अमेरिकी उपराष्ट्रपति माइक पेन्सले लगाए भ्याक्सिन: ‘महामारी अन्त्यको सुरुवात’


प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले आज विहान टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्दै कोरोनाबिरुद्धको भ्याक्सिन लिएका छन् । सार्वजनिक रुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लिने उनी पहिलो उच्च सरकारी अधिकारी हुन् । पेन्सकी पत्नी करेन पेन्स र सर्जन जनरल जेरोम आदम्सले पनि भ्याक्सिन लगाएका छन् ।

आफूले भ्याक्सिन लगाउँदा पत्तै नपाएको बताउँदै पेन्सले भ्याक्सिन मेडिकल चमत्कार भएको बताएका छन् । इतिहासमा यो साता कोरोना महामारीको अन्त्यको सुरुवात भएको साताका रुपमा रहने पेन्सले बताए । पेन्सले अमेरिकनहरुलाई सामाजिक दुरी कायम गर्न, हात धुन र मास्कको प्रयोग गर्न प्रोत्साहित गरे ।

इसेनहावर कार्यकारी अफिसको भवनमा भ्याक्सिन लगाउने कार्यक्रम रहेको थियो । जहाँ पेन्सको कार्यालय रहेको छ ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले भने आगामी साता भ्याक्सिन लगाउने तयारी गरिहेका छन् ।

आफू लाइनमा अगाडि जान नचाहेको भएतापनि अमेरिकनलाई भ्याक्सिन लिनु सुरक्षित रहेको सन्देश दिनका लागि आगामी साता भ्याक्सिन लिन लागेको बाइडेनले बताएका छन् । बाइडेनले भ्याक्सिन लगाएको भिडियो पनि सार्वजनिक रुपमा देखाइने भएको छ ।

यस अगाडि अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई यथाशीघ्र भ्याक्सिन लगाउनुपर्ने बताएका थिए । ह्वाइट हाउसमा प्रवेशको समयमा कुनै समस्या उत्पन्न हुन नदिनका लागि यसो गर्नु आवश्यक रहेको फाउचीले बताएका थिए ।

गत शुक्रबार कोरोनाबिरुद्धको फाइजर र बायोएनटेकले बनाएको भ्याक्सिन प्रभावकारी र सुरक्षित ठहर गर्दै प्रयोगका लागि अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले अनुमति दिएको थियो । त्यसपछि सोमबारबाट अमेरिकामा भ्याक्सिन लगाउन सुरु गरिएको छ ।

फाइजरको भ्याक्सिन १६ बर्षभन्दा माथिकालाई प्रयोगका लागि स्वीकृत गरिएको हो । फाइजरको भ्याक्सिन माइनस ७६ डिग्री फरेनहाइट र त्योभन्दा चिसोमा राख्नुपर्छ ।

फाइजरको कोभिड १९ भ्याक्सिन अमेरिकामा प्रयोगको स्वीकृति पाउने पहिलो भ्याक्सिन हो । अमेरिकाले आगामी मार्चभित्र १ सय मिलियनलाई भ्याक्सिन लगाउने योजना बनाएको छ ।

फाइजरको भ्याक्सिन एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।

फाइजर र बायोएनटेकको खोपले आनुवंशिक कोडहरूलाई प्रयोग गरेर रोग प्रतिरोधी प्रतिक्रिया निम्त्याउँछन् र यसलाई एमआरएनए खोप भनिन्छ। यसले मानव कोषमा फेरबदल गर्दैन बरू शरिरलाई कोभिड विरुद्ध प्रतिरोधी हुन तयार रहने हिसाबको निर्देशन दिन्छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com