न्युयोर्क सिटीका ५५ प्रतिशत अग्नी नियन्त्रकहरुले कोरोनाबिरुद्ध फाइजरको भ्याक्सिन नलिने


प्रकाशित मिति : मंसिर २१, २०७७ आईतबार

न्युयोर्क सिटीका ५५ प्रतिशत अग्नी नियन्त्रकहरुले कोरोनाबिरुद्ध फाइजरको भ्याक्सिन नलिने बताएका छन् । न्युयोर्क सिटीमा कोरोना संक्रमित हुनेको संख्या बढिरहँदा अधिकांश अग्नी नियन्त्रकहरुले भने फाइजरको कोरोनाबिरुद्धको भ्याक्सिन नलिने बताएका छन् ।

फाइजरको कोरोनाबिरुद्धको भ्याक्सिन अमेरिकाको खाद्य तथा औषधी प्रशासनले डिसेम्बर १० मा स्वीकृत गर्ने अपेक्षा गरिएको छ । स्वीकृत भएको एकदुई दिनमा नै भ्याक्सिन वितरणको योजना बनाइएको छ ।

युनियन सवैक्षणका क्रममा न्युयोर्क सिटीका २ हजार ५३ अग्नी नियन्त्रकहरुमध्ये कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनले स्वीकृति पाएपछि पनि नलगाउने बताएका छन् ।

उक्त सर्वेक्षण युनिफर्मड फायर फाइटर एसोसिएसनले गरेको हो । उक्त युनियनले न्युयोर्क सिटीका झण्डै ८ हजार २ सय अग्नी नियन्त्रकहरुको प्रतिनिधित्व गर्छ । सर्वेक्षण भने २५ प्रतिशतमा गरिएको थियो । न्युयोर्क सिटीमा अग्रमोर्चामा खटिनेहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन पहिलोपटक उपलब्ध गराउने तयारी भइरहँदा यस्तो सर्वेक्षण सार्वजनिक भएको हो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

न्युयोर्क सिटीको फायर डिपार्टमेन्टले आफ्ना सदस्यहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन अनिवार्य भने नगराउने बताएको छ । अग्नी नियन्त्रकहरुमा संक्रमण दर भने बढिरहेको छ । पछिल्ला हप्ताहरुमा संक्रमण दर तीनगुणा बढेको जनाइएको छ ।

क्लीन्टन, ओबामा र बुससँगै बाइडेनले पनि सार्वजनिक रुपमा नै भ्याक्सिन लिने

कोरोनाबिरुद्धको भ्याक्सिनमा सर्वसाधारणको विश्वास बढाउन पूर्व अमेरिकी राष्ट्रपतिहरु बिल क्लीन्टन, बराक ओबामा र जर्ज डब्ल्यु बुससँगै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले पनि कोरोनाबिरुद्धको भ्याक्सिन सार्वजनिक रुपमा लिने भएका छन् । उनीहरुले अमेरिकाको खाद्य तथा औषधी प्रशासनबाट स्वीकृति प्राप्त भएपछि सर्वधारणहरुको हिचकिचाहट कम गर्न आफैले भ्याक्सिन लिने घोषणा गरेका हुन् ।

डाक्टर फाउचीले भ्याक्सिन सुरक्षित भएको बताएपछि र एफडीएबाट स्वीकृत भएपछि आफूले सार्वजनिक रुपमा नै भ्याक्सिन लिन इच्छुक रहेको बाइडेनले बताए ।अमेरिकामा फाइजरको भ्याक्सिनले डिसेम्बर १० मा स्वीकृति पाउने अपेक्षा गरिएको छ भने त्यसको केही दिनमा नै भ्याक्सिन वितरण सुरु गरिनेछ ।

ओबामाले भ्याक्सिन लिएको भिडियो समेत टेलिभिजनबाट प्रशारण गरिने भएको छ । आफूले विज्ञानलाई विश्वास गर्ने ओबामाले बताएका छन् ।

त्यस्तै पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले पनि अमेरिकाका बरिष्ठ सुरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीलाई सम्पर्क गरेर सार्वजनिक रुपमा भिडियो नै खिच्नेगरी कोरोनाबिरुद्ध भ्याक्सिन लिने बताएका छन् । भ्याक्सिन सुरक्षित भएको प्रमाणि भएर एफडीएले स्वीकृति दिएपछि आफूले लिने उनको भनाई छ ।

