अमेरिकामा हरेक विहान निशुल्क ‘जीवन विज्ञान योग’, यसरी अनलाइनबाटै सहभागी हुन सकिने


प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार

बुधबार विहान अमेरिकामा अनलाइनमा संचालिन जीवन विज्ञान योगकक्षामा सहभागी हुनेहरुको संख्या झण्डै ६० पुग्यो । महामारी सुरु भएयता अमेरिकामा हरेक विहान निशुल्क सिकाइदै आएको योगकक्षामा सहभागीहरुको संख्या एकमहिनाको अवधिमा दोब्बर बढेको हो ।

‘मैले आज योगकक्षा लिन लागेको एकमहिना पुग्यो । एक महिनाको अवधिमा निकै फरक अनुभव भएको छ ।’ – बुधबार अनलाइन योगकक्षा समाप्त भएपछि अन्य सहभागीहरुमाझ आफ्नो अनुभव बाड्दै मेरिल्याण्ड सिल्भर स्प्रीङ निवासी शान्ति शर्माले बताइन् । उनीसँगै अन्य सहभागीहरुले पनि आफ्ना अनुभवहरु बाँडे ।

‘हामीले दिनमा एकडेढ घण्टा आफ्नै लागि समय छुट्याउन सक्दैनौं भने त्यस्तो जीवन निरर्थक हुन्छ । यो जीवन विज्ञान योग प्रयोगशालामा सहभागी हुनेहरुले आफ्नै लागि समय दिएको हो । हामी यो योगशिक्षा अधिकतम व्यक्तिमा बाँड्न चाहन्छौं ।’ नियमित रुपमा टेक्सासबाट प्रशिक्षण दिदै आएकी माला महतले भनिन् ।

प्रशिक्षक माला महत

टेक्सास निवासी माला महतले नेपालमा रहने जीवन विज्ञानका संस्थापकहरु रमेश नेपाल र एल पि भानु शर्माबाट योगशिक्षा लिएर अमेरिकामा रहेका नेपालीहरुलाई जुममार्फत योग सिकाउँदै आएकी छिन् । सुरुमा थोरैमात्र सहभागी भएपनि अहिले यो अनलाइन योगकक्षामा सहभागी हुनेहरुको संख्या र आकर्षण बढ्दै गएको छ ।

अमेरिकाका न्युयोर्क, न्युजर्सी, मेरिल्याण्ड लगायतका विभिन्न राज्यहरुबाट मात्र होइन, युरोपका विभिन्न देशहरुबाट समेत सहभागीहरु आउन थालेका छन् । न्युयोर्क समय अनुशार विहान ७ बजेदेखि ८ बजेसम्म जीवन विज्ञान योगकक्षा संचालन हुँदै आएको छ । जस अन्तरगत टेक्सास समय विहान ६ बजे हुनेगर्छ ।

अनलाइन योगकक्षामा सहभागी हुँदै

यो योगकक्षामा सबै उमेर समुहका व्यक्तिले भाग लिन पाउँछन् भने कुनै शुल्क तिर्नु पर्दैन । साथै योगकक्षामा सहभागी हुनका लागि कतै दर्ता गर्नुपनि पर्दैन, सिधै जुमको लिंकमार्फत सहभागी हुन सकिन्छ । योगका लागि कम्तीमा ३ घण्टा खाली पेट भएको हुनुपर्ने भएकाले विहानको समय योगका लागि उत्तम हुने प्रशिक्षक माला महत बताउँछिन् ।

जीवन विज्ञान योगमा शरिरको वाह्य अंग, आन्तरिक अंग र मानसिक स्वास्थ्यलाई सुदृढ बनाउने तरिकाहरु सिकाइदै आएको छ । जिम गर्दा बाह्य अंगहरुको मात्र अभ्यास हुने भएपनि जीवन विज्ञान योगबाट बाह्य र आन्तरिक अंगका साथै मानसिक स्वास्थ्य समेत राम्रो हुने तथा सकारात्मक सोंचको विकाश हुने आफूले अनुभव गरेको सहभागी लोक तिवारीले बताए ।

योग कक्षा आइतबारबाहेक हरेक दिन साताको ६ दिन संचालन भइरहेको छ ।

न्युयोर्क समय अनुशार हरेक विहान ७ बजे जीवन विज्ञान योग प्रयोगशालामा सहभागी हुनका लागि यहाँ क्लीक गर्नुहोला ।

तपाई जुम एप्लीकेशनमा 84351498553 आईडी र पासवर्ड 12345 राखेर पनि योगमा सहभागी हुन सक्नुहुनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com