कोरोनाबिरुद्धका फाइजर र मोडेर्ना भ्याक्सिनबीचका ५ फरक
प्रकाशित मिति : पुस २, २०७७ बिहीबार
अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्ध अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर बनाएको भ्याक्सिन र अमेरिकन कम्पनी मोडेर्नाले बनाएको भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको छ ।
यी दुई भ्याक्सिनमा केही फरकहरु देखिएको छ । हामीले थाहा पाएका त्यस्ता केही फरकहरुलाई सुचीकृत गरेका छौं ।
प्रभावकारिता
दुबै भ्याक्सिनको समग्र प्रभावकारिता ९५ प्रतिशत रहेको निष्कर्ष निकालिएको छ । तर १८ बर्षभन्दा माथिका र ६५ बर्षभन्दा मुनीकाहरुमा मोडेर्ना भ्याक्सिनको प्रभावकारिता ९६ प्रतिशत देखिएको छ भने ६५ बर्ष माथिकाहरुमा ८६ प्रतिशतमात्र प्रभावकारी देखिएको छ ।
बनावट
फाइजर र मोडेर्ना दुबै भ्याक्सिनले आनुवंशिक कोडहरूलाई प्रयोग गरेर रोग प्रतिरोधी प्रतिक्रिया निम्त्याउँछन् र यसलाई एमआरएनए खोप भनिन्छ। यसले मानव कोषमा फेरबदल गर्दैन बरू शरिरलाई कोभिड विरुद्ध प्रतिरोधी हुन तयार रहने हिसाबको निर्देशन दिन्छ।
दुबै भ्याक्सिन एमआरएनएमा भरपर्ने भएपनि यसका बनावट भने केही फरक छन् । एमआरएनएमा भर पर्ने भएतापनि फरकफरक खालका एमआरएनए मोलिक्युलसमा भर पर्छन् । त्यसैले दुबै भ्याक्सिनको भण्डारण र प्रयोगका तरिकामा फरक भएको हो ।
भण्डारण
फाइजर जस्तै मोडेर्ना भ्याक्सिनलाई अत्यन्तै चिसोमा राख्न आवश्यक हुँदैन । फाइजरको भ्याक्सिन झण्डै माइनस ७५ डिग्री सेल्सियसमा राख्नुपर्छ । फाइजरको भ्याक्सिन उक्त तापक्रमबाट निकालेपछि सामान्य फ्रिजमा ५ दिनसम्म राखेर प्रयोग गर्न सकिन्छ ।
मोडेर्नाको भ्याक्सिन माइनस २० डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । साथै उक्त तापक्रमबाट निकालेपछि १ महिनासम्म सामान्य फ्रिजमा राखेर प्रयोग गर्न सकिन्छ ।
भण्डारणको हिसाबले फाइजरको तुलनामा मोडेर्ना भ्याक्सिन सबै स्थानबाट सहजै वितरण गर्न सकिन्छ ।
डोज
मोडेर्ना र फाइजर दुबै भ्याक्सिन दुई डोज दिनुपर्छ । फाइजरको भ्याक्सिनका दुईवटा डोजहरु २१ दिनको अन्तरमा दिनुपर्छ । एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।
तर मोडेर्नाका डोजहरु २८ दिनको अन्तरमा दिनुपर्छ । फाइजरको हरेक डोज ३० माइक्रोग्राम मात्र रहेको छ भने मोडेर्नाको हरेक डोज १ सय माइक्रोग्राम रहेको छ ।
उमेर
फाइजरको भ्याक्सिन १६ बर्षदेखि माथिका व्यक्तिलाई लगाउन स्वीकृत गरिएको छ । मोडेर्ना भ्याक्सिन भने १८ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउनमात्र स्वीकृति दिएको छ ।