अमेरिका निवासी पत्रकार बिष्णुहरि घिमिरे भेन्टिलेटरमा, पत्रकारहरुबाट स्वास्थ्यलाभको कामना


प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार

अमेरिका निवासी नेपाली पत्रकार बिष्णुहरि घिमिरे सिकिस्त बिरामी हुनुभएको छ । घिमिरेलाई तीनदिन अगाडि पेन्सिलभेनिया ल्यानकास्टारमा रहेको युपीएमसी अस्पतालमा भर्ना गरिएको थियो ।

फोक्सो र मस्तिष्कमा संक्रमण देखिएपछि घिमिरेको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक श्रोतले जनाएको छ । आज बेलुका उहाँलाई थप उपचारका लागि हर्सी मेडिकल सेन्टर पेन्सिलभेनियामा ट्रान्सफर गरिएको छ ।

नेपाल अमेरिका पत्रकार संघका पूर्व क्षेत्रीय संयोजक समेत रहेका घिमिरेको अमेरिकामा रहेका नेपाली पत्रकारहरुले स्वास्थ्यलाभको कामना गरिरहेका छन् । नेपाल अमेरिका पत्रकार संघका क्षेत्रीय संयोजक कल्पना घिमिरेले खसोखाससँग कुराकानी गर्दै पत्रकार बिष्णुहरि घिमिरेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

त्यस्तै न्युयोर्क निवासी पत्रकार दिवाकर बागचन्दले पनि पत्रकार घिमिरेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । लेन्कास्टर बस्दै आउनुभएका पत्रकार घिमिरेको सघन उपचार कक्षमा उपचार भइरहेको जानकारी दिदै बागचन्दले शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

त्यस्तै नेपाल अमेरिका पत्रकार संघका महासचिव किरण मरहठ्ठाले पनि घिमिरेको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । नेपालमा नेपाल वान टेलिभिजन र कान्तिपुर टेलिभिजनका खेल पत्रकार घिमिरे केही बर्ष अगाडि अमेरिका आउनुभएको हो ।

नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाले पनि पत्रकार घिमिरेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

खसोखास परिवार घिमिरेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com