एकल महिलाका पीडाः ‘व्यवस्था बदलिए, अवस्थामा उस्तै’
प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार
द्वन्द्व प्रभावित एकल महिलाले व्यवस्था बदलिए पनि अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन् । मानवअधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेशले बुधबार यहाँ आयोजना गरेको सङ्क्रमणकालीन न्यायका लागि द्वन्द्व प्रभावित महिलाको पहुँच विषयक प्रदेशस्तरीय गोष्ठीमा सहभागी महिलाले न्याय पाउन नसकेको गुनासो राखे ।
बागलुङकी द्वन्द्वपीडित जशोदा शर्माले विसं २०५८ मा बेपत्ता भएका श्रीमान्को बाटो हेर्दाहेर्दैै १९ वर्ष बिताएका भोगाइ पोखिन् । ‘राति कतै ढकढक आवाज सुन्दा पनि श्रीमान् नै आउनुभयो कि भन्ने हुन्छ, बेखबर श्रीमान्को सम्झनामा १९ वर्ष बित्यो, यथार्थ कहिले आउँछ ?’ भोग्नेको पीडा सुन्नेले अनुभूति गर्न सक्लान र ? उनले बेपत्ता परिवारको समस्याका लागि जुनै आयोग बने पनि पीडितलाई न्याय दिन नसकेको गुनासो गरिन् ।
नवलपुरकी द्वन्द्वपीडित एकल महिला अमृृता सिग्देलले सत्य निरुपण आयोगले पीडितका आवाज सुन्न नसकेको बताइन् । नामका लागि गठन हुने र सेवा सुविधामा मात्र लिने आयोगले पीडितको पक्षमा काम गर्न नसक्ने उनको जिकिर थियो ।
पर्वतकी द्वन्द्वपीडित एकल महिला मनरुपा शर्मा विसं २०६१ मा श्रीमान् मारिएको पीडा सुनाउँदै न्याय नपाएसम्म शान्तिको अनुभूति हुन नसकेको गुनासो गरिन् । उनले मानवअधिकार उल्लङ्घनका कुरा उठाउँदा शान्ति प्रक्रिया भत्किन्छ भन्ने मानसिकताले द्वन्द्वपीडितले न्याय नपाएको बताइन् ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले विगतको तुलनामा महिला सशक्त हुँदै अधिकारका लागि एकताबद्ध हुन थालेको जानकारी दिए । ‘हिजोभन्दा आज महिला एकताबद्ध भएर अधिकारका लागि आवाज उठाउनुभएको छ । अब आउने दिनमा अझै सशक्त हुनुहोस् ।’ उनले भने, । महिलालाई राज्यले बिनाधितो रु १५ लाख ऋण सस्तो ब्याजमा दिएको उनले जानकारी दिँदै उद्यमशीलताको बाटोमा महिला आउने सके हिंसा र विभेदको अन्त्य हुँदै जाने छ भने ।
कार्यक्रममा सङ्कल्पका निर्वतमान क्षेत्रीय संयोजक दुर्गा न्यौपानले एकल महिलाले रातो लगाउँदा झस्किने समाज अहिले परिवर्तनउन्मुख हुँदै गएको धारणा रारिख् । उनले समातामूलक र न्यायिक समाजका लागि निरन्तर आवाज उठाएर समाजमा जकडिएका कथित मूल्य मान्यताको अवशेषलाई उखेलेर फाल्न एकल महिलाले आत्मबल बलियो बनाउनु परेको धारणा राखिन् ।
राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत टङ्क खनालले आत्मसम्मानपूर्वक बाच्ने मानवअधिकारमैत्री समाज निर्माणमा सबै जुट्नुपर्ने धारणा राखे । कार्यक्रमा एकल महिला समूह गण्डकीका अध्यक्ष प्रमिला तझ्याले एकल महिला सामाजिक, आर्थिक, मानसिक सांस्कृतिक विविध हिंसा र विभेदमा परेको उल्लेख गर्दै उनीहरुलाई मनोपरामर्शसहित आत्मनिर्भर बनाउन सीपसँग जोडेर लाग्नुपर्ने बताए ।
उनले कोभिड–१९ का कारण सिर्जित अवस्थाले पनि एकल महिलाले थप समस्या झेल्नुपरेको बताए । समूहका जिल्ला अध्यक्ष जुना केसीले एकल महिलाको अवस्था बदल्न समूहले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिइन् । इन्सेक गण्डकीका कार्यक्रम संयोजक सवनम शर्माले द्वन्द्व प्रभावित महिला र एकल महिलाका लागि सङ्क्रमणकालीन न्यायको लागि द्वन्द्व प्रभावित महिलाको पहुँच विषयमा अहिलेसम्म भएका अभ्यासका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कोसिस नेपालका मनोपरामर्शकर्ता जमुना शर्मा, नागरिक समाज सञ्जालका अध्यक्ष विष्णु बराल, वडा नं ३० का जनप्रतिनिधि रमा नेपालीले द्वन्द्वपीडित एकल महिलाको अवस्थाका बारेमा आ–आफ्नो धारणा राखेका थिए । सो कार्यशाला गोष्ठीमा प्रदेशका ८ जिल्लाका ५५ जनाको सहभागिता रहेको समूहका प्रदेश सचिव मीना अधिकारीले जानकारी दिइन् ।
समूहका अध्यक्षमा तझ्या
मानवअधिकारका लागि एकल महिला समूह गण्डकीका अध्यक्षमा प्रमिला तझ्या सर्वसम्मत चयन भएका छिन् । समूहको दोस्रो अधिवेशनले तझ्याको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा अमृता सिग्देल (नवलपरासी), सचिव मीना अधिकारी (गोखरा) र कोषाध्यक्ष चिनुमाया गुरुङ तनहुँ रहेकी छिन् ।
त्यसैगरी सदस्यमा अजिता शर्मा, खड्ककुमारी खड्का, हीरामति शाही र सावित्री थापा चयन भएका छन् ।