एफडीए सल्लाहकार प्यानलबाट अमेरिकामा फाइजर भ्याक्सिन प्रयोगको स्वीकृति, पक्षमा १७ मत


प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार

अमेरिकाको खाद्य तथा औषधी प्रशासनको भ्याक्सिनसम्बन्धि सल्लाहकार प्यानलले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन प्रयोगका सन्दर्भमा गरेको मतदानमा स्वीकृति दिने पक्षमा बहुमत आएको छ । सल्लाहकारहरुमध्ये १७ जनाले पक्षमा, ४ जनाले विपक्षमा मतदान गरेका छन् भने एकजना तटस्थ बसेका छन् । एफडीएले अन्तिम स्वीकृति दिएमा यो अमेरिकामा प्रयोगका लागि स्वीकृति पाउने कोरोनबिरुद्धको पहिलो भ्याक्सिन हुनेछ ।

यसअगाडि अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको विश्लेषण मंगलबार विहान सार्वजनिक गरेको थियो । एफडीएले फाइजरको भ्याक्सिनमा सुरक्षा सम्बन्धि कुनै जोखिम नरहेको विश्लेषण सार्वजनिक गरेको थियो ।

गम्भिर खालको साइड इफेक्टहरु दुर्लभ रहेको र सामान्य साइड इफेक्टहरुमात्र रहेको जनाइएको छ । भ्याक्सिनपछि सामान्य टाउको दुख्ने लगायतका साइड इफेक्ट भने हुनसक्ने जनाइएको छ ।

भ्याक्सिनको ९५ प्रतिशत प्रभावकारितालाई एफडीएले सुनिश्चित गरेको छ । भ्याक्सिनका दुईवटा डोजहरु दिनुपर्ने र २१ दिनको अन्तरमा दुईवटा डोज प्रदान गरिने भएको छ । एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।

अमेरिकाले फाइजरका एकसय मिलियन डोजहरु बुक गरेको छ, जुन ५० मिलियन जनसंख्यालाई लगाउन प्रयाप्त हुनेछ ।

फाइजर र बायोएनटेकको खोपले आनुवंशिक कोडुहरूलाई प्रयोग गरेर रोग प्रतिरोधी प्रतिक्रिया निम्त्याउँछन् र यसलाई एमआरएनए खोप भनिन्छ। यसले मानव कोषमा फेरबदल गर्दैन बरू शरिरलाई कोभिड विरुद्ध प्रतिरोधी हुन तयार रहने हिसाबको निर्देशन दिन्छ।

खोपका कारण रोग लाग्दैन। बरु तोकिए बमोजिमका सङ्क्रमण पहिचान गर्न र त्यससँग जुध्न उनीहरूले हाम्रो शरिरको रोग प्रतिरोधी प्रणालीलाई सिकाउँछन्।

केही व्यक्तिहरूलाई खोप लगाएपछि मांसपेशी दुख्ने वा ज्वरो आउने जस्ता मध्यम खालका लक्षण देखिएको जनाइएको छ । यो रोग नभइ खोपका कारण शरिरमा उत्पन्न प्रतिक्रिया हो। खोपका कारण अरू एलर्जीहरू देखा पर्नु एकदमै दुर्लभ हो।

मोडेर्नाले उत्पादन गरेको भ्याक्सिन प्रयोगको स्वीकृतिका लागि पनि आवेदन दिइएको छ । मोडेर्नाको भ्याक्सिन डिसेम्बरको तेश्रो साता स्वीकृत हुने अपेक्षा गरिएको छ । मोडेर्ना भ्याक्सिन फाइजरको तुलनामा भण्डारण र वितरणमा सहज हुने जनाइएको छ ।

यसैबीच कोरोनाबिरुद्ध फाइजर भ्याक्सिन आम प्रयोगका लागि क्यानडाले पनि स्वीकृत गरिएको छ । बेलायत र बहराइनमा फाइजरको भ्याक्सिनको प्रयोगका लागि स्वीकृति दिए लगत्तै क्यानडाले पनि स्वीकृत गरेको थियो ।

भ्याक्सिनले स्वीकृति पाएपछि अब क्यानडामा अर्कोसातादेखि भ्याक्सिन वितरण गरिने अपेक्षा गरिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टु्रडोले भ्याक्सिनको स्वीकृतिलाई राम्रो समाचार भन्दै ट्वीट गरेका छन् । कोराना महामारीका कारण क्यानडामा झण्डै १३ हजारको ज्यान गएको छ ।

क्यानडाले यो महिना झण्डै साढे २ लाख डोजहरु प्राप्त गर्ने भएको छ । क्यानडाले बेल्जियमबाट युपीएसमार्फत भ्याक्सिनका डोजहरु प्राप्त गर्ने भएको छ । भ्याक्सिन शुक्रबार आइपुग्ने छ । सोमबारसम्म ३० हजार डोज आइपुग्ने र अरु बाँकी दिनमा आउने जनाइएको छ ।

क्यानडामा अहिलेका लागि १६ बर्ष र त्योभन्दा माथिका व्यक्तिलाईमात्र भ्याक्सिन दिइने भएको छ । भ्याक्सिन निर्माण कम्पनीहरुले क्यानडामा सन् २०२१ भरमा कम्तीमा २० मिलियन र बढीमा ७६ मिलियन डोज भ्याक्सिन सप्लाई गर्ने जनाएका छन् । क्यानडाको जनसंख्या झण्डै ३८ मिलियन रहेको छ । ७६ मिलियन भ्याक्सिन प्राप्त भएमा दुईडोज भ्याक्सिन लगाउन प्रयाप्त हुनेछ ।

बेलायतमा मंगलबारदेखि भ्याक्सिन वितरण सुरु गरिएको छ । ८१ बर्षका विलियम शेक्सपियर र ९१ बर्षकी मार्गरेट क्याननले सुरुमा भ्याक्सिन प्राप्त गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com