राहत प्याकेजमा तत्काल हस्ताक्षर गर्न ट्रम्पलाई बाइडेनको आग्रह
प्रकाशित मिति : पुस ११, २०७७ शनिबार
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको राहत प्याकेजमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्ताक्षर गर्न आग्रह गर्दै हस्ताक्षर गर्न ढिलाइ गरेमा विनाशकारी परिणाम आउने चेतावनी दिएका छन्। ट्रम्पले विधयेकमा हस्ताक्षर नगर्नु गैरजिम्मेबारी रहेको बाइडेनले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्याकेजमा संसोधनको माग गर्दै आहिलेसम्म हस्ताक्षर गरेका छैनन् ।
आजरातीसम्म बिलमा हस्ताक्षर नगरेमा भाडा तिर्न नसकेकाहरुलाई घरनिकाला हुनबाट प्रदान गरिएको संरक्षण र बेरोजगारी विमामा नकारात्मक असर पर्नेछ । राष्ट्रपति ट्म्पले बिलमा अनावश्यक कुराहरु राखिएको भन्दै संसोधन गर्न भनेका छन् भने राहत चेक ६ सय बाट बढाएर २ हजार बनाउनुपर्ने धारणा राखेका छन् ।
झण्डै ५ महिना लामो रस्साकस्सीपछि झण्डै ९ बिलियनको राहत प्याकेज पारित गर्न संसद सफल भएको थियो । ट्रम्पले राहत चेक २ हजार डलर बनाउनुपर्ने बताएपनि रिपब्लिकन सांसदहरु यसमा असहमत भएका छन् ।
यो राहत प्याकेज १ दशमलव ४ ट्रिलियनको खर्च विधयेकसँगै आएको छ । मंगलबारसम्म खर्च विधयेक पारित नभए अमेरिकी सरकार शटडाउन हुनेछ । राहत प्याकेज पारित नभए १४ बिलियन अमेरिकनहरुको बेरोजगारी विमा रकम प्रभावित हुनेछ ।
के भन्दैछन् ट्रम्प ?
ट्रम्पले हिजोपनि २ हजार डलरको राहत चेक प्रदान गर्नुपर्नेमा जोड दिए । दुबै सदनबाट पारित राहत प्याकेजमा ६ सय डलरको राहत चेक मात्र समेटिएकोमा उक्त प्याकेजमा हस्ताक्षर नगरीकनै ट्रम्पले २ हजार डलरको राहत चेक सहितको प्याकेज ल्याउनुपर्ने बताए ।
उनले भने – ‘किन राजनीतिज्ञहरु जनतालाई ६ सयको साटो २ हजार डलर दिन चाहन्नन् ? यो उनीहरुको गल्ती थिएन । यो त चीनको थियो । हाम्रा जनतालाई पैसा देऊ ।’
Made many calls and had meetings at Trump International in Palm Beach, Florida. Why would politicians not want to give people $2000, rather than only $600? It wasn’t their fault, it was China. Give our people the money!
— Donald J. Trump (@realDonaldTrump) December 25, 2020
ट्रम्पले दुबै सदनबाट पारित राहत प्याकेजमा हस्ताक्षर गर्नेछन् वा भिटो लगाउनेछन् भन्ने अझै स्पष्ट छैन ।
ट्रम्पले राहत प्याकेजमा असहमति जनाएपछि २ हजार डलरको राहतचेक समेटिएको संसोधित राहत प्याकेज अमेरिकाको प्रतिनिधिसभामा सर्वसम्मत गराउन डेमोक्रेटिक सांसदहरुले गरेका थिए । तर त्यस्तो प्रयास रिपब्लिकन सांसदहरुले अस्वीकार गरेका थिए ।
अब सोमबार २ हजार डलर राहत चेकसहित संसोधन गरिएको प्याकेजमा प्रतिनिधिसभामा मतदान हुनेछ । तर त्योभन्दा अगाडि नै ट्रम्पले हस्ताक्षर गरेको खण्डमा भने संसदका दुबै सदनबाट पारित भएर ह्वाइटहाउसमा लगिएको बिल नै कार्यान्वयनमा आउनेछ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले २ हजार डलरको राहत चेक पठाउनुपर्ने बताएपछि हाउस स्पीकर न्यान्सी पेलोसीले २ हजार डलरको राहत चेकसहितको प्याकेज पारित गर्न तयार रहेको बताएकी थिइन् ।
चालु संसदको आयु अब झण्डै एकसातामात्र रहेको छ । जनवरी ३ मा नयाँ संसद सुरु हुनेछ । जसमा नोभेम्बर ३ को चुनावबाट निर्वाचित सांसदहरुले जनवरी ३ मा सपथग्रहण गर्नेछन् । यो संसद छँदै बिल पारित हुन नसके नयाँ संसदले सुरुबाटै प्रकृयाको थालनी गर्नुपर्नेछ ।
६ सय डलरको राहत चेक र बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर समेटिएको ८९२ बिलियन डलरको राहत प्याकेज अमेरिकी संसदको दुबै सदनबाट गत सोमबार नै पारित भएको थियो । संसदले १ दशमलव ४ ट्रिलियन डलरको खर्च विधयेक पनि पारित गरेको हो ।
सिनेटमा ९२ जनाले पक्षमा र ६ जना रिपब्लिकन सिनेटरहरुले विपक्षमा मतदान गरेका थिए ।
आगामी सेप्टेम्बर अन्त्यसम्म सरकारी खर्च धान्ने खर्च विधयेक र कोरोनाको महामारीका कारण उत्पन्न आर्थिक समस्याको सामना गर्न राहत प्याकेज ५५९३ पृष्ठ लामो छ ।
कोरोनाको महामारी सुरुभएपछि मार्चमा ल्याइएको राहत प्याकेजपछिको यो सबैभन्दा ठूलो राहत प्याकेज हो ।
राहत प्याकेजमा बयस्क र बालबालिकाहरुका लागि ६ सय डलरको राहत चेकको व्यवस्था गरिएको छ । बार्षिक ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले यो राहत चेक प्राप्त गर्नेछन् । १२ सय डलरको राहत चेक प्राप्त गरेका अधिकांश यो राहत चेक समेत प्राप्त गर्न योग्य हुनेछन् ।
त्यस्तै बेरोजगारी विमाको अवधि ११ हप्ता थपिएको छ भने महामारीका कारण काम गुमाएकाहरुलाई राज्यले दिने बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ । डिसेम्बर २६ पछि सुरु हुने साताबाट आगामी मार्च १४ सम्म अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ ।
राहत प्याकेजमा साना विजनेशका लागि ऋण प्रदान गर्न ३१९ बिलियन छुट्याइएको छ । जसअन्तरगत पेचेक प्रोटेक्सन कार्यक्रम अन्तरगत ऋणका लागि २८४ बिलियन छुट्याइएको छ । २० बिलियन इकोनोमिक इन्जुरी डिसास्टर लोन अनुदानका लागि छुट्याइएको छ । १५ बिलियन स्वतन्त्र थियटरहरु र सांस्कृति प्रतिष्ठना लगायत लाइभ कार्यक्रमस्थलका लागि छुट्याइएको छ ।
२५ बिलियन भाडा सहायता कार्यक्रम र घरनिकाला हुनबाट जोगाउने कार्यक्रमका लागि छुट्याइएको छ । १३ बिलियन पोषण कार्यक्रमका लागि छुट्याइएको छ । १० बिलियन चाइल्ड केयरसहित ८२ बिलियन डलर शिक्षाका लागि छुट्याइएको छ ।