१० बर्षको डिसेम्बरको इतिहासमा न्युयोर्क सिटीमा भोलि सबैभन्दा भारी हिमपात


प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार

न्युयोर्क सिटीमा विगत १० बर्षकै डिसेम्बरको इतिहासमा भोलि सबैभन्दा भारी हिमपात हुने मौषमविदहरुले चेतावनी दिएका छन् । बुधबार दिउसोदेखि हुने हिमपात १२ देखि १८ इन्चसम्म अर्थात् ३० देखि ४६ सेन्टिमिटरसम्म हुने अनुमान गरिएको छ । सबैभन्दा बढी हिमपात भने पूर्वी पेन्सिलभेनिया र पश्चिमी न्युजर्सीमा २ फिटसम्म हुनसक्ने राष्ट्रिय मौषम सेवाले जनाएको छ ।

खराब मौषमका कारण यातायातमा समस्या हुने र कतिपय स्थानमा विद्युत आपूर्तिमा अवरोध आउनसक्ने जनाइएको छ । न्युयोर्कका अतिरिक्त वासिंटनमा ४ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ । त्यस्तै फिलाडेल्फिया र बोस्टनमा ९ इन्चसम्म हिमपात हुने अनुमान छ ।

न्युयोर्क सिटीमा सन् २०१० यताकै डिसेम्बरको सबैभन्दा भारी हिमपात हुने भएपछि न्युयोर्कबासीहरु किनमेलमा लागेका छन् । सन् २०१० को डिसेम्बरमा न्युयोर्कको सेन्ट्रल पार्कमा २० दशमलव १ इन्च हिमपात भएको थियो । गतबर्षको चिसो मौषममा न्युयोर्कमा जम्मा ४ दशमलव ८ इन्चमात्र हिमपात भएको थियो ।

हिमपातका कारण हवाई यातायातसमेत प्रभावित हुने भएको छ । बुधबार दिउसोदेखि हुने हिमपात बिहिबार समेत जारी रहनेछ । अमेरिकामा सन् २०१९ मा हिमआँधीका कारण १९ जनाको ज्यान गएको थियो ।

कोरोना महामारीका कारण न्युयोर्कमा रेष्टुरेण्टहरुभित्र खानाखानमा प्रतिबन्ध लगाइएको छ । हिमपातका कारण आउटडोर डाइनिङ पनि बन्द गरिने भएको छ । बुधबार दिउसो २ बजेदेखि लागु हुनेगरी आउटडोर डाइनिङ बन्द गरिएको हो ।

न्युयोर्क सिटीमा बुधबार बेलुका ५ बजेदेखि सुरु भएको हिमपात बिहिबार दिउसो मध्यान्ह सम्म जारी हुने अनुमान गरिएको छ । प्रतिघण्टा तीन इन्चसम्म हिउँ पर्ने र हावा ५० माइल प्रतिघण्टाको दरले चल्ने अनुमान गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com