जनवरी २० मा राष्ट्रपतिमा बाइडेनको सपथग्रहण, त्यतीबेलासम्म ट्रम्प नै राष्ट्रपति


प्रकाशित मिति : पुस ५, २०७७ आईतबार

आगामी जनवरी २० मा अमेरिकामा राष्ट्रपतिमा जो बाइडेनले सपथग्रहण गर्नेछन् । तर त्यतीबेलासम्म डोनाल्ड ट्रम्प नै अमेरिकाको राष्ट्रपति रहनेछन् ।

डिसेम्बर १४ मा इलेक्टरहरुले अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतलाई नै सदर गरिसकेकाले अब इलेक्टरहरुले हस्ताक्षर गरेका प्रमाणपत्रहरु सिनेटको प्रेसिडेण्डको हैसियतमा उपराष्ट्रपति माइक पेन्स समक्ष पठाइदैछ । त्यस्तै फेडरल रजिष्टरको अफिस, राज्यका सेक्रेटरी अफ स्टेट र संघीय जिल्ला अदालतका प्रमुख न्यायाधिससमक्ष पठाइदैछ ।

त्यसपछि जनवरी ६ मा संसदको संयुक्त सदनले मतहरु औपचारिक रुपमा गणना गर्नेछ । माइक पेन्सको अध्यक्षतामा यो काम हुनेछ । पेन्सले अल्फावेटिकल अर्डरमा राज्यका प्रमाणपत्रहरु खोल्नेछन् । र, चारजना गणकहरु समक्ष पेश गर्नेछन् । ४ जना गणकहरु दुईजना हाउसबाट र दुईजना सिनेटबाट हुनेछन् । बाइडेनले २७० इलेक्टोरल मत प्राप्त गर्नासाथ पेन्सले विजेता घोषणा गर्नेछन् ।

यो प्रकृया संघीय कानुनले तोके अनुशार हुनेछ । च्याम्बरमा स्पीकरको कुर्सीमा माइक पेन्स बस्नेछन्, न्यान्सी पेलोसी बायातिर बस्नेछिन् भने ४ जना गणकहरु क्लर्कको डेस्कमा बस्नेछन् । संसदको यो संयुक्त सेसन गणना पूरा नहँदासम्म र परिणाम सार्वजनिक नगर्दासम्म जारी रहन्छ । चुनावको परिणाम घोषणा गरेपछि जनवरी २० मा सपथग्रहणको कार्यक्रममात्र बाँकी रहन्छ ।

संसदका नयाँ सदस्यहरुले जनवरी ३ मा सपथग्रहण गर्ने भएकाले यो सबै प्रकृया नयाँ संसदले गर्नेछ । प्रतिनिधिसभामा डेमोक्र्याट्सको नियन्त्रण रहेको छ भने जर्जियाका दुईसिट डेमोक्र्याट्सले नै जीतेपनि पचास पचास हुने अवस्थामा समेत टाइब्रेक मतका रुपमा उपराष्ट्रपतिले काम गर्न पाउने भएकाले माइक पेन्स नै त्यहाँ हुनेछन् । सिनेटमा ५० सिट रिपब्लिकनले र ४८ सिट डेमोक्र्याट्सले जीतेका छन् । जनवरी ५ को चुनावमा जर्जियाका दुबै सिट डेमोक्र्याट्सले जीतेपनि टाइब्रेकका लागि नयाँ उपराष्ट्रपतिले सपथ नलिंदासम्म रिपब्लिकनै नियन्त्रण हुनेछ ।

इलेक्टोरल मत गणनाको बेलामा संसदमा कुनै पनि बहस र विवादलाई स्थान दिइदैन । तर परिणाम घोषणा गरिएपछि संसदका सदस्यहरुले आफ्नो भनाई राख्न सक्छन् । कुनै पनि राज्यको परिणामबारेको कुनै असहमति भएमा कम्तीमा एकजना सिनेटर र एकजना प्रतिनिधिसभा सदस्यले हस्ताक्षर गरेर लिखित रुपमा पेश गर्नुपर्छ । हरेक सांसदले एकपटकमात्र बोल्न पाउँछन् भने ५ मिनेटमा आफ्नो भनाई सक्नुपर्छ । २ घण्टापछि बहस समाप्त हुन्छ ।

