डिभी लोटरी लगायतका भिसामा लगाइएको रोक ट्रम्पबाट मार्च अन्तिमसम्म थप


प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कामदार भिसा र डिभी लोटरी लगायत विभिन्न श्रेणीका ग्रिनकार्ड भिसामा अमेरिकामा आउन लगाइएको रोक तीनमहिनाका लागि लम्बाएका छन् । गत अप्रिल र जुनमा ट्रम्पले कार्यकारी आदेशमार्फत डिसेम्बर ३१ सम्मका लागि कामदार र विभिन्न प्रकारका आप्रवासी भिसामा रोक लगाएका थिए । अब उक्त रोक ट्रम्पले मार्च ३१ सम्मका लागि लम्बाएका छन् ।

जनवरी २० मा कार्यभार सम्हाल्दै गरेका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले यस्तो प्रतिबन्धको आलोचना गर्दै आएका छन् । तर बाइडेनको कार्यकाल सुरु भएपछि यो प्रतिबन्ध हटाइएको खण्डमा पनि जनवरी २० सम्मभने प्रतिबन्ध कायमै रहने भएको छ । यद्यपी बाइडेनले यो प्रतिबन्ध खारेज गर्ने नगर्ने निश्चित भने छैन ।

ट्रम्पको प्रतिबन्धका कारण कैयन डिभी विजेता नेपालीहरु अमेरिका आउन पाएका छैनन् । आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुले अहिलेसम्म भिसा पाउन सकेका छैनन् भने आर्थिक बर्ष २०२० का लागि डिभी पारेका र गत सेप्टेम्बरमा भिसा पाएका डिभी विजेताहरु पनि अमेरिका आउन पाएका छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेप्टेम्बरमा भिसा पाएकाहरु मार्चभित्र अमेरिका आइसक्नुपर्नेहुन्छ । अन्यथा उनीहरुको भिसाको अवधि समाप्त हुनेछ । तर मार्च ३१ सम्मका लागि ट्रम्पले डिभी लोटरी लगायतका आप्रवासी भिसामा रोक लगाएका कारण उनीहरुले प्राप्त गरेको भिसा के हुने भन्नेबारे अझै स्पष्ट छैन । उनीहरुको भिसा थप हुने नहुनेबारे पनि स्पष्ट छैन ।

ट्रम्पले भिसामा लगाएको रोक लम्बाएका कारण ग्रिनकार्डवाहकले परिवारमा आधारित ग्रिनकार्डमा मार्चको अन्त्यसम्म परिवारका सदस्यहरुलाई अमेरिका ल्याउन पाउनेछैनन् भने रोजगारमा आधारित ग्रिनकार्डमा समेत अमेरिका आउन पाइनेछैन । बाइडेनले यो आदेश खारेज नगरे सन् २०२१ का डिभी लोटरी विजेताले पनि मार्चको अन्त्यसम्म भिसा पाउनेछैनन् ।

अमेरिकी नागरिकले आफ्ना दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरुलाई अमेरिका ल्याउन भने कुनै रोक लाग्नेछैन । उनीहरुले भने आप्रवासी भिसा प्राप्त गर्न सक्नेछन् । तर अमेरिकी दूतावास र कन्सुलेटहरु कोरोनाको महामारीका कारण सिमित कार्यक्षमतामा मात्र संचालन भइरहेका छन् भने नियमित भिसा सेवा सुचारु गरिएको छैन । यद्यपी अमेरिकी नागरिकका परिवारलाई भिसा दिने काम सुचारु छ ।

भिसा पाएका झण्डै ४ सय नेपाली नेपालमै रोकिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । उनीहरु ६ महिनाभित्र अमेरिका आइसक्नुपर्ने प्रावधान भएका कारण जनवरीपछि अमेरिका आउने तयारीमा थिए । तर ट्रम्पले आप्रवासनमा लगाएको रोक मार्च ३१ सम्म थपेपछि उनीहरु अन्यौलमा परेका छन् ।

युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीका न्यायाधिस अमित मेहताले सन् २०२० का डिभी विजेताहरुलाई भिसा जारी गर्न आदेश दिएपछि सेप्टेम्बरको दोश्रो सातादेखि डिभी विजेताहरुलाई भिसा जारी गर्न सुरु गरिएको थियो । उनीहरुले सेप्टेम्बरको अन्त्यसम्म भिसा पाएका थिए । तर उनीहरु ट्रम्पको आप्रवासन रोक जारी रहँदासम्म अमेरिका आउन नपाउने भएकाले नेपालमै रोकिएका छन् ।

अदालतको आदेशपछि डाइभर्सिटी भिसा प्राप्त गर्न सफल नेपालीहरु ४०४ जना रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जसमध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र सेप्टेम्बरमा ३७९ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । जसमध्ये २१२ जना प्राथमिक डिभी विजेताहरु, ९५ जना उनीहरुका दम्पत्ति र ७२ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । अदालतको आदेशपछि आफूहरुले सकेजतिलाई भिसा जारी गरेको काठमाडौंस्थीत नेपाली दूतावासले जनाएको थियो ।

सन् २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ । उनीहरुले गत अक्टोबरको २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेका थिए । गत जुन ६ मा डिभी लोटरीको नतिजा आएको थियो ।

सन् २०२१ का डिभी लोटरी पारेकाहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण भिसा पाउनमा ढिलो भएको छ ।

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ । सबैभन्दा धेरै डिभी विजेताहरु इरानका ६ हजार १ जना रहेका छन् । सन् २०२१ का लागि विश्वमै सबैभन्दा धेरै डिभी विजेताहरु भने इजिप्टका ६ हजार २ जना रहेका छन् । त्यस्तै अल्जेरियाका ६ हजार १ जना र सुडानका ६ हजार १ जना रहेका छन् ।

युरोपमा भने रसियाका ६ हजार १, युक्रेनका ५६ सय ०४ र अल्बानियाका ३९ सय ६२ जनाले डिभी लोटरी पारेका छन् । रोचक त के छ भने इरान, अल्जेरिया, सुडान र रसियाका नागरिकलाई एउटै संख्यामा अर्थात् हरेक देशका ६ हजार १ लाई डिभी लोटरी परेको छ ।

सन् २०२१ का लागि नर्थ कोरियाका ३ जनालाई डिभी लोटरी परेको छ । बु्रनाईका १ जनालाई डिभी परेको छ भने एकजनालाईमात्र डिभी लोटरी परेका अन्य देशहरु झण्डै आधादर्जन छन् ।

आर्थिक बर्ष २०२२ का गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा भने सन् २०२१ को मे ८ मा सार्वजनिक हुनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com