पदमार्ग बनाउन वनको बास


प्रकाशित मिति : पुस २, २०७७ बिहीबार

पुसको ठिही । काठ, स्याउला र खरले बारबुर पारेको टहरो । घना वन । कठिन भूगोल । यस्तैमा गुज्रदैछन्, डिलबहादुर घर्तीका रात । हुन त कहाँ मिल्छ र मजदुरलाई वातानूकुलित कोठा । न मिल्छ ऐसको समय ।

सङ्घर्ष गर्नु, अभावसँग जुध्नु नै मजदुर हुनु हो । बडिगाड गाउँपालिका, फोर्साका घर्तीसहित १० मजदुर अहिले गलकोट नगरपालिका–७ मल्मको ठूलासम्ममा श्रम र पसिना खर्चदैछन् । पर्यटकीय लेक घुम्टे जोड्ने पदमार्ग बनाउन उनीहरु मल्म आएका हुन् ।

बस्तीदेखि डेढ घण्टाको पैदलदूरीमा पर्ने ठूलासम्मको वनमा मजदुरको अस्थायी बास छ । टहरोको भुइँमा सबै लहरै सुत्छन् । दिनभर काममा खट्छन् । ढुङ्गाको चुलो छ । खाना पकाउन चाहिने सर्जाम पहिल्यै जुटाएका छन् । ओढ्न, ओछ्याउन कपडा छन् ।

सुत्दा चिसो नलागोस् भनेर भुइँमा खर बिछ्याइएको घर्तीले बताए । रातिमा न्यानो लिन टहरोको वरिपरि आगो फुक्ने गरिएको छ । दिउँसो पारिलो घाममा काम गर्दा भने जाडोको खासै महसुस नहुने घर्तीको भनाइ छ । पदमार्ग निर्माणस्थल गाउँदेखि टाढा भएकाले उतै बस्ने प्रबन्ध मिलाइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘दैनिक आउजाउ गर्न गाह्रो हुने र समय पनि खेर जाने देखिएपछि मजदुरले उतै बसेर काम गरिरहेका छन्’, उनले भने, ‘जाडोबाट बच्न टहरोलाई न्यानो पार्ने उपाय गरिएको छ, हावा नछिरोस् भनेर हामीले पाल पनि दिएका छौँ ।’ अध्यक्ष थापाका अनुसार पानीसमेत तल गाउँदेखि नै बोक्नुपर्ने अवस्था छ ।

मजदुरले आलापालो गरेर पानी खेप्छन् । जटिल भूबनोटमा जोखिम मोलेरै भए पनि पदमार्ग निर्माणलाई गति दिइएको उनको भनाइ छ । तीन वर्षअघि निर्माण थालिएको भीमसेन ढुङ्गा–घुम्टे पदमार्गको दोस्रोखण्डमा अहिले काम भइरहेको हो । ठूलासम्मदेखि गल्लाको घाँटीसम्म जोड्ने एक किमी पदमार्गका लागि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु १० लाख बजेट दिएको थियो ।

‘मङ्सिर २० गतेदेखि निर्माण शुरु भएको हो, दुई महिनाको सम्झौता अवधि छ’, अध्यक्ष थापाले भने, ‘पदमार्गसँगै १०० मिटरमा रेलिङ राख्ने काम हुन्छ ।’ ठाउँठाउँमा भीर र अप्ठेरो ठाउँ रहेकाले रेलिङ राख्नुपरेको हो । भौगोलिक कठिनाइका कारण पदमार्ग निर्माणले लामो समय लिने देखिएको छ । निर्माणका क्षेत्रमा नाम कहलिएका फोर्साका मजदुरले दैनिक रु एक हजार २०० ज्यालामा काम गरिरहेका छन् ।

उनीहरुलाई स्थानीय मजदुरले पनि काममा सघाउँछन् । समितिले कामको नियमित अनुगमन गर्छ । मजदुरलाई आवश्यक सहयोग उपलब्ध गराउँछ । थप दुई किमी जति पदमार्ग बनाए उक्त खण्ड घुम्टेमा जोडिने छ । त्यसका लागि रु ४० लाख जति बजेट चाहिने समितिले जनाएको छ ।