कुनै पनि राज्यको परिणामबारेको असहमति औपचारिक रुपमा दर्ता भएमा संसदका हरेक सदनमा राज्यको परिणाम अस्वीकार गर्ने वा नगर्ने सन्दर्भमा मतदान हुन्छ । तर अस्वीकार गर्नका लागि दुबै सदनबाट पारित हुनुपर्ने भएकाले त्यस्तो सम्भावना यसपटक शुन्य रहेको छ ।

सन् १८८७ मा इलेक्टोरल गणना ऐन पारित भएदेखि दुईपटक राज्यको चुनावी परिणाममा संसदीय अवरोध भएको छ । तर यस्तो अवरोध भएपनि त्यो या त सिनेटबाट या त हाउसबाट पारित नभएका कारण अर्थहिन बन्यो ।

चुनावी परिणाममा अवरोध ल्याएर बाइडेनलाई राष्ट्रपति हुन नदिने रिपब्लिकनहरुको दीर्घकालिन योजना भएकाले यसपटक पनि यस्तो प्रयास हुनसक्छ । तर दुबै सदनबाट सामान्य बहुमतबाट पारित नभएसम्म त्यस्तो अवरोध अर्थहिन हुनेछ । पार्टी अनुशार मतदान हुँदा रिपब्लिकनहरुले बाइडेनको जीतलाई रोक्न सक्दैनन् ।

हाउसमा डेमोक्र्याट्सको नियन्त्रण भएकाले रिपब्लिकनले ल्याएको अवरोध हाउसबाट पारित हुन सम्भव छैन । सिनेटमा पनि कैयन रिपब्लिकनले बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिसकेकाले त्यहाँबाट पनि त्यस्तो अवरोध पारित हुने सम्भावना कम रहेको छ ।

ट्रम्पका केही समर्थकहरुले संसदमा अवरोधको योजना बनाइसकेका छन् । जनवरी ६ मा अमेरिकी संसद राजनीतिक नाटकघर जस्तो देखिने अवस्था रहेको छ । तर यो प्रकृयाले चुनावको परिणामलाई बदल्ने सम्भावना भने शुन्यप्राय रहेको छ ।

ट्रम्पले पद छाड्नु अगाडि नै अध्यागमनबारे आधादर्जन नयाँ नियमको तयारी

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी लगायतका संघीय एजेन्सीहरुबाट डोनाल्ड ट्रम्प राष्ट्रपति छँदै अर्थात् आगामी जनवरी २० अगाडि नै अमेरिकी अध्यागमनमा विभिन्न परिवर्तनका योजना सार्वजनिक गरिएको छ । यद्यपी झण्डै एकमहिनाको अवधिमा ती मध्ये कति योजना पूरा गर्न ट्रम्प प्रशासन सफल हुनेछ, त्यो भने हेर्न बाँकी नै छ ।

ट्रम्प प्रशासनले कामदार भिसा एचवानबीको लोटरी प्रणाली हटाएर डिपार्टमेन्ट अफ लेवरको चार स्तरको पारिश्रमिक प्रणालीका आधारमा छनौट गर्ने प्रणाली ल्याउन खोजेको छ । गत नोभेम्बरमा फेडरल रजिस्टरमा प्रकाशित यो नियमको कमेन्ट अवधि डिसेम्बर २ मा सकिएको छ भने अन्तिम नियम जनवरीमा प्रकाशित गर्ने अपेक्षा गरिएको छ ।

