‘प्रधानमन्त्रीज्यू, तपाईंबाट ठुलो घात भयो’


प्रकाशित मिति : पुस ५, २०७७ आईतबार

– राधाकृष्ण देउजा

सम्माननीय प्रधानमन्त्रीज्यू, आज यो लेख्दा हात कापिरहेका छन् । मन दुखिरहेको छ । अनि घरि घरि आफैंले आफैंलाइ चिमोटी रहेको छु । अनि आफैंसंग भनिरहेको छु कि यो सपना होस् । तर हेर्छु म वसिरहेको कोठा । बाहिर निस्पट्ट अँध्यारो हैन घमाइलो नभए पनि उज्यालो छ ।

म सपना हैन त्राशदिपूर्ण विपनाको सामना गरिरहेको छु, जहाँ लोकतन्त्रको लागि जीवन भर लडेको , संवैधानिक सर्वोच्चताको वकालतमा जीवन व्यतित गरेको एक अथक योद्धाकै सिफारिशमा आज लोकतन्त्रको चिर हरण भएको छ । गैर संवैधानिक काम भएको छ ।

जसले जे भनेर यहाँलाई ढाडस दिएको भए पनि सत्य के हो भने प्रधानमन्त्रीज्यू तपाईबाट गम्भीर गल्ति भएको छ । अलोकतान्त्रिक र असंवैधानिक काम भएको छ ।

कतिपयले तपाईलाई भनेका होलान् – ‘यो घेराबन्दीको अवस्था तोड्न यही गर्नु पर्थ्यो , जे गर्नु भयो ठिक गर्नु भयो ।’

तर त्यसो भन्नेहरुले तपाईंलाई यो पक्कै भनेनन् होला कि ‘तपाईको विरुद्ध अनुमानित घेराबन्दी भैरहँदा त्यसमा संलग्न भनिएका नेताहरुलाई उहाँहरु निकटले पटक पटक भनेका थिए – केपी ओलीलाइ सुधार्नु पर्ने भए सुधार्नुस तर समाप्त पार्ने दुस्साहस नगर्नुस किनभने केपी ओलीप्रति हाम्रो सम्मान छ , माया छ र वहाँको इतिहास गौरवपूर्ण छ ।’

अनि आफ्नै पक्षका , आफ्ना अनुयायीहरुका त्यही चुनौतिपूर्ण सल्लाह र सुझावकै आधारमा केपी ओलीलाई सवक सिकाउनु पर्छ भनेर तम्सिएका नेताहरु कम्जोर , नालायक र डरपोकको आरोप सहेर पनि सहमतिको रटान गर्दै हिड्न वाध्य भएका थिए ।

केपी ओलीको पक्षमा भएको त्यही खवरदारीले सवै समस्याको  समाधान वैठकबाट नै खोज्नु पर्ने वाध्यता थियो । र अहिले पनि दावा साथ भन्न सकिन्छ कि संसद विघटनको सिफारिश हुँदैन थियो भने  नेकपाको कुनै कमिटिले केपी ओलीको  अपमान हुने कुनै निर्णय लिने थिएन ।

तर दुखका साथ भन्नु पर्छ कि सकारात्मकताको , सहकार्यको अनि संवाद मार्फत सहमतिको सँस्कारको विद्यमान सुन्दरता र त्यसका संवाहकहरुको वहुमत रहेको आफ्नै पार्टीको यथार्थ केपी ओलीले बुझ्न सक्नु भएन । आज उहाँले जे गर्नु भयो त्यसले केपी ओलीलाई राजनेता मान्ने पंक्ति सवैभन्दा बढी दुखित भयो ।

‘केपी ओलीको विरुद्धको प्रस्ताव अनुचित र अन्यायपूर्ण छ’ भनेर आफ्नो पक्षका भनिएका नेताहरुसँग नै पैठाजोरी खेल्ने तमाम असल नेता कार्यकर्ताहरु सवै भन्दा लज्जित र पीडित भएका छन् । केपी ओलीको इतिहास देखि आजसम्मलाइ हेरेर उहाँको व्यक्तित्वको तारिफ गर्ने आम जनताको पंक्ति मर्महात भएको छ ।

त्यसैले भन्नै पर्ने भयो प्रधानमन्त्रीज्यू तपाईंबाट ठुलो घात भयो । अझै पनि सच्चिनुस् । आफ्ना अलोकतान्त्रिक असंवैधानिक कदम फिर्ता लिनुस् । कमसेकम आफ्नै इतिहास प्रति न्याय गर्नुस ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com