न्युयोर्कमा नुन छर्न र हिउँ सोहोर्न २ हजार ट्रक परिचालन, न्युजर्सीमा संकटकाल


प्रकाशित मिति : पुस १, २०७७ बुधबार

न्युयोर्क सिटीमा आज विगत १० बर्षकै डिसेम्बरको इतिहासमा सबैभन्दा भारी हिमपात हुँदैछ । आज बेलुका ६ बजेसम्म हिमपात सुरु भइसक्ने र १२ देखि १८ इन्चसम्म अर्थात् ३० देखि ४६ सेन्टिमिटरसम्म हिमपात हुने अनुमान गरिएको छ ।

सन् २०१० को डिसेम्बरमा न्युयोर्कको सेन्ट्रल पार्कमा २० दशमलव १ इन्च हिमपात भएको थियो । गतबर्षको चिसो मौषममा न्युयोर्कमा जम्मा ४ दशमलव ८ इन्चमात्र हिमपात भएको थियो ।

न्युयोर्क सिटीले न्युयोर्क सिटीमा नुन छर्नका लागि ७ सय वटा ट्रकहरु परिचालन गरिसकेको छ भने हिउँ पर्नासाथ हिउँ सोहोर्नका लागि १३ सय भन्दा धेरै ट्रकहरु परिचालन गर्ने जनाएको छ ।

कोरोना महामारीका कारण न्युयोर्कमा रेष्टुरेण्टहरुभित्र खानाखानमा प्रतिबन्ध लगाइएको छ । हिमपातका कारण आउटडोर डाइनिङ पनि बन्दको घोषणा गरिएको छ । बुधबार दिउसो २ बजेदेखि लागु हुनेगरी आउटडोर डाइनिङ बन्द गरिएको हो ।

न्युयोर्क सिटीमा बुधबार बेलुकादेखि सुरु भएको हिमपात बिहिबार दिउसो मध्यान्ह सम्म जारी हुने अनुमान गरिएको छ । प्रतिघण्टा तीन इन्चसम्म हिउँ पर्ने र हावा ५० माइल प्रतिघण्टाको दरले चल्ने अनुमान गरिएको छ ।

आज र भोलिका लागि वैकल्पिक साइड पार्किङ खारेज गरिएको छ तर पार्किङ मिटर भने चालु नै रहनेछन् । हिमपातका कारण सिटीको स्वास्थ्य र अस्पताल प्रणालीले संचालन गरेको कोरोनाभाइरस परीक्षण स्थलहरु पनि केही समयका लागि बन्द हुनेछन् । हिमपातको सबैभन्दा ठूलो प्रभाव राती १० बजेदेखि विहान ५ बजेसम्म पर्ने जनाइएको छ ।

सबैभन्दा बढी हिमपात भने पूर्वी पेन्सिलभेनिया र पश्चिमी न्युजर्सीमा २ फिटसम्म हुनसक्ने राष्ट्रिय मौषम सेवाले जनाएको छ ।

न्युजर्सीका गभर्नर फिल मर्फीले दिउसो २ बजेदेखि लागु हुने गरी राज्यभर संकटकालको घोषणा गरेका छन् । १ बजेदेखि नै अधिकांश सरकारी कार्यालयहरु बन्द हुनेछन् ।

खराब मौषमका कारण यातायातमा समस्या हुने र कतिपय स्थानमा विद्युत आपूर्तिमा अवरोध आउनसक्ने जनाइएको छ । न्युयोर्कका अतिरिक्त वासिंटनमा ४ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ । त्यस्तै फिलाडेल्फिया र बोस्टनमा ९ इन्चसम्म हिमपात हुने अनुमान छ ।

हिमपातका कारण हवाई यातायातसमेत प्रभावित हुने भएको छ । अमेरिकामा सन् २०१९ मा हिमआँधीका कारण १९ जनाको ज्यान गएको थियो ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com