नेकपाको बहुमत सदस्यले अध्यक्षबाट ओलीलाई हटाए, झन्डै ७० प्रतिशत सदस्य उपस्थित
प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड- माधव समूहको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय अनुमोदन गरेको छ। मंगलबार काठमाडौँ बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो।
उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१५ सदस्यहरु सहभागी भएको प्रचण्ड- माधव समूहको दाबी रहेको छ।
‘बालुवाटारमा जे भयो नौटंकी हो, एकतिहाइ बसेर तीन तिहाइ सदस्य थप्ने ?’ – प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारको बैठक नौटंकी भएको बताएका छन् । मंगलबार बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीका सदस्यलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बिहान गरेको बैठक नौटंकी भएको बताएका हुन् ।
‘आज बिहान बालुवाटारमा जे भयो नौटंकी हो। एकतिहाई सदस्य बसेर तीन तिहाई थप्ने निर्णय गर्न मिल्छ ? झन् विवरण निर्वाचन आयोगमा बुझाउनु नौँटंकी बाहेक केही होइन ।’ उनले भनेका छन् । उनले यो नौटंकीलाई निर्वाचन आयोगले मान्यता नदिने पनि बताएका छन् ।
आजै बिहान बालुवाटारमा बसेको ओली निकटको केन्द्रीय समिति बैठकले एकता महाधिवेशनका लागि भन्दै ११ सय ९९ जना सदस्य रहने केन्द्रीय कमिटी गठन गरेको थियो । नेकपामा यसअघि ४ सय ४७ जना केन्द्रीय सदस्य छन् ।