नेकपा संसदीय दलको नेतामा प्रचण्ड
प्रकाशित मिति : पुस ८, २०७७ बुधबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।
बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बुधबार बसिरहेको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो । माधवकुमार नेपालले उनलाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए । जसलाई सांसदहरुले सर्वसम्मतले अनुमोदन गरेका छन् ।
यसअघि नेकपाको दलको नेता केपी शर्मा ओली थिए । मंगलबार बसेको नेकपाको केन्द्रीय समिति बैठकले ओलीलाई संसद विघटनमा असंवैधानिक कदम चालेको भन्दै अनुशासनको कारबाही गर्दै अध्यक्षबाट हटाएको थियो । रिक्त स्थानमा नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।
यस्तै, बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री ओली विरुद्धको अविश्वास प्रस्ताव अनुमोदनका लागि पेश पनि गरेका छन् ।