यसअघि राम्चेढुङ्गादेखि ठूलासम्म पदमार्ग बनाउँदा पनि प्रदेश सरकारबाट रु १० लाख र सङ्घ सरकारको पर्यटन मन्त्रालयमार्फत रु १० लाख बजेट आएको थियो । सङ्घ सरकारको बजेटबाट अघिल्लो वर्ष ७०० मिटर पदमार्ग र ३०० मिटरमा रेलिङ राखिएको थियो । पदमार्गका लागि गलकोट नगरपालिका र वडाले भने हालसम्म कुनै सहयोग नगरेको समितिको गुनासो छ ।

‘धेरैपटक निवेदन दियौँ, बजेट माग गर्र्यौँ तर स्थानीय सरकारबाटै हाम्रो सुनुवाइ भएन’, अध्यक्ष थापाले भने । दुई खण्डमा बाँडिएको भीमसेन ढुङ्गा–घुम्टे पदमार्गको दूरी झण्डै १० किमी छ । पहिलो भीमसेन ढुङ्गादेखि राम्चेढुङ्गासम्म छ । राम्चेढुङ्गादेखि तुलसी मैरो हुँदै घुम्टेसम्म दोस्रो खण्ड पर्छ । पहिलो वर्ष दुवै खण्डमा रु १०÷१० लाख बराबरको काम भएको थियो ।

गत आवमा भने दोस्रो खण्डलाई मात्र बजेट आयो । यो वर्ष पनि सोही खण्डमा मात्र काम अघि बढेको छ । पहिलो खण्डमा भने आँगाखेतदेखि तल्लो सिरबारेसम्म जम्मा ५०० मिटर पदमार्ग निर्माण भएको छ । थप बजेट नआएपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन ।

पदमार्गमा रु एक करोड खर्च हुने अनुमान छ । निर्माणका क्रममा स्थानीयवासीले श्रमदानसमेत गर्ने गरेका छन् । पदमार्गमा स्थानीय सीप, प्रविधि र सामग्रीको प्रयोग गरिएको छ । पदमार्गले घुम्टेसहित आसपासका गन्तव्यस्थलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । अहिले बनिरहेको पदमार्गले घुम्टेसम्मको दूरी छोट्याउने गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए । पदमार्ग बनेपछि ग्रामीण पर्यटनको उत्थान र प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ ।

गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टे जिल्लाकै उदाउँदो पर्यटकीय गन्तव्यमा पर्छ । गण्डकी प्रदेशका १०० पर्यटकीय गन्तव्यको सूचीमा पनि घुम्टे समावेश छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान पर्यटकलाई घुम्टेले लोभ्याउने गर्छ ।

दश हजार ३९३ फिट उचाइमा अवस्थित घुम्टेको लेक प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक हिसाबले महत्वपूर्ण मानिन्छ । घुम्टेको चुचुरोमा सिद्ध र भैरवको मन्दिर छ । बर्सेनि वैशाखे पूर्णिमामा त्यहाँ ठूलो मेला लाग्छ । सिद्ध र भैरव मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

विगत आठ वर्षदेखि नयाँ वर्षको अवसर पारेर घुम्टेमा ‘गुराँस उत्सव’ पनि हुँदै आएको छ । प्राकृतिक सुन्दरता, हिमाली पृष्ठभूमिमा सूर्योदय, सूर्यास्त अवलोकन, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसको घनाजङ्गल आदि घुम्टेका सौन्दर्य हुन् ।

यसअघि गलकोट नगरपालिका–५ हरिचौर, १० पाण्डवखानीबाट घुम्टे जोड्ने पदमार्ग बनिसकेको छ । यस्तै ताराखोला गाउँपालिका–३ हिलबाट पनि सजिलै घुम्टे चढ्न सकिन्छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com