यो नियमबारे विस्तृतमा यहाँ पढ्नुहोस् ।

यो नियम अनुशार सबैभन्दा धेरै पारिश्रमिक भएका आवेदनलाई पहिलो प्राथमिकता दिइनेछ भने कामदार भिसामा कम्युटरबाट लोटरी प्रणालीलाई अन्त्य गर्नेछ । एचवानबी कामदार भिसाबाट अमेरिकामा विभिन्न कम्पनीहरुले विदेशी कामदारहरुलाई काममा लगाउँदै आएका छन् ।

त्यस्तै कामदार भिसा एचवानबीका एच फोर भिसामा रहेका आश्रित दम्पत्तिलाई वर्क परमिट दिइदै आएकोमा त्यसको अन्त्य गर्ने प्रस्तावित नियम प्रकाशित गर्ने योजनामा ट्रम्प प्रशासन रहेको छ । पहिले नै वर्क परमिट पाइसकेकाहरुको वर्क परमिट खारेज गर्ने वा कायमै राख्ने भन्नेबारे केही स्पष्ट छैन । प्रस्तावित नियम ट्रम्प राष्ट्रपति हुँदै आएपनि अन्तिम नियम भने जनवरी २० अगाडि आउन सम्भव देखिएको छैन ।

त्यस्तै विद्यार्थी भिसाको अवधि सिमित गर्ने अन्तिम नियम डिसेम्बरमा नै प्रकाशित गर्ने योजनामा ट्रम्प प्रशासन रहेको छ । विगतमा विद्यार्थी भिसामा ड्युरेशन अफ स्टाटस दिइदै आएकोमा यो नियम लागु भएमा भिसाको निश्चित अवधिमात्र तोकिनेछ । ओभरस्टे दर बढी भएका देशहरुबाट आउने विद्यार्थीका लागि २ बर्षकोमात्र भिसा दिइनेछ ।

यसबारे प्रस्तावित नियम गत सेप्टेम्बरमा नै फेडरल रजिष्टरमा प्रकाशित भएको थियो भने एकमहिनाको कमेन्ट अवधि राखिएको थियो । अब यसको अन्तिम नियम ल्याउने तयारीमा ट्रम्प प्रशासन रहेको छ । जुन जनवरी २० अगाडि नै लागु हुन सम्भव रहेको छ ।

यो नियमबारे विस्तृतमा यहाँ पढ्नुहोस् ।

त्यस्तै भिजिटर भिसाका सन्दर्भमा कडाई गर्ने दुईवटा प्रस्तावित नियम ट्रम्प प्रशासनले ल्याएको छ । त्यसमध्ये भिजिटर भिसामा आउनेहरुले कस्ता गतिविधि गर्न पाउने भन्ने सन्दर्भमा सिमाबन्दी तोक्ने अन्तिम नियम तत्काल आउने सम्भावना छैन । बाइडेन प्रशासन आएपछि उक्त नियमलाई समर्थन गर्ने नगर्ने पनि स्पष्ट छैन । तर भिजिटर भिसामा आउनेहरुलाई अमेरिकामा बस्नका लागि दिइने अवधिमा परिवर्तन गर्नेबारेको अन्तिम नियम भने डिसेम्बरमा नै प्रकाशित गर्ने योजनामा ट्रम्प प्रशासन रहेको छ ।

यो नियमबारे विस्तृतमा यहाँ पढ्नुहोस् ।

बायोमेट्रिक संकलनबारे ट्रम्प प्रशासनले गत सेप्टेम्बरमा एउटा प्रस्तावित नियम ल्याएको थियो । यो नियम अनुशार अमेरिकामा रहेका विदेशी नागरिकको बेलाबेलामा बायोमेट्रिक लिने, जाँचबुझ गर्ने, बायोमेट्रिक संकलनमा उमेरको हदबन्दी हटाउने लगायत समेटिएको छ । यसबारेको अन्तिम नियम डिसेम्बरमा नै प्रकाशित गर्ने ट्रम्प प्रशासनको योजना रहेको छ ।

