टेक्सास र फ्लोरिडामा ६५ बर्ष काटेका सबैलाई भ्याक्सिन वितरण सुरु
प्रकाशित मिति : पुस १३, २०७७ सोमबार
टेक्सास र फ्लोरिडामा ६५ बर्ष काटेका सबैलाई भ्याक्सिन वितरण सुरु गरिएको छ । अब ती राज्यहरुमा ६५ बर्ष काटेकाहरुले भ्याक्सिन प्राप्त गर्न सक्ने भएका छन् ।
फ्लोरिडाका गभर्नरले कार्यकारी आदेशमार्फत ६५ बर्ष माथिका, स्वास्थ्य कार्यकर्ताहरु र अत्यन्तै जोखिममा रहेका सबै उमेरका व्यक्तिका लागि भ्याक्सिन वितरण सुनिश्चित गरेका थिए । टेक्सासले पनि केही दिन अगाडि त्यसैको अनुशरण गरेको छ ।
टेक्सास र फ्लोरिडाको यो निर्णय सीडीसीले तय गरेको गाइडलाइन अनुशार भने छैन । सीडीसीले पहिलो प्राथमिकतामा अग्रमोर्चाका स्वास्थ्यकर्मीहरु र दीर्घकालिन हेरचाह केन्द्रमा रहेका तथा त्यहाँ खट्नेहरुलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसपछि ७५ बर्षमाथिका र अत्यावश्यक कामदारलाई प्राथमिकतामा राखेको छ ।
तर टेक्सास र फ्लोरिडामा भने अत्यावश्यक कामदारहरुलाई मुख्य प्राथमिकतामा राखिएको छैन । बढी उमेरकालाई प्राथमिकता नदिएर २१ बर्षका अत्यावश्यक कामदारलाई प्राथमिकता दिनु उचित नहुने ती राज्यहरुको तर्क रहेको छ ।
टेक्सास र फ्लोरिडामा ६५ बर्षमाथिकाहरुलाई कतिपय स्थानमा भ्याक्सिन दिन सुरु गरेपनि भ्याक्सिन सकिएको जनाइएको छ । कतिपय स्थानमा सोमबार र मंगलबारसम्म थप भ्याक्सिनका डोजहरु उपलब्ध हुने जनाइएको छ ।
अमेरिकामा १ करोड १४ लाख भ्याक्सिनका डोजहरु वितरण गरिसकिएको छ । जसमध्ये २१ लाखले भ्याक्सिनको पहिलो डोज पाइसकेका छन् । अमेरिकामा मार्चसम्म आधा जनसंख्याले भ्याक्सिनका डोजहरु पाउने अपेक्षा गरिएको छ ।