बाइडेनको बिल पारित भए जनवरी १, २०२१ अगाडि अमेरिका आएका कागजपत्रविहिनहरु योग्य


प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार

❒ बाइडेनले समर्थन गर्ने यो बिल पारित भएमा जनवरी १, २०२१ सम्म अमेरिकामा रहेका आप्रवासीहरु यो बाटोबाट ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुने

❒  बाल्यकालमा अमेरिका आएका र डाकाले समेटेका कागजपत्रविहिनहरु, टीपीएसले समेटेकाहरु र अत्यावश्यक कामदारहरु यो प्याकेज अन्तरगत ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुनसक्ने

❒  बृहत अध्यागमन बिल पारित भएमा अमेरिकामा रहेका २५ हजार भन्दा धेरै नेपालीहरु ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताका लागि योग्य हुनसक्ने

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

(कृपया ध्यान दिनुहोला, यो समाचार थप विवरणसहित अपडेट गरिएको छ ।)

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सपथग्रहणको पहिलो दिनमा नै बृहत अध्यागमन सुधारको प्याकेज सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । लाखौं कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने उक्त बिल कार्यान्वयन हुनका लागि संसदका दुबै सदनबाट पारित हुन जरुरी छ ।

यो बिल पारित भएमा कहिलेदेखि अमेरिकामा रहेका कागजपत्रविहिनहरु ग्रिनकार्ड हुँदै नागरिकताका लागि योग्य हुनेछन् ? यो प्रश्नको जवाफ धेरैले खोजेका छन् । बाइडेनले समर्थन गर्ने यो बिल पारित भएमा जनवरी १, २०२१ सम्म अमेरिकामा रहेका कागजपत्रविहिन आप्रवासीहरु यो बाटोबाट ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डाका र टीपीएसले समेटेकाहरु तथा कृषि कामदारहरु अन्य मापदण्ड पूरा गरेको खण्डमा तत्कालै ग्रिनकार्डका लागि योग्य हुनसक्नेछन् । अरुका लागि ग्रिनकार्ड प्राप्त गर्न ५ बर्ष अस्थायी स्टाटसमा बस्नुपर्ने हुनसक्छ ।

 

नागरिकता पाउन ८ बर्ष

यो प्याकेजको केन्द्रमा रहेको मुख्य लाखौं कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने नै हो । त्यसका लागि ८ बर्षको बाटो बनाइनेछ । अर्थात् उनीहरुले नागरिकता प्राप्त गर्न ८ बर्ष लाग्नसक्छ ।

योग्य आवेदकले सुरुमा ५ बर्षको अस्थायी स्टाटस प्राप्त गर्नेछन् । त्यसका लागि कर तिरेको, अपराध नगरेको लगायतका मापदण्डहरु पूरा गर्नुपर्नेछ ।

 

योग्य कागजपत्रविहिनहरुले ५ बर्षपछि अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्नेछन् । सामान्यतया अरु व्यक्तिले ग्रिनकार्ड प्राप्त भएको ५ बर्षमा अमेरिकी नागरिकताका लागि आवेदन दिन योग्य हुने भएपनि प्याकेजले समेटेकाहरु भने ३ बर्षमा नै नागरिकताका लागि आवेदन दिन योग्य हुनेछन् । यसरी ग्रिनकार्ड हुँदै नागरिकता प्राप्त गर्दासम्म ८ बर्ष लाग्न सक्नेछ ।

को को योग्य हुनेछन्?

यो प्याकेज अनुशार ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जानका लागि को को व्यक्ति योग्य हुनेछन् भन्नेबारे अहिलेसम्म स्पष्ट छैन । तर बाल्यकालमा अमेरिका आएका र डाकाले समेटेका कागजपत्रविहिनहरु, टीपीएसले समेटेकाहरु र अत्यावश्यक कामदारहरु यो प्याकेज अन्तरगत ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुनसक्ने जनाइएको छ ।

जनवरी १ सम्म अमेरिकामा आइसकेकाहरुलाई बिलले समेट्ने भएकाले सिमाबाट अमेरिका छिर्न अब हतार गर्नेहरुलाई कुनै फाइदा हुनेछैन ।

फोटो: अधिकार

निश्चित अवधिभन्दा अगाडि अमेरिका आएका कागजपत्रविहिनहरु पनि यो प्याकेज अन्तरगत ग्रिनकार्ड हुँदै नागरिकताका लागि योग्य हुनसक्नेछन् । त्यसो भएमा जनवरी १ भन्दा अगाडि अमेरिका आएका एसाइलम पेन्डिंग रहेका लगायत सबै कागजपत्रविहिनहरु ग्रिनकार्ड हुँदै नागरिकताका लागि योग्य हुनसक्नेछन् ।

को हुन् अत्यावश्यक कामदार ?

कुन कुन श्रेणीका अत्यावश्यक कामदारहरु यो प्याकेजमा समेटिनेछन् भन्ने प्याकेजको पूर्ण पाठ सार्वजनिक भएपछिमात्र थाहा हुनेछ । तर अहिले डेमोक्रेटिक सांसदहरुले खेतीपाती र कृषि उत्पादनमा काम गर्ने, मासु उद्योगहरुमा काम गर्ने लगायतलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजानुपर्नेमा जोड दिएका छन् ।

यदि यो प्याकेज पारित भएमा अमेरिकाको इतिहासमा सन् १९८६ यताकै बृहत प्याकेज हुनेछ । सन् १९८६ मा राष्ट्रपति रोनाल्ड रेगनका पालामा अध्यागमन सुधार तथा नियन्त्रण ऐन १९८६ ल्याइएको थियो । उक्त बिलले ३० लाख कागजपत्रविहिनलाई वैद्य स्टाटस प्रदान गरेको थियो ।

को हुन् ११ दशमलव ९ मिलियन कागजपत्रविहिन?

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सन् २०१८ को डिसेम्बरमा निकालेको एउटा तथ्यांक अनुशार अमेरिकामा सन् २०१५ को जनवरी १ अगाडि अमेरिका आएका ११ दशमलव ९६ मिलियन कागजपत्रविहिनहरु रहेका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक सन् २०१५ पछाडिको सार्वजनिक भएको छैन ।

झण्डै ११ मिलियन कागजपत्रविहिनहरुमध्ये झण्डै ५ मिलियन मेक्सिकनहरु रहेका छन् । झण्डै २ मिलियन मध्य अमेरिकनहरु रहेका छन् भने झण्डै डेढ मिलियन एसियनहरु रहेका छन् । कागजपत्रविहिन ११ मिलियनमध्ये झण्डै दुई तिहाई १० बर्षभन्दा बढी अमेरिकामा बस्दै आएकाहरु छन् । ५ बर्षभन्दा कम समयदेखि अमेरिकामा बसेका कागजपत्रविहिनहरु २० प्रतिशत रहेका छन् ।

झण्डै ८ लाख कागजपत्रविहिनलाई डाकाले समेटेको छ । झण्डै ४ लाखलाई टीपीएसले समेटेको छ । डाकाले समेटेका नेपालीहरु झण्डै ५ दर्जन रहेका छन् भने टीपीएसले समेटेकाहरु झण्डै ९ हजार छन् । अध्यागमन अदालतमा एसाइलम पेन्डिंग रहेका नेपालीहरु झण्डै ४ हजार रहेका छन् । यदि बृहत अध्यागमन बिल पारित भएमा अमेरिकामा रहेका २५ हजार भन्दा धेरै नेपालीहरु ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताका लागि योग्य हुनसक्नेछन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com