डा. फाउचीले लगाए मोडेर्ना भ्याक्सिन, चरम आत्मविश्वास व्यक्त


प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार

अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिनको पहिलो डोज लिएका छन् । आज राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानमा आयोजित लाइभ कार्यक्रममा फाउचीले भ्याक्सिन लगाएका हुन् ।

उनले भ्याक्सिनका पछाडिको विज्ञानप्रति आफूमा चरम आत्मविश्वास रहेको बताएका छन् । भ्याक्सिन प्रभावकारी र सुरक्षित रहेको सन्देश दिनका लागि लाइभ कार्यक्रममार्फत भ्याक्सिन लगाइएको हो । उनले सबैलाई भ्याक्सिन लगाउनका लागि प्रोत्साहन समेत गरेका छन् ।

स्वास्थ्यमन्त्री एलेक्स आजार र राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानका निर्देशक फ्रान्सिस कोलिन्सले पनि आजै मोडेर्ना भ्याक्सिनको पहिलो डोज लगाएका छन् । राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानका फ्रन्टलाइनर स्वास्थ्य कार्यकर्ताहरुले पनि भ्याक्सिन लगाएका छन् । कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।

यसअघि नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाबिरुद्धको खोप लगाएका छन् । सोमबार दिउसो प्रत्यक्ष भिडियो प्रशारण गर्दै बाइडेनले कोरोनाबिरुद्धको फाइजरको खोप लगाएका हुन् ।

बाइडेनले डेलावरमा खोपको पहिलो डोज लिएका हुन् । त्रिस्टियाना केयर अस्पतालकी नर्स ताबे मासाले बाइडेनलाई खोप लगाइदिएकी छिन् ।

शुक्रबार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्दै कोरोनाबिरुद्धको भ्याक्सिन लिएका थिए । पेन्सकी पत्नी करेन पेन्स र सर्जन जनरल जेरोम आदम्सले पनि भ्याक्सिन लगाएका थिए ।

आफूले भ्याक्सिन लगाउँदा पत्तै नपाएको बताउँदै पेन्सले भ्याक्सिन मेडिकल चमत्कार भएको बताए । इतिहासमा यो साता कोरोना महामारीको अन्त्यको सुरुवात भएको साताका रुपमा रहने पेन्सले बताए । पेन्सले अमेरिकनहरुलाई सामाजिक दुरी कायम गर्न, हात धुन र मास्कको प्रयोग गर्न प्रोत्साहित गरे ।

शुक्रबार नै हाउस स्पीकर न्यान्सी पेलोसीले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन लिएकी थिइन् ।

८० बर्षकी डेमोक्रेटिक नेतृ पेलोसीले भ्याक्सिनको पहिलो डोज लिए लगत्तै सिनेटमा रिपब्लिकन नेता ७८ बर्षका मिच म्याक्कोनेले पनि भ्याक्सिन लिएका थिए ।

 

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com