अमेरिकामा धनीहरु भ्याक्सिनका लागि मोटो रकम तिर्न तयार, तर लाइन मिच्न नपाउने
प्रकाशित मिति : पुस ४, २०७७ शनिबार
अमेरिकामा कैयन डाक्टरहरुले धनी व्यक्तिहरुबाट कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्न मोटो रकमको अफर आएको बताएका छन् । उनीहरुले राज्यहरुले तय गरेको प्राथमिकता मिचेर छिटो भ्याक्सिन प्राप्त गर्नका लागि मोटो रकमको अफर गरेको जनाइएको छ ।
साउथ क्यारोलिनामा केही डाक्टरहरुले आफ्ना धनी सेवाग्राहीहरुबाट छिटो भ्याक्सिन पाएमा अस्पताललाई डोनेशन गर्ने वा परोपकारी काममा रकम खर्च गर्ने भन्दै फोनकलहरु आएको बताएका छन् । लस एन्जलसको सेडर्स साइनाई मेडिकल सेन्टरमा कार्यरत डाक्टर जेफ टोलले एकजना सेवाग्राहीले २५ हजार डलर तिर्न तयार रहेको भन्दै फोन गरेको बताएका छन् ।
तर डाक्टरले उनीहरुलाई प्राथमिकताको आधारमा पालो कुर्नैपर्ने र मोटो रकम प्रदान गर्दैमा भ्याक्सिन प्राप्त गर्न नसक्ने बताएको जानकारी दिएका छन् । अरुबेला सामान्यतया कुनैपनि कुराको कुर्न नपर्ने धनी र शक्तिशाली यी व्यक्तिलाई पर्खनुपर्ने कुरा बताउन निकै गाह्रो हुने उनले बताए ।
बेभर्ली हिल्सका डाक्टर डेभिड नाजारियनले पनि आफूलाई त्यस्ता हाइप्रोफाइल सेवाग्राहीहरुका फोनकलहरु आएको बताएका छन् । उनीहरुले यदि भ्याक्सिन पाएमा जति रकम पनि तिर्न तयार रहेको बताएको डाक्टर नाजारियनको भनाई छ ।
त्यस्तै अन्य डाक्टरहरुले पनि हाइप्रोफाइल सेवाग्राहीबाट भ्याक्सिनका लागि सयौं फोनकलहरु आएको बताएका छन् । तर उनीहरुले पनि भ्याक्सिनका लागि नियम अनुशार पालो पर्खनुपर्ने भएको छ ।
अमेरिकामा अघिल्लो शुक्रबार फाइजरको भ्याक्सिन स्वीकृत भए लगत्तै २९ लाख डोज भ्याक्सिन ५० वटा राज्यहरु र अमेरिकी भूभागमा पठाइएको छ । विभिन्न ३७ सय भन्दा धेरै स्थानमा फाइजरको भ्याक्सिन डेलिभरी गरिसकिएको छ ।
यो साता मोडेर्ना भ्याक्सिनले समेत स्वीकृति पाइसकेकाले मोडेर्ना र फाइजरका थप ७९ लाख डोज डेलिभरी गरिने सरकारी अधिकारीहरुले जनाएका छन् । मोडेर्ना भ्याक्सिनको पहिलो डोज सोमबारदेखि लगाउन सुरु गरिने भएको छ भने वितरण सुरु भइसकेको छ ।
डिसेम्बरभरमा २ करोड डोज भ्याक्सिन डेलिभरी गर्ने योजना बनाइएको छ भने मार्चसम्म ३ सय मिलियन डोज भ्याक्सिन वितरणको योजना रहेको छ । अमेरिकी सरकारले मोडेर्ना र फाइजरको भ्याक्सिनका ३ सय मिलियन डोज सुरक्षित गरिसकेकाले यो अमेरिकाको १६ बर्षमाथिको ५० प्रतिशत बढी जनसंख्याको लागि प्रयाप्त हुनेछ ।
शुक्रबार स्वीकृत गरिएको मोडेर्ना भ्याक्सिन पनि फाइजरको भ्याक्सिन जस्तै ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको छ । मोडेर्ना भ्याक्सिनका पनि दुई डोज दिनुपर्नेछ । २८ दिनको अन्तरमा दुई डोज दिनुपर्ने जनाइएको छ । तर यो भ्याक्सिन बुढाबुढीमा भने कम प्रभावकारी देखिएको एफडीएले निष्कर्ष निकालेको छ । १८ बर्षभन्दा माथिका र ६५ बर्षभन्दा मुनीकाहरुमा भ्याक्सिनको प्रभावकारिता ९६ प्रतिशत देखिएको छ । तर ६५ बर्ष माथिकाहरुमा ८६ प्रतिशतमात्र प्रभावकारी देखिएको छ ।
फाइजरको भ्याक्सिन १६ बर्षभन्दा माथिकालाई प्रयोगका लागि स्वीकृत गरिएकाले सोमबारदेखि वितरण सुरु भएको हो । तर फाइजरको भ्याक्सिन माइनस ७६ डिग्री फरेनहाइट र त्योभन्दा चिसोमा राख्नुपर्छ । मोडेर्नाको भ्याक्सिन एकमहिनाभन्दा लामो दीर्घकालिन भण्डारणका लागि माइनस ४ डिग्री फरेनहाइट भन्दा चिसोमा राखे पुग्छ । त्यसैले भण्डारण र वितरणका लागि मोडेर्ना भ्याक्सिन फाइजरको तुलनामा सहज हुनेछ ।
मोडेर्नाको भ्याक्सिन तत्काल प्रयोग गर्नेभएमा ३६ देखि ४६ डिग्री फरेनहाइटको बीचमा राखे पुग्छ । जुन घरको सामान्य फ्रिजको तापक्रम हो । यो तापक्रममा एकमहिनासम्म राख्न सकिने जनाइएको छ ।
फाइजरको कोभिड १९ भ्याक्सिन अमेरिकामा प्रयोगको स्वीकृति पाउने पहिलो भ्याक्सिन हो भने मोडेर्ना दोश्रो भ्याक्सिन हो ।
फाइजरको भ्याक्सिन एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।
फाइजर र मोडेर्नाका खोपले आनुवंशिक कोडहरूलाई प्रयोग गरेर रोग प्रतिरोधी प्रतिक्रिया निम्त्याउँछन् र यसलाई एमआरएनए खोप भनिन्छ। यसले मानव कोषमा फेरबदल गर्दैन बरू शरिरलाई कोभिड विरुद्ध प्रतिरोधी हुन तयार रहने हिसाबको निर्देशन दिन्छ।
मोडेर्नाले जनवरीभित्र एकसय मिलियन मिलियन डोज प्रदान गर्नेछ । भने मार्चभित्र एकसय मिलियन डोज प्रदान गर्नेछ । अमेरिकासँग मोडेर्नाबाट अरु ३ सय मिलियन डोज भ्याक्सिन किन्ने विकल्प रहेको छ । थप ३ सय मिलियन डोज किनेको खण्डमा १६ बर्षमाथिको अमेरिकाको पूरै जनसंख्याका लागि लगभग पुग्नेछ ।