फाइजर र मोडेर्नाले कोरोनाको नयाँ प्रकारबिरुद्धको भ्याक्सिनको परीक्षण गर्दै


प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार

कोरोनाबिरुद्धको खोप निर्माण गरेर अमेरिकी सरकारबाट स्वीकृति पाएलगत्तै वितरण सुरु गरेका फाइजर र मोडेर्नाले कोरोना भाइरसको नयाँ प्रकारबिरुद्ध भ्याक्सिनले काम गर्ने नगर्ने थाहा पाउन परीक्षण सुरु गरिरहेका छन् । कम्पनीले वक्तब्य जारी गर्दै बेलायतमा भेटिएको कोरोनाको नयाँ प्रकारबिरुद्ध परीक्षण गरिरहेको बताएका हुन् ।

बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारबिरुद्ध भ्याक्सिनले काम गर्ने अहिलेसम्मको तथ्यांक हेर्दा आफूहरु आशावादी रहेको मोडेर्नाले जनाएको छ । तर आशालाई पुष्टी गर्ने आगामी साताहरुमा थप परीक्षणहरु गर्ने मोडेर्नाले जनाएको छ ।

बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारलाई निर्मलीकरण गर्न भ्याक्सिन कत्तिको सफल हुन्छ भन्ने जाँच्न भ्याक्सिन लगाएका व्यक्तिबाट रगतका नमुनाहरु संकलन गरेर तथ्यांक निर्माण गरिरहेको फाइजरले जनाएको छ । कोरोना भाइरसपहिले पनि म्युटेशन भएर नयाँ नयाँ प्रकारमा देखिएको थियो । ती प्रकारहरुबिरुद्ध भ्याक्सिनले काम गरेको पाइएको मोडेर्ना र फाइजरले जनाएका थिए ।

बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारबारे विश्वब्यापी चासो बढिरहँदा भ्याक्सिन कम्पनीले यस्तो वक्तब्य जारी गरेका हुन् । क्यानडा लगायतका कैयन मुलुकले बेलायतबाट आउने यात्रुहरुमा नयाँ प्रतिबन्धहरु लगाएका छन् । अमेरिकामा ट्रम्प प्रशासनले कुनै प्रतिबन्धको घोषणा नगरेपनि न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले बेलायतबाट आउने एयरलाइन्सलाई अनुरोध गरेपछि एयरलाइन्सहरुले न्युयोर्क आउने यात्रुहरुको कोरोना परीक्षण नेगेटेभि नभएसम्म विमानमा नचढाउने भएका छन् ।

अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोनाको नयाँ प्रकार अमेरिकामा पनि हुनसक्ने बताएका छन् । भाइरसको म्युटेशन असाधारण कुरा नभएको र प्रायजसो नयाँ म्युटेशनबाट कुनै उल्लेख प्रभाव नपर्ने गरेको फाउचीको भनाई छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com