काउन्टरबाटै किनेर घरमा कोरोना परीक्षण गर्न मिल्ने ३० डलरको किट अमेरिकामा स्वीकृत


प्रकाशित मिति : पुस १, २०७७ बुधबार

अमेरिकामा खाद्य तथा औषधी प्रशासन एफडीएले काउन्टरबाटै किनेर घरमा कोरोना परीक्षण गर्न मिल्ने ३० डलरको किट प्रयोगका लागि स्वीकृत गरेको छ । यो किट किन्नका लागि कुनै प्रेस्क्रिप्सनको आवश्यकता पर्दैन भने अनलाइन वा फार्मेसीमा गएर काउन्टरबाटै सिधा किन्न सकिन्छ ।

यो प्रेस्क्रिप्सन नचाहिने अमेरिकामा स्वीकृत पहिलो कोरोना परीक्षण गर्ने किट हो । यो किटको प्रयोगपछि अब अमेरिकामा कोरोना परीक्षण गर्नका लागि नाकको स्वाब लिएर ल्याबमा पठाउन नपर्ने भएको छ ।

गत महिनापछि घरमै कोरोना परीक्षण गर्न मिल्ने एउटा किटलाई प्रयोगका लागि स्वीकृत गरिएको थियो । तर उक्त किटका लागि भने डाक्टरको प्रेस्क्रिप्सन आवश्यक थियो ।

नयाँ किट काउन्टरमा गएर किनेर ल्याएपछि नाकको स्वाब लिएर परीक्षण गरी २० मिनेटमा नै नतिजा पत्ता लगाउन सकिने भएको छ । तर सुरुमा यो किट फार्मेसीहरुमा सिमित संख्यामामात्र उपलब्ध हुने जनाइएको छ ।

अष्ट्रेलियन कम्पनी इलुमले आगामी महिना ३० लाख उत्पादन गर्ने जनाएको छ । किटमा नाकको स्वाबलिने सामाग्री, रसायनको घोल र परीक्षण गर्न पातो हुनेछ । उक्त परीक्षण डिजिटल तरिकाले स्मार्टफोनमा कनेक्ट गरेर नतिजा सहजै थाहा पाउन सकिनेछ ।

यो किटबाट परीक्षण गर्दा अरु परीक्षणहरु जस्तै थोरै मात्रामा गलत रिपोर्ट समेत आउनसक्ने एफडीएले जनाएको छ । नेगेटिभ नतिजा आएका तर लक्षण देखिएकाहरुलाई स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न सुझाव दिइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com