७४ बर्षकी हजुरआमाले नातिनीसँगै गरिन् स्नातक


प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार

कलेजको डिप्लोमा लिनका लागि कहिले पनि ढिलो हुँदैन । अमेरिकामा ७४ बर्षकी हजुरआमा प्याट ओर्मोण्ड त्यसकी उदाहरण हुन् । उनले एन्थ्रोपोलोजीमा स्नातक उत्तिर्ण गरेकी छिन् । पहिलोपटक कलेजमा भर्ना भएको ४२ बर्षपछि उनले यो डिग्री लिएकी हुन् । उनी पहिलोपटक १९७८ मा कलेज भर्ना भएकी थिइन् ।

उनले स्नातकको डिग्री लिएकै दिन उनकी २२ बर्षकी नातिनी मेलोडीले पनि टेनेसी युनिभर्सिटीबाट स्नातकको डिग्री लिएकी छिन् । नातिनीले भनेकी छिन् -‘मलाई थाहा थियो म ग्रयाजुएट हुन गइरहेकी छु । तर एकसाथ हजुरआमासँगै हुँला भनेर सोंचेकी थिइन ।’

प्याट यसै महिना ७५ बर्षमा लागेकी छिन् । उनले पहिलो कलेजको कक्षा एटलान्टाको केन्स स्टेट युनिभर्सिटीबाट लिएकी थिइन् । तर टेनेसी सरेपछि उनले कलेजको पढाई पनि छाड्नु परेको थियो । त्यसपछि उनले पढ्न पाइनन् ।

उनी कैयन दशक आफ्ना परिवारको रेखदेखमा लागिन् । बच्चाहरु हुर्काउनमा लागिन् । पछि उनी रिटायर्ड भइसकेपछि उनका परिवारका सदस्यहरुले उनलाई कलेजको ब्याचलर डिग्री लिनका लागि उत्साहित बनाइरहे ।

त्यसपछि उनी नातिनीसँगै युुनिभर्सिटी अफ टेनेसीमा भर्ना भइन् । अन्तत दुबैजना एकपटक ग्रयाजुएट हुन सफल भए । महामारीका बेलामा उनीहरुले अनलाइनबाट समेत कक्षा लिएका थिए । तर अनलाइनबाट कक्षा लिन आफूलाई निकै कठिन भएको र त्यो भन्दा कलेज नै गएर कक्षा लिन सहज हुने हजुरआमा प्याटले बताइन् ।

हजुरआमा प्याट र नातिनी मेलोडी नोभेम्बर २० मा ग्रयाजुएट भएका हुन् । महामारीका कारण सामाजिक दुरी कायम गरेर ग्रयाजुएट कार्यक्रम गरिएको थियो । कुनै दर्शकहरुलाई उपस्थीतिका लागि अनुमति दिइएको थिएन ।

अल्फाबेटको अर्डरमा नाम बोलाउँदा पहिले नातिनी मेलोडी र पछि हजुरआमा प्याटलाई बोलाइएको थियो । युनिभर्सिटीका चान्सलरले मेलोडी र उनकी हजुरआमा जस्ता ग्रयाजुएट पाउँदा आफूहरु निकै गौरवान्वीत भएको बताए ।

प्याटले भनिन् – ‘सिकाइ कहिले पनि समाप्त हुँदैन । यो कुरा म बच्चा हुँदा नै मेरो बुबाले मलाई बुझाउनुभएको थियो । तपाई जे सुकै काम गरेपनि सिकाई कहिले पनि अन्त्य हुँदैन ।’

प्याटले यत्तिकैमा आफ्नो पढाई रोक्ने योजना बनाएकी छैनन् । उनले इतिहास विषयमा ब्याचलर गर्नका लागि तयारी सुरु गरिसकेकी छिन् । नातिनी मेलोडी भने क्लीनिकल साइकोलोजीमा मास्टर्स गर्ने तयारीमा छिन् । तर त्यसका लागि कुनै हतार नभएको नातिनी मेलोडीले बताइन् – ‘मलाई हजुरआमाले त्यसका लागि प्रसस्त समय रहेको सिकाइसक्नुभएको छ ।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com