभित्र भिसा सकिएकाले विना अन्तरवार्ता मार्च ३१ सम्म भिसा नविकरण गर्न पाउने

नियमित भिसा सेवा जारी नभएपनि दूतावासले भिजिटर लगायतका केही गैर आप्रवासी भिसाहरु विना अन्तरवार्ता पनि प्रदान गरिरहेको छ । तर विना अन्तरवार्ता नयाँ भिसा प्राप्त गर्नका लागि पहिले लिएको भिसा सकिएको २ बर्ष पूरा नभएको लगायतका मापदण्डहरु पूरा गर्नुपर्छ ।

नेपाली विद्यार्थीहरुलाई न्यू दिल्लीबाट भिसा

काठमाडौंमा रहेको अमेरिकी दूतावासले डिसेम्बरमा कसैलाई विद्यार्थी भिसा जारी गरेन । तर डिसेम्बरमा २१० जना नेपालीहरुले विद्यार्थी भिसा पाएका छन् । विद्यार्थी भिसामा हुनेका ७ जना डिपेन्डेन्टले पनि भिसा पाएका छन् ।

काठमाडौंको दूतावासबाट भिसा जारी नभएपनि दिल्ली वा अन्य दूतावासमा आवेदन दिएर नेपालीहरुले विद्यार्थी भिसा प्राप्त गरेका छन् । डिसेम्बरमा विद्यार्थी भिसा पाउने अधिकांश नेपालीहरु न्यू दिल्लीको दूतावासमा आवेदन दिनेहरु रहेका छन् ।

गत अक्टोबर र नोभेम्बरमा पनि ४६ जना नेपालीले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेका थिए ।

विद्यार्थी भिसा प्राप्त गरिसकेकाहरुलाई अमेरिका आउनमा  ट्रम्पको आप्रवासन रोकले कुनै असर गर्दैन । उनीहरु काठमाडौंबाटै नियमित उडानबाट अमेरिका आउन सक्छन् । तर उनीहरुले सीडीसी र सरकारका स्वास्थ्य मापदण्डहरुको भने पालना गर्नुपर्छ ।

डिभी लोटरी लगायतका भिसामा लगाइएको रोक ट्रम्पबाट मार्च अन्तिमसम्म थप

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com