पहिले अमेरिकनलाई लगाएरमात्र अरुलाई भ्याक्सिन सहयोग गर्ने कार्यकारी आदेश जारी गर्दै ट्रम्प


प्रकाशित मिति : मंसिर २२, २०७७ सोमबार

अमेरिकी सरकारले विश्वका अरु देशलाई सहयोग गर्नु अगाडि सबै अमेरिकनलाई भ्याक्सिनको पहुच सुनिश्चित गर्नका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने भएका छन् । ट्रम्पले सबै अमेरिकनहरुलाई भ्याक्सिनको पहुच सुनिश्चित गरेरमात्र अमेरिकाले अन्य देशहरुलाई सहयोग गर्नसक्ने नीति कार्यान्वयनका लागि कार्यकारी आदेशमा हस्ताक्षर गर्न लागेका हुन् ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासनले डिसेम्बर १० मा फाइजरको भ्याक्सिनलाई स्वीकृति दिने तयारी गरेको छ भने डिसेम्बर १७ मा मोडेर्नाको भ्याक्सिनलाई स्वीकृति दिने तयारी गरेको छ । त्यो भन्दा अगाडि नै अमेरिकालाई प्राथमिकता सुनिश्चित गर्न ट्रम्पले कार्यकारी आदेशको तयारी गरेका हुन् ।

आगामी समरको सुरुवातसम्म सबै अमेरिकनले भ्याक्सिनमा पहुच कायम गर्ने अपेक्षा गरिएको छ । त्यसपछिमात्र अमेरिकाले विदेशमा भ्याक्सिन सम्बन्धि सहायता गर्नसक्ने पक्षमा ट्रम्प रहेका छन् ।

कोरोनाबिरुद्धको भ्याक्सिनमा सर्वसाधारणको विश्वास बढाउन पूर्व अमेरिकी राष्ट्रपतिहरु बिल क्लीन्टन, बराक ओबामा र जर्ज डब्ल्यु बुससँगै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले पनि कोरोनाबिरुद्धको भ्याक्सिन सार्वजनिक रुपमा लिने भएका छन् । उनीहरुले अमेरिकाको खाद्य तथा औषधी प्रशासनबाट स्वीकृति प्राप्त भएपछि सर्वधारणहरुको हिचकिचाहट कम गर्न आफैले भ्याक्सिन लिने घोषणा गरेका हुन् ।

डाक्टर फाउचीले भ्याक्सिन सुरक्षित भएको बताएपछि र एफडीएबाट स्वीकृत भएपछि आफूले सार्वजनिक रुपमा नै भ्याक्सिन लिन इच्छुक रहेको बाइडेनले बताए ।अमेरिकामा फाइजरको भ्याक्सिनले डिसेम्बर १० मा स्वीकृति पाउने अपेक्षा गरिएको छ भने त्यसको केही दिनमा नै भ्याक्सिन वितरण सुरु गरिनेछ ।

ओबामाले भ्याक्सिन लिएको भिडियो समेत टेलिभिजनबाट प्रशारण गरिने भएको छ । आफूले विज्ञानलाई विश्वास गर्ने ओबामाले बताएका छन् ।

त्यस्तै पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले पनि अमेरिकाका बरिष्ठ सुरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीलाई सम्पर्क गरेर सार्वजनिक रुपमा भिडियो नै खिच्नेगरी कोरोनाबिरुद्ध भ्याक्सिन लिने बताएका छन् । भ्याक्सिन सुरक्षित भएको प्रमाणि भएर एफडीएले स्वीकृति दिएपछि आफूले लिने उनको भनाई छ ।

त्यस्तै पूर्व अमेरिकी राष्ट्रपति बिल क्लीन्टनका प्रेस सेक्रेटरीले पनि भ्याक्सिन उपलब्ध हुनासाथ क्लीन्टनले लिने जानकारी दिएका छन् । सबै अमेरिकनलाई भ्याक्सिन लिनका लागि प्रोत्साहन गर्न क्लिन्टन पनि सार्वजनिक रुपमा नै भ्याक्सिन लिन तयार भएका छन् ।

केही दिन अगाडि अमेरिकन सीडीसीका भ्याक्सिन सल्लाहकारहरुले कोरोनाबिरुद्धको भ्याक्सिन पहिलो चरणमा कसलाई दिने भन्ने सन्दर्भमा मतदान गरेका छन् । १४ जनामध्ये १३ जनाले पहिलो चरणमा भ्याक्सिन स्वास्थ्यकर्मीहरु र आश्रममा दीर्घकालिन हेरचाहमा रहेकाहरुलाई प्रदान गर्नका लागि मतदान गरेका छन् ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासनले भ्याक्सिन प्रयोगको अनुमति प्रदान गर्नासाथ उनीहरुलाई भ्याक्सिन दिइने भएको छ । सल्लाहकार समितिले यी दुबै समुहलाई पहिलो चरणमा भ्याक्सिन दिनेमा सहमति जनाएको छ । आत्मनिर्भर भएर बाँच्न नसक्ने हेरचाह केन्द्रमा रहेकाहरुलाई प्राथमिकतामा राखिएको सीडीसीले जनाएको छ ।

६ प्रतिशत कोरोनाका केसहरु दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुमा रहेको र अमेरिकाभर ४० प्रतिशत मृत्यु उनीहरुको भएको सीडीसीले जनाएको छ । त्यस्तै साढे २ लाख भन्दा धेरै स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण भएको सीडीसीले जनाएको छ । जसमध्ये ८ सय ५८ जनाको मृत्यु भएको छ ।

