‘अब संक्रमतिको संसर्गमा आएकाले १० दिन क्वारेन्टीन बसे पुग्छ’ : अमेरिकन सिडिसी
प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार
अमेरिकन सीडीसीले निश्चित अवस्थामा क्वारेन्टीन बस्नुपर्ने अवधि घटाएको छ । विगतमा १४ दिन क्वारेन्टीन बