सुन्तला पाक्ने बेलामा कीरो लागेपछि कृषक चिन्तित


प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार

सुन्तला पाकेर बजार पठाउन तयारी भएको समयमा कीरो परेपछि पर्वतका सुन्तला भण्डारका रूपमा चिनिएको जलजला गाउँपालिका–१ बाँसखर्कका किसान चिन्तामा छन् । माघको पहिलो सातादेखि बिक्रीका लागि बजार पठाउने तयारी भइरहेका बेला बोटमै कुहिएर सुन्तला झर्न थालेका हुन् ।

उत्तर मोहडामा फैलिएको बाँसखर्क सबैभन्दा ढिलोसम्म बोटमै सुन्तला रहने ठाउँ हो । यहाँ माघ शुरु भएपछि मात्रै सुन्तला पाक्छ । यस पटक भने पाक्ने बेलामा पहेँलो हुँदै झर्न थालेपछि किसान वर्षभरिको आम्दानी गुम्ने चिन्तामा छन् । “बढी पहेँलो भएको गेडो छिट्टै झरेको छ”, अगुवा किसान जगतबहादुर खत्रीले भने, “कोट्याएर हेर्दा भित्र कीरैकीरो छन् ।”

बारीभरि पहेँलै भएर झरेका सुन्तला सङ्कलन गरेर खाडलमा पुर्ने गरेको खत्रीले बताए। उनले वर्षेनी रु ६ देखि आठ लाखसम्मका सुन्तला बोटबाटै बेच्छन् । बर्षेनी रु पाँच लाखका सुन्तला बिक्री गर्ने चन्द्रकुमारी भण्डारीले पनि पाक्ने बेलामा देखिएको यस्तो समस्याले आम्दानी चौपट हुने चिन्ता लागेको सुनाइन्। “धान फल्ने खेत मासेर सुन्तला लगाएका छौँ”, उनले भनिन्, “सुन्तला उठाउँदै खाल्डोमा पुर्नु परेको छ ।” मल, काँटछाँट र बगैँचा व्यवस्थापनमा बर्षेनी लाखभन्दा बढी खर्च हुने भण्डारीले बताइन्।  लगानी मात्रै नभएर वर्षभर कमाई खाने बाटो पनि बन्द हुने अवस्था आएको बताइन्।

बाँसखर्कमा वर्षेनी रु साढे तीन करोडसम्मको सुन्तला उत्पादन हुन्छ । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न बजारमारे सुन्तला उत्पादन सहकारी स्थापना गरिएको छ । सहकारीले घरैबाट सुन्तला टिपेर काठमाडौँदेखि चितवनसम्मका बजार पुर्याउँदै आएको छ । सुन्तला बिक्रीबाटै आएको आम्दानीको केही प्रतिशत रकमले सहकारीको खर्च धानिएको थियो । “यसपालि बाक्लो फलेको देखेर खुशी थियौँ”, सहकारीका अध्यक्षसमेत रहेका खत्रीले भने, “मङ्सिरदेखि झर्न थालेको हो । पाकेका सुन्तला झरेपछि आम्दानीको बाटो सुक्ने चिन्ता बढ्दै गएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुन्तला झरेपछि सहकारीको आम्दानीसमेत घट्ने उनले बताए।  किसानले सुन्तला बेचेबापत प्रतिकिलो रु पाँचका दरले सहकारीमा जम्मा गर्नुपर्ने व्यवस्था छ । बाँसखर्कसहित म्याग्दी र बागलुङका केही गाउँ समेटेर गत वर्षदेखि सुन्तला सुपरजोन कार्यक्रम लागू भएको छ । बाँसखर्कसहित म्याग्दीको बेनी नगरपालिका, अन्नपूर्ण, रघुगङ्गा, मालिका गाउँपालिका, बागलुङको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकासहितका सात स्थानीय तहका ५२ वडा समेटेर जोन कार्यान्वयन भएको हो । जोनमा समेटिएको भए पनि सुन्तला झर्ने समस्या समाधान नभएको वडाध्यक्ष तुलसीराम शर्मा रेग्मीले गुनासो गरे ।

“जोनले केही माखो मारेन”, रेग्मीले भने, “पहिला ब्लक हुँदा सानातिना समस्या समाधानलाई पैसा आउँथ्यो । अहिले त्यै पनि हरायो । बारीभरि सुन्तला झरेर बिजोग भएको छ । जोनलाई धेरै भन्यौँ । तर सुनुवाइ भएन ।” पाक्ने बेलामा कीरो लागेर झर्ने समस्या समाधान गर्न तत्काल सम्भव नभएको सुन्तला सुपरजोनका प्रमुख सुधीर थापाले बताए। मोदी गाउँपालिका–२ को देउपुरमा समेत गत वर्षदेखि देखिएको हाँगा कुहिने रोगको समस्या समाधान भएको छैन । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com