अमेरिकामा १० लाख बढीले लगाए कोरोनाबिरुद्धको भ्याक्सिन


प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार

अमेरिकामा १ मिलियन भन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेको अमेरिकन सीडीसीले जनाएको छ । भ्याक्सिन लगाउनेहरुको अन्तिम संख्या गणना भइरहेकाले यो संख्या अझै बढी हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिकामा डिसेम्बर १४ बाट फाइजरको र डिसेम्बर २१ बाट मोडेर्नाको भ्याक्सिन वितरण सुरु गरिएको हो । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि पदावधि सकिदै गरेका उपराष्ट्रपति माइक पेन्स सम्मले भ्याक्सिन लगाइसकेका छन् ।

पहिलो चरणको पहिलो उपचरणमा अमेरिकामा फ्रन्टलाइनमा खट्ने स्वास्थ्यकर्मी र दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुलाई भ्याक्सिन दिइएको छ । यो उपचरणमा भ्याक्सिन पाउनेमा अमेरिकामा रहेका नेपाली स्वास्थ्यकर्मीहरुको संख्या पनि उल्लेख्य रहेको छ । उनीहरुलाई भ्याक्सिनको पहिलो डोज दिइएको हो ।

दोश्रो उपचरणमा भ्याक्सिन पाउनेहरुमा ७५ बर्ष र त्योभन्दा माथिका व्यक्ति तथा अग्रपंक्तिमा खटिने अत्यावश्यक कामदार रहेका छन् । त्यस्तै पहिलो चरणको तेश्रो उपचारणमा ६५ देखि ७५ बर्षसम्मकालाई भ्याक्सिन दिइने भएको छ । त्यस्तै १६ देखि ६४ बर्षसम्मका स्वास्थ्य समस्या भएकाहरु र अन्य अत्यावश्यक कामदारहरुलाई यो उपचरणमा राखिएको छ ।

अबको चरणमा भ्याक्सिन पाउनेहरु प्रहरी, अग्नीनियन्त्रक, शिक्षक, ग्रोसरी स्टोरमा काम गर्नेहरु, खाद्य र कृषि कामदारहरु, उत्पादन कामदारहरु, जेलमा काम गर्नेहरु, हुलाकमा काम गर्नेहरु र सार्वजनिक यातायातमा काम गर्नेहरु हुनेछन् । यो संख्या अमेरिकामा झण्डै ३० मिलियन रहेको छ ।

त्यसपछिको चरणमा भ्याक्सिन पाउनेहरुमा जनस्वास्थ्य कामदारहरु, यातायात र लजिस्टिकमा काम गर्नेहरु, खाद्य सेवामा काम गर्नेहरु, निर्माणमा काम गर्नेहरु, बित्त क्षेत्रमा काम गर्नेहरु, आईटी र संचारमा काम गर्नेहरु, उर्जामा काम गर्नेहरु, मिडियामा काम गर्नेहरु, कानुनी क्षेत्रमा काम गर्नेहरु, सार्वजनिक सुरक्षा इन्जिनियरहरु, पानीका क्षेत्रमा काम गर्नेहरु हुनेछन् ।

यो चरणमा भ्याक्सिन पाउने स्वास्थ्य समस्या भएकाहरुमा मोटोपन भएकाहरु, दोश्रो प्रकारको मधुमेह भएकाहरु, दीर्घकालिन पल्मोनरी रोग भएकाहरु, मुटु र मृगौलाका रोगीहरु, अंग प्रत्यारोपण गरेकाहरु, गर्भवती र धुमपानका अम्मलीहरु पर्नेछन् । यो संख्या अमेरिकामा झण्डै ५७ मिलियन रहेको छ ।

पहिलो चरणको दोश्रो उपचरण फरबरीभन्दा अगाडि भने सुरु हुने अपेक्षा गरिएको छैन ।

डिसेम्बरभरमा भ्याक्सिनका २० मिलियन डोज उपलब्ध गराइने भएको छ भने मार्चसम्म ३ सय मिलियन डोज उपलब्ध गराइने भएको छ । अमेरिकाले फाइजरका थप १ सय मिलियन डोज किन्ने सहमति गरेको छ । जुनसम्म ७० मिलियन र जुलाईमा बाँकी भ्याक्सिनका डोजहरु फाइजरले प्रदान गर्नेछ ।

अमेरिकी सरकारले थप डोजका लागि १ दशमलव ९५ बिलियन डलर तिर्ने सहमति भएको फाइजरले जनाएको छ । फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिन उत्पादन गरिरहेको छ । नयाँ सहमतिले जुनसम्म भ्याक्सिन लिन चाहने हरेक अमेरिकनका लागि प्रयाप्त भ्याक्सिन प्राप्त गर्न बाटो खुलेको छ ।

अब अमेरिकाले फाइजर र मोडेर्नाका ४ सय मिलियन भ्याक्सिन प्राप्त गर्ने सहमति भइसकेको छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजका अनुशार अमेरिकी सरकारसँग थप ४ सय मिलियन भ्याक्सिनका डोजहरु किन्नसक्ने विकल्प समेत रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com