राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ : गृहमन्त्री


प्रकाशित मिति : पुस १९, २०७७ आईतबार

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन शुरु गरिसकेको बताए ।

मन्त्री थापाले भने ,“राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु ।”

सङ्घले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढङ्गका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारवाही गर्न माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो ।

“आगामी  वैशाखमा निर्वाचन गराउने निर्णय स्वागतयोग्य छ, लोकतन्त्रमा सभा, जुलुस गर्ने आ–आफ्ना विचार अभिव्यक्ति स्वतन्त्रता हुन्छ, तर अराजक र निकृष्ट ढङ्गबाट अभिव्यक्ति दिनु आपत्तिजनक छ । ” ज्ञापन पत्रमा भनिएको छ ।सङ्घले आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com