अमेरिकामा पहिलो मिथिला सामुदायिक र सांस्कृतिक केन्द्रको स्थापना हुने


प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार

अमेरिकामा पहिलो मिथिला सामुदायिक र सांस्कृतिक केन्द्रको स्थापनाको लागि काम अगाडी बढेको छ । त्यसका लागि नेपाल र भारतका सामुदायिक व्यक्तित्वहरु एवम् अमेरिकी सरकारका प्रतिनिधिहरुले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएको विवाहपञ्चमी महोत्सव अमेरिकाका आयोजक तथा मिथिला सेन्टर अमेरिकाका संस्थापक अध्यक्ष अमित शाहले जानकारी दिएका छन् ।

यसपटक मिथिला सेन्टर अमेरिकाको आयोजनामा अमेरिकामा पहिलोपटक ऐतिहासिक विवाहपञ्चमी महोत्सव गरिएको थियो । भगवान राम र सीताको विवाहको स्मरणमा विवाहपञ्चमी जनकपुरधाममा विशेष रुपले मनाइएपनि अमेरिकामा पहिलो चोटी मनाइएको थियो ।

विवाह पञ्चमीको अवशरमा हिन्दू केन्द्र मन्दिरमा प्रार्थना समारोह समेत गरिएको थियो । महामारीका कारण सीडीसी र स्थानीय सरकारको नियम पालना गरेर प्राथर्ना समारोह गरिएपनि मुख्य कार्यक्रम भने भर्चुअल रुपमा गरिएको थियो ।

कार्यक्रममा नेपाल, भारत र संयुक्त राज्य अमेरिकाका प्रतिनिधि एवम् समाजका प्रतिष्ठित महानुभावहरुको अनलाइन उपस्थिति रहेको थियो भने शुभकामना आदानप्रदानपछि नेपाल, भारत र अमेरिकाका कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

राष्ट्रसंघका पूर्व वरिष्ठ अधिकारी नवल यादवले सञ्चालन गरेको कार्यक्रममा संस्थापक तथा आयोजक अमित साहले सबैको निरन्तर सहयोग र सहभागिताले सांस्कृतिक मूल्यमान्यतालाई प्रवर्धन गर्ने मिथिला सामुदायिक र सांस्कृतिक केन्द्रको स्थापनाको सपना साकार हुने आशा व्यक्त गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com