त्यस्तै पूर्व अमेरिकी राष्ट्रपति बिल क्लीन्टनका प्रेस सेक्रेटरीले पनि भ्याक्सिन उपलब्ध हुनासाथ क्लीन्टनले लिने जानकारी दिएका छन् । सबै अमेरिकनलाई भ्याक्सिन लिनका लागि प्रोत्साहन गर्न क्लिन्टन पनि सार्वजनिक रुपमा नै भ्याक्सिन लिन तयार भएका छन् ।

अमेरिकामा भ्याक्सिन दिनका लागि मतदान

अमेरिकन सीडीसीका भ्याक्सिन सल्लाहकारहरुले कोरोनाबिरुद्धको भ्याक्सिन पहिलो चरणमा कसलाई दिने भन्ने सन्दर्भमा मतदान गरेका छन् । १४ जनामध्ये १३ जनाले पहिलो चरणमा भ्याक्सिन स्वास्थ्यकर्मीहरु र आश्रममा दीर्घकालिन हेरचाहमा रहेकाहरुलाई प्रदान गर्नका लागि मतदान गरेका छन् ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासनले भ्याक्सिन प्रयोगको अनुमति प्रदान गर्नासाथ उनीहरुलाई भ्याक्सिन दिइने भएको छ । सल्लाहकार समितिले यी दुबै समुहलाई पहिलो चरणमा भ्याक्सिन दिनेमा सहमति जनाएको छ । आत्मनिर्भर भएर बाँच्न नसक्ने हेरचाह केन्द्रमा रहेकाहरुलाई प्राथमिकतामा राखिएको सीडीसीले जनाएको छ ।

६ प्रतिशत कोरोनाका केसहरु दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुमा रहेको र अमेरिकाभर ४० प्रतिशत मृत्यु उनीहरुको भएको सीडीसीले जनाएको छ । त्यस्तै साढे २ लाख भन्दा धेरै स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण भएको सीडीसीले जनाएको छ । जसमध्ये ८ सय ५८ जनाको मृत्यु भएको छ ।

डाक्टर हेलेन ट्यालबोटले भने पहिलो चरणमा दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुलाई दिन नहुने भन्दै मतदान गरेकी छिन् । त्यस्ता दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुमाथि भ्याक्सिनको परीक्षण नभएकाले उनीहरुलाई पहिलो चरणमा दिन नहुने उनको तर्क छ । तर उनले भ्याक्सिनले काम गर्ने र सुरक्षित हुने आशा व्यक्त गरेकी छिन् ।

अमेरिकन बायोटेक कम्पनी मोडेर्नाले सोमबार कोरोनाबिरुद्धको भ्याक्सिनको आम प्रयोगको अनुमतिका लागि अमेरिकाको खाद्य तथा औषधी प्रशासन समक्ष आवेदन दिएको थियो । कम्पनीले सोमबार अमेरिकाको साथै युरोपमा पनि प्रयोगको अनुमतिका लागि आवेदन दिएको छ ।

योसँगै मोडेर्ना प्रयोगको अनुमतिका लागि आवेदन दिने दोश्रो भ्याक्सिन कम्पनी भएको छ । यसअगाडि जर्मन कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिन बनाएको अमेरिकन कम्पनी फाइजरले खाद्य तथा औषधी प्रशासन समक्ष प्रयोगका लागि आवेदन दिइसकेको छ ।

मोडेर्नाले बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन कोरोना संक्रमणबाट सिकिस्त बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी देखिएको छ । यो भ्याक्सिन कोरोना संक्रमणबाट जोगाउन ९४ दशमलव १ प्रतिशत प्रभावकारी देखिएपनि सिकिस्त बिरामी हुनबाट जोगाउन भने शतप्रतिशत नै प्रभावकारी देखिएको छ ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासनमा भ्याक्सिन सल्लाहकार समितिका सदस्य डाक्टर पउल ओफिटले यी तथ्यांकहरु निकै उत्साहजनक भएको बताएका छन् । शनिबार राती भ्याक्सिनको प्रभावकारिताबारेका तथ्यांक हेर्दा आफू निकै भावुक भएको मोडेर्नाका प्रमुख मेडिकल अफिसर डाक्टर ताल ज्याक्सले बताए ।

