बेलायतबाट जानेलाई नेपाल प्रवेशमा रोक


प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार

नेपाल सरकारले बेलायतबाट जाने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

मंगलबार देखि नै लागू हुने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल जाने यात्रुलाई रोक लगाएको हो ।

‘बेलायतबाट आउने वा बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन’  प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन गरेको छ ।

अर्को सूचना नभएसम्मका लागि यो रोक  लागू रहनेछ।

लण्डनस्थित नेपाली दूतावासले पनि बेलायतबाट जाने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइएको पुष्टि गरेको छ ।

‘आजदेखि नै लागू हुने गरी यो रोक लगाउने निर्णय भएको छ’ , प्रवक्ता रोशन खनालले भनिन्, ‘अहिले ट्रान्जिटमा भएका वा बेलायतबाट उडिसकेका व्यक्तिहरु भने भित्रिन पाउनुहुनेछ । अब नयाँ उडानमा जानेहरुलाई  रोक लाग्नेछ ।’

पछिल्लो केही दिनयता बेलायतबाट नेपाल पुगेका यात्रुहरुलाई  पनि अनिवार्य रुपमा क्वारेन्टिन बस्न लगाइने प्रवक्ता खनालले जानकारी दिइन् ।

बेलायतमा कोरोना भाइरसको संक्रमणसंगै नयाँ स्वरुपको भाइरस तीव्र फैलिन थालेपछि नेपाल सरकारले रोक लगाएको हो । विश्वका अन्य कयौं  मुलुकले यस्तै  प्रतिवन्ध लगाइसकेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com