५५९३ पृष्ठ लामो राहत प्याकेज र खर्च विधयेक सार्वजनिक, साप्ताहिक ३ सय डिसेम्बर २६ पछिमात्र


प्रकाशित मिति : पुस ६, २०७७ सोमबार

आगामी सेप्टेम्बर अन्त्यसम्म सरकारी खर्च धान्ने खर्च विधयेक र कोरोनाको महामारीका कारण उत्पन्न आर्थिक समस्याको सामना गर्न राहत प्याकेजमा सहमति भएपछि ५५९३ पृष्ठ लामो उक्त संयुक्त विधयेक सार्वजनिक गरिएको छ । यो विधयेकको पूर्ण पाठ सोमबार दिउसो सार्वजनिक गरिएको हो ।

९ सय बिलियन राहत प्याकेजमा र १ दशमलव ४ ट्रिलियन सरकारी खर्चका लागि छुट्याइएको छ । हाउसले यो बिल सोमबार रातीसम्म पारित गर्ने अपेक्षा गरिएको छ भने सिनेटले मंगलबार विहानसम्म पारित गर्ने अपेक्षा गरिएको छ ।

यो विधयेक र प्याकेज अत्यन्तै लामो भएपनि सांसदहरुलाई पुनरावलोकनका लागि केही घण्टामात्र दिइएको छ । कोरोनाको महामारी सुरुभएपछि मार्चमा ल्याइएको राहत प्याकेजपछिको यो सबैभन्दा ठूलो राहत प्याकेज हो ।

पूर्ण पाठ पढ्न यहाँ क्लीक गर्नुहोला ।

राहत प्याकेजमा बयस्क र बालबालिकाहरुका लागि ६ सय डलरको राहत चेकको व्यवस्था गरिएको छ । बार्षिक ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले यो राहत चेक प्राप्त गर्नेछन् । १२ सय डलरको राहत चेक प्राप्त गरेका अधिकांश यो राहत चेक समेत प्राप्त गर्न योग्य हुनेछन् ।

त्यस्तै बेरोजगारी विमाको अवधि ११ हप्ता थपिएको छ भने महामारीका कारण काम गुमाएकाहरुलाई राज्यले दिने बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ । डिसेम्बर २६ पछि सुरु हुने साताबाट आगामी मार्च १४ सम्म अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ ।

राहत प्याकेजमा साना विजनेशका लागि ऋण प्रदान गर्न ३१९ बिलियन छुट्याइएको छ । जसअन्तरगत पेचेक प्रोटेक्सन कार्यक्रम अन्तरगत ऋणका लागि २८४ बिलियन छुट्याइएको छ । २० बिलियन इकोनोमिक इन्जुरी डिसास्टर लोन अनुदानका लागि छुट्याइएको छ । १५ बिलियन स्वतन्त्र थियटरहरु र सांस्कृति प्रतिष्ठना लगायत लाइभ कार्यक्रमस्थलका लागि छुट्याइएको छ ।

२५ बिलियन भाडा सहायता कार्यक्रम र घरनिकाला हुनबाट जोगाउने कार्यक्रमका लागि छुट्याइएको छ । १३ बिलियन पोषण कार्यक्रमका लागि छुट्याइएको छ । १० बिलियन चाइल्ड केयरसहित ८२ बिलियन डलर शिक्षाका लागि छुट्याइएको छ ।

ट्रेजरी सेक्रेटरी स्टेफन मन्चिनले  राहत प्याकेज पारित भएमा आगामी सातादेखि नै राहत चेक पठाउन सकिने बताएका छन् । हाउस र सिनेटमा आजै बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर र दोश्रो चरणको राहत चेक समेटिएको राहत प्याकेज पारित हुने अपेक्षा गरिएको छ ।

आईआएससँग पहिले नै बैंक खाता रहेकाहरुलाई पहिलो चरणमा र छिटो राहत चेक खातामा नै पठाइनेछ । अन्यलाई हुलाकमार्फत चेक पठाइनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com