संसद विघटन प्रतिगामी, सङ्घीय जनगणतान्त्रिक सत्ता स्थापना नै अबको विकल्प: किरण
प्रकाशित मिति : पुस ५, २०७७ आईतबार
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले संसद विघटनको कदम प्रतिगामी भएको बताएका छन् । उनले वक्तब्य जारी गर्दै सत्ता र सुविधाको लुछाचुँडीका निम्ति सत्ताधारी नेकपामा सुरुभएको अन्तरकलह र कचिङ्गल आज २०७७ पुष ५ बिहानको मन्त्रीमण्डलको बैठकसम्म आइपुग्दा संसद विघटनको सिफारिस गर्ने हदसम्म विकास हुन पुगेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष प्रस्तुत गरेको उक्त सिफारिसलाई राष्ट्रपति भण्डारीले अनुमोदन गरी आगामी २०७८ बैशाख १७ र २७ गते मध्याबधि निर्वाचनको तिथिमिति समेत घोषणा गर्नु प्रतिगामी कदम रहेको उनको भनाई छ ।
उनले भनेका छन् – ‘देशको विद्यमान राजनीतिक सङ्कट प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम हो ।’
संसदीय व्यवस्थाकै कारण पैदा भएको वर्तमान सङ्कटको समाधान साम्राज्यवादी तथा विस्तारवादी चलखेलमा गरिने अर्को संसदीय निर्वाचनले नसक्ने भन्दै उनले यस सङ्कटको एकमात्र समाधान सङ्घीय जनगणतान्त्रिक सत्ता, व्यवस्था र सरकारको स्थापना रहेको बताएका छन् ।