अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत, संसद अधिवेशनको माग पनि फिर्ता गर्ने


प्रकाशित मिति : पुस १, २०७७ बुधबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । नेकपाभित्रको विवादकै कारण संवैधानिक परिषद् बैठक नै अवरुद्ध भएपछि ओलीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ ल्याएका थिए । सो अध्यादेश सरकारले सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन् ।

बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा स्रोतले जनाएको छ । अध्यादेश जारी गरेपछि नेकपाको आन्तरिक विवाद पुनः उत्कर्षमा पुगेको थियो । भने, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत चर्को विरोध गरेको थियो ।

यस्तै  प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएपछि संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति भएको छ । आज दिउँसो सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको थियो ।

यसैबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली पनि उपस्थित भएका छन् । बैठक बस्नुअघि ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । अध्यक्षद्वयबीच दोस्रो छलफलमा जुटेपछि प्रधानमन्त्री ओली बैठकमा बस्न राजी भएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com