डाक्टर हेलेन ट्यालबोटले भने पहिलो चरणमा दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुलाई दिन नहुने भन्दै मतदान गरेकी छिन् । त्यस्ता दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुमाथि भ्याक्सिनको परीक्षण नभएकाले उनीहरुलाई पहिलो चरणमा दिन नहुने उनको तर्क छ । तर उनले भ्याक्सिनले काम गर्ने र सुरक्षित हुने आशा व्यक्त गरेकी छिन् ।

अमेरिकन बायोटेक कम्पनी मोडेर्नाले सोमबार कोरोनाबिरुद्धको भ्याक्सिनको आम प्रयोगको अनुमतिका लागि अमेरिकाको खाद्य तथा औषधी प्रशासन समक्ष आवेदन दिएको थियो । कम्पनीले सोमबार अमेरिकाको साथै युरोपमा पनि प्रयोगको अनुमतिका लागि आवेदन दिएको छ ।

योसँगै मोडेर्ना प्रयोगको अनुमतिका लागि आवेदन दिने दोश्रो भ्याक्सिन कम्पनी भएको छ । यसअगाडि जर्मन कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिन बनाएको अमेरिकन कम्पनी फाइजरले खाद्य तथा औषधी प्रशासन समक्ष प्रयोगका लागि आवेदन दिइसकेको छ ।

मोडेर्नाले बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन कोरोना संक्रमणबाट सिकिस्त बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी देखिएको छ । यो भ्याक्सिन कोरोना संक्रमणबाट जोगाउन ९४ दशमलव १ प्रतिशत प्रभावकारी देखिएपनि सिकिस्त बिरामी हुनबाट जोगाउन भने शतप्रतिशत नै प्रभावकारी देखिएको छ ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासनमा भ्याक्सिन सल्लाहकार समितिका सदस्य डाक्टर पउल ओफिटले यी तथ्यांकहरु निकै उत्साहजनक भएको बताएका छन् । शनिबार राती भ्याक्सिनको प्रभावकारिताबारेका तथ्यांक हेर्दा आफू निकै भावुक भएको मोडेर्नाका प्रमुख मेडिकल अफिसर डाक्टर ताल ज्याक्सले बताए ।

भ्याक्सिनको परीक्षणमा सहभागीमध्ये १९४ जनालाई कोरोना संक्रमण भएकोमा तीमध्ये ११ जनाले पूर्ण वास्तविक भ्याक्सिन प्राप्त गरेका थिए । अरु १८५ जनाले भ्याक्सिनको सलाइनमात्र प्राप्त गरेका थिए ।

सिकिस्त भएका ३० जनाले वास्तविक भ्याक्सिन लिएका थिएनन्, केबल सलाइनमात्र लिएका थिए । एकजना सलाइनमात्र लिएकाको मृत्यु भएको थियो । तर वास्तविक भ्याक्सिन लिएकाहरु सामान्य र सिकिस्त संक्रमण हुनबाट जोगिएका थिए । भ्याक्सिनको प्रभावकारिता सबै जातजाती र उमेर समुहमा देखिएको छ । हिस्पानिक, एसियन, अश्वेत, अमेरिकन र बहुजातीयहरु परीक्षणमा सहभागी थिए ।

यसैबीच डिसेम्बरमा २ करोड अमेरिकनहरुले कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्नसक्ने अमेरिकी सरकारको भ्याक्सिन पहलमा संलग्न बरिष्ठ बैज्ञानिक मन्सेफ स्लाउइले बताएका छन् । अपरेशन र्याप स्पीडका प्रमुख सल्लाहकार समेत रहेका उनले सन् २०२० को अन्त्यसम्ममा २ करोडले भ्याक्सिन पाउनसक्ने बताएका हुन् ।

उनले डिसेम्बरमा २ करोड र त्यसपछि हरेक महिना साढे २ करोडदेखि ३ करोड अमेरिकनले भ्याक्सिन पाउनसक्ने बताए । फरबरीको अन्त्यसम्ममा अमेरिकामा रहेका ७ देखि ८ करोडले भ्याक्सिन पाउनसक्ने उनको भनाई छ । आगामी तीनमहिनामा अमेरिकी जनसंख्याको एक चौथाईले भ्याक्सिन पाउने अपेक्षा गरिएको छ ।

सन् २०२१ को अप्रिलसम्म कोरोनाबिरुद्धको भ्याक्सिन सर्वसुलभ रुपमा नै उपलब्ध हुने अमेरिकाका बरिष्ठ सरुवारोग विशेषज्ञ डाक्टर एन्थोनी फाउची लगायतले बताएका छन् । फाउचीले पनि अब छिट्टै भ्याक्सिन उपलब्ध हुने तर कोरोना सम्पूर्णरुपमा निर्मूल भने तत्काल नहुने बताएका छन् ।

विश्वमा अहिले १७० वटाभन्दा धेरै कोरोनाबिरुद्धको भ्याक्सिनहरु पूर्व क्लीनिकल परीक्षणमा रहेका छन् । त्यस्तै १० वटा भ्याक्सिन पहिलो चरणको र १५ वटा भ्याक्सिन दोश्रो चरणको क्लीनिकल परीक्षणमा रहेका छन् ।

कोरोनाको भ्याक्सिन तीब्र गतिमा बनाउने प्रयास भइरहेको छ । जबकी पोलियोको भ्याक्सिन बन्न ७ बर्ष, दादुराको ९ बर्ष, ठेउलाको ३४ बर्ष लागेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com