भ्याक्सिनको परीक्षणमा सहभागीमध्ये १९४ जनालाई कोरोना संक्रमण भएकोमा तीमध्ये ११ जनाले पूर्ण वास्तविक भ्याक्सिन प्राप्त गरेका थिए । अरु १८५ जनाले भ्याक्सिनको सलाइनमात्र प्राप्त गरेका थिए ।

सिकिस्त भएका ३० जनाले वास्तविक भ्याक्सिन लिएका थिएनन्, केबल सलाइनमात्र लिएका थिए । एकजना सलाइनमात्र लिएकाको मृत्यु भएको थियो । तर वास्तविक भ्याक्सिन लिएकाहरु सामान्य र सिकिस्त संक्रमण हुनबाट जोगिएका थिए । भ्याक्सिनको प्रभावकारिता सबै जातजाती र उमेर समुहमा देखिएको छ । हिस्पानिक, एसियन, अश्वेत, अमेरिकन र बहुजातीयहरु परीक्षणमा सहभागी थिए ।

मोडेर्ना भ्याक्सिनबारे निर्णय गर्न एफडीएको बैठक डिसेम्बर १७ मा बस्नेछ । त्यो अगाडि डिसेम्बर १० मा फाइजरको भ्याक्सिनबारे निर्णय गर्न एफडीएको बैठक बस्दैछ । बैठकको केहीदिनमा नै भ्याक्सिनले स्वीकृति पाउने अपेक्षा गरिएको छ ।

डिसेम्बरमा २ करोड अमेरिकनले भ्याक्सिन पाउनसक्ने

डिसेम्बरमा २ करोड अमेरिकनहरुले कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्नसक्ने अमेरिकी सरकारको भ्याक्सिन पहलमा संलग्न बरिष्ठ बैज्ञानिक मन्सेफ स्लाउइले बताएका छन् । अपरेशन र्याप स्पीडका प्रमुख सल्लाहकार समेत रहेका उनले सन् २०२० को अन्त्यसम्ममा २ करोडले भ्याक्सिन पाउनसक्ने बताएका हुन् ।

उनले डिसेम्बरमा २ करोड र त्यसपछि हरेक महिना साढे २ करोडदेखि ३ करोड अमेरिकनले भ्याक्सिन पाउनसक्ने बताए । फरबरीको अन्त्यसम्ममा अमेरिकामा रहेका ७ देखि ८ करोडले भ्याक्सिन पाउनसक्ने उनको भनाई छ । आगामी तीनमहिनामा अमेरिकी जनसंख्याको एक चौथाईले भ्याक्सिन पाउने अपेक्षा गरिएको छ ।

सन् २०२१ को अप्रिलसम्म कोरोनाबिरुद्धको भ्याक्सिन सर्वसुलभ रुपमा नै उपलब्ध हुने अमेरिकाका बरिष्ठ सरुवारोग विशेषज्ञ डाक्टर एन्थोनी फाउची लगायतले बताएका छन् । फाउचीले पनि अब छिट्टै भ्याक्सिन उपलब्ध हुने तर कोरोना सम्पूर्णरुपमा निर्मूल भने तत्काल नहुने बताएका छन् ।

विश्वमा अहिले १७० वटाभन्दा धेरै कोरोनाबिरुद्धको भ्याक्सिनहरु पूर्व क्लीनिकल परीक्षणमा रहेका छन् । त्यस्तै १० वटा भ्याक्सिन पहिलो चरणको र १५ वटा भ्याक्सिन दोश्रो चरणको क्लीनिकल परीक्षणमा रहेका छन् ।

कोरोनाको भ्याक्सिन तीब्र गतिमा बनाउने प्रयास भइरहेको छ । जबकी पोलियोको भ्याक्सिन बन्न ७ बर्ष, दादुराको ९ बर्ष, ठेउलाको ३४ बर्ष लागेको थियो ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com