त्यस्तै सीबीपीको पनि बायोमेट्रिकबारे प्रस्तावित नियम फेडरल रजिष्टरमा प्रकाशित छ । जसका लागि डिसेम्बर २१ सम्म कमेन्ट अवधि राखिएको छ । अमेरिका प्रवेश गर्ने र बाहिरिने क्रममा संकलन गरिएका बायोमेट्रिकको प्रयोगलाई बृहत बनाउनेबारे अन्तिम नियम ट्रम्प कार्यकालमा नै आउने नआउने स्पष्ट छैन ।

अमेरिकामा ग्रिनकार्डमा आउनेहरुलाई स्पोन्सर गर्ने क्रममा स्पोन्सर गर्ने व्यक्तिले स्पोन्सर फर्ममा बैंक खाताको विवरण, क्रेडिट रिपोर्ट, क्रेडिट स्कोर समेत बुझाउनुपर्ने प्रस्तावित नियम गत अक्टोबरमा प्रकाशित भएको थियो । यसबारेको अन्तिम नियम पनि डिसेम्बरमा नै प्रकाशित गर्ने योजनामा ट्रम्प प्रशासन रहेको छ ।

यो नियमबारे विस्तृतमा यहाँ पढ्नुहोस् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आई १४० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ फाइल गर्न नमिल्ने नियम ल्याउने तयारी गरेको छ । तर यो नियम सन् २०२१ को सेप्टेम्बरमा ल्याउने योजना रहेको छ । यो नियमले बाइडेन प्रशासनले समर्थन गर्ने वा नगर्ने स्पष्ट छैन ।

क्षमादानको योजना

दोश्रो कार्यकालका लागि पराजित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैलाई माफी वा क्षमादान दिन मिल्ने नमिल्नेबारे निकटवर्तीहरुसँग छलफल गरिरहेको जनाइएको छ । तर राष्ट्रपति आफैले आफैलाई माफी वा क्षमादान गर्न मिल्ने वा नमिल्ने सन्दर्भमा अमेरिकन मिडियाहरुमा बहस hf/L छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा गरेको एउटा ट्वीटमा आफूले आफैलाई माफी वा क्षमादान दिनसक्ने दावी गरेका थिए । यद्यपी यस्तो दावीको कानुनी आधार भने स्पष्ट छैन । जस्टिस डिपार्टमेन्ट अफिस अफ लिगल काउन्सिलले सन् १९७४ मा रिचर्ड निक्सनका सन्दर्भमा एउटा मेमो जारी गरेर आधारभूत नियम अनुशार आफ्नो न्यायाधिस आफै बन्न नसकिने र राष्ट्रपतिले आफूले आफैलाई माफी वा क्षमादान दिन नसकिने उल्लेख थियो ।

तर कतिपयले राष्ट्रपति आफैले आफैलाई माफी वा क्षमादान दिनसक्ने दावी समेत गरेका छन् । यद्यपी डोनाल्ड ट्रम्पले आफूले आफैलाई माफी वा क्षमादान दिएमा यसले अदालतमा कानुनी लडाईको सामना गर्नुपर्ने हुनसक्छ । र, यसबारे अदालतले निर्णय दिनुपर्ने अवस्था समेत आउनसक्छ । रिचार्ड निक्सनका पालामा निक्सनले राजिनामा दिएपछि राष्ट्रपति बनेका जेराल्ड फोर्डले निक्सनलाई माफी वा क्षमादान दिएका थिए ।

ट्रम्पले आफू निकटका कैयनलाई भने क्षमादान दिने योजना बनाएका छन् । रोबर्ट मुलरको अनुसन्धानका सन्दर्भमा जोडिएकाहरु, ट्रम्प अर्गनाइजेनशनका कर्मचारीहरु, आफ्नै परिवारका सदस्यहरु लगायतलाई माफी वा क्षमादान दिने योजनामा ट्रम्प रहेको जनाइएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले भने ट्रम्पलाई माफी नदिने बताएका छन् ।

