नेपाली सडकमा भारतीय सवारीको रजाइँ, सरोकारवाला मौन


प्रकाशित मिति : पुस ५, २०७७ आईतबार

सर्लाहीको पश्चिमी क्षेत्रमा पछिल्लो समयमा भारतीय नम्बरका सवारी साधनको प्रयोग व्यापकरूपमा बढेको छ । भारतको विहार राज्यसँग सिमाना जोडिएका प्रदेश नं २ का अधिकांश जिल्लामा खुलेआम भारतीय सवारी साधनको प्रयोग बढेको छ ।

भारतीय सवारी साधनले भन्सारसमेत नबुझाई नेपाली सडकमा खुलेआम बर्चश्व जमाइरहेको पाइएको छ । भारतीय सवारी साधन सडकमा बर्चश्व जमाइरहेको भए पनि सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीय सर्वसाधारणको आरोप छ । जिल्ला भन्सार कार्यालय सिमानामै रहेको भएको भए पनि भन्सारका कर्मचारी असुलीमा व्यस्त रहेका कारण पनि भारतीय सवारी साधनको दादागिरी चलेको स्थानीय व्यापारी राजीव सिंहले बताए । सिमानामा २४सै घण्टा रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि यस्ता सवारी साधनलाई ध्यान नदिँदा नेपाल प्रवेश गरेपछि भारतीय सवारी साधनको दादागिरी नेपाली बजारमा बढ्ने गरेको छ ।

बिना रोकटोक नेपाल प्रवेश गरेका भारतीय सवारीको प्रयोगले नेपाली भूमिमा आपराधिक गतिविधि हुनुका साथै तीव्रगतिमा सञ्चालन हुने यस्ता सवारी साधनका कारण दुर्घटनासमेत बढेको र बेथिति बढ्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक केदारमान दोङले बताए । भारतीय सवारी साधनको प्रयोग, आपराधिक गतिविधि र दुर्घटनाका साथै बेथितिको विषयमा जिल्लामा सुरक्षा संयन्त्रको छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

जिल्ला सुरक्षा संयन्त्रको छलफलबाट जिल्लामा सञ्चालन हुने भारतीय सवारी साधनको तथ्याङ्क सङ्कलन, भारतीय सवारी साधनको प्रयोगलाई नियमन गर्नेलगायतका काम हुने सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । जिल्लामा शान्ति सुरक्षा, आपराधिक गतिविधि र दुर्घटनाका साथै बेथितिको अन्त्यका लागि अनधिकृत रूपमा सञ्चालित सवारीको नियमन गरिने प्रजिअ पौडेलले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारको आर्थिक प्रतिवेदनमा भारतीय सवारी साधनलाई आवश्यक भन्सार तिरेपछि एक महिनाका लागि नेपालभर सञ्चालन गर्न पाउने व्यवस्था भए पनि प्रदेश नं २ का अधिकांश नागरिकको घरघरमै भारतीय नम्बरका सवारी साधन रहेको पाइएको छ । प्रदेश नं २ का अधिकांश नागरिकको छिमेकी देश भारतसँग कुनै न कुनै रूपमा सम्बन्ध रहेको र उतैबाट खरिद गरी नेपालमा ल्याएर निर्वाधरूपमा सञ्चालन गर्ने गरिएको छ ।

भारतबाट भित्रिने भारतीय सवारी साधनको भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयसँग कुनै तथ्याङ्क वा विवरण नहुँदा दुर्घटना हुँदासमेत भारतीय सवारी साधन फरार हुने र प्रहरीले फेला पार्न नसक्ने अवस्था रहेको भन्दै जिल्लावासीले गुनासो गर्ने गरेका छन् । यसरी नियमविपरीत सञ्चालित भारतीय सवारी साधनलाई कानूनबमोजिम कारवाही हुनुपर्ने स्थानीयवासीको माग छ ।

देश सङ्घीयतामा गइसकेपछि प्रदेश सरकारका मन्त्री, सांसद, नेता तथा स्थानीय निकायका प्रमुखले समेत भारतीय सवारी साधनको प्रयोग गर्ने गरेका कारण पनि यस्ता साधनलाई कारवाही गर्न समस्या हुने गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए ।

भारतीय मोटरसाइकल, अटोरिक्सा, कार, जिप, ट्र्याक्टर तथा ट्रक नेपाली बजारमा निर्वाधरूपमा सञ्चालनमा छन् । विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सीमा नाका बन्द हुँदा केही भारतीय सवारीले भन्सार तिर्न चाहँदा पनि भन्सार तिर्न नसक्ने अवस्था सिर्जना भएको चालक सुरेन्द्र पटेलले बताए ।

भारतीय कार, जिप, बस र ट्रकको प्रयोग गर्दा दैनिक रु ४५३, मोटरसाइकल रु १०० र तीनपाङ्ग्रे सवारी साधनको रु ३०० भन्सार तिर्नुपर्ने भन्सार कार्यालय मलङ्गवाका कार्यालय प्रमुख राजेशकुमार दत्तले बताए । उनका अनुसार ट्र्याक्टरको रु २०० र टेलरसमेत जडान भएको खण्डमा रु ४०० राजश्व तिर्नुपर्छ ।

कानूनअनुसार राजश्व तिरेर नेपाल प्रवेश गरेका भारतीय सवारी साधन एक महिनाभन्दा बढी नेपालमा रहन नपाउने व्यवस्था भए पनि वर्षौँदेखि नेपालमै रहने गरेको पाइएको छ । राजश्व तिरेर नेपाल प्रवेश गरेका भारतीय सवारी साधन ३५ दिनसम्म भन्सार नतिरी बसेको पाइएमा उक्त सवारी साधन जफत हुने कानूनी व्यवस्था रहेको भन्सार कार्यालयको भनाइ छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com