आफैले आफैलाई क्षमादान दिन नसकेको अवस्थामा ट्रम्पले कार्यकाल सकिनुभन्दा केही अगाडि राजिनामा दिने र माइक पेन्सले राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेर ट्रम्पलाई माफी वा क्षमादान दिनसक्ने परिदृश्यबारे समेत चर्चा सुरु भएको छ । यदि ट्रम्पलाई माफी दिइएको खण्डमा उनले संघीय अभियोगहरुमा उन्मुक्ति पाउनेछन् । तर न्युयोर्क एटोर्नी जनरल म्यानहटन डिस्ट्रिक्न एटोर्नीबाट भइरहेको अनुसन्धानबाट उत्पन्न अवस्थाको सामना गर्नमा भने रोक लाग्नेछैन ।

ट्रम्पले आफ्नो कार्यकालमा केही हाइप्रोफाइल व्यक्तित्वहरुलाई माफी वा क्षमादान दिइसकेका छन् ।

अमेरिकाको संविधान अनुशार नवनिर्वाचित राष्ट्रपतिले जनवरी २० अगाडि सपथग्रहण र पदभार ग्रहण गर्न पाउँदैनन् । त्यतीबेलासम्म पुरानै राष्ट्रपति ह्वाइटहाउसमा रहन्छन् । जनवरी २० सम्म राष्ट्रपतिको शक्तिमा कुनै कटौती हुँदैन । त्यसैले ट्रम्पले राष्ट्रपतिको हैसियतमा विगतमा जे जे गर्ने अधिकार पाएका थिए, त्यो अधिकार जनवरी २० सम्म पाउनेछन् । उनी जनवरी २० सम्म कमाण्डर इन चिफ र अमेरिकाको प्रमुख कार्यकारी रहनेछन् ।

राष्ट्रपति ट्रम्पले त्यो अवधिसम्म कार्यकारी आदेश जारी गर्नेदेखि विभिन्न खाले नियुक्ती गर्न पाउने अधिकारसम्म राख्छन् ।

यस्तो अवधिमा विगतका कैयन राष्ट्रपतिहरुले कैयन व्यक्तिलाई क्षमादान दिने गरेका छन् । यस्तो अवधिमा जर्ज बुस सिनियरले सोमालियामा राजनीतिक स्थीरताका लागि सेना परिचालन गर्ने निर्णय गरेका थिए । त्यस्तै उनले इराकमाथि हवाई हमला समेत गराएका थिए । उनले कैयनलाई क्षमादान समेत दिए ।

यो अवधिमा बाराक ओबामाले राष्ट्रसंघको हरित जलवायु फण्डमा ५ सय मिलियन डलर अनुदानमा हस्ताक्षर गरेका थिए । ओबामाले विभिन्न अपराधमा संलग्न वा संलग्न भएको आशंका रहेका २ सय बढीलाई क्षमादान दिएका थिए ।

बिल क्लीन्टनले आफ्ना भाई र एउटा राहत संकलन अभियानमा खटिएकी महिलाका पति लगायत १४० भन्दा धेरैलाई क्षमादान दिएका थिए ।

यस्तो क्षमादान अहिलेसम्म अपराधमा नमुछिएका व्यक्तिलाई समेत दिन सकिन्छ । क्षमादानपछि क्षमादानको अवधि अगाडिसम्मका अपराधका लागि उनीहरुलाई भविश्यमा समेत छुट प्राप्त हुन्छ । विगतका अपराधका कारण भविश्यमा सजाय भोग्न नपरोस् भनेर समेत क्षमादान दिइन्छ ।

क्षमादान दिन पाउने अमेरिकी राष्ट्रपति तजविज अधिकार हो । अधिकांश राष्ट्रपतिले अर्को व्यक्ति नयाँ राष्ट्रपति निर्वाचित भइसकेपछि आफू जनवरी २० सम्म ह्वाइटहाउसमा रहँदासम्म यो अधिकारको प्रयोग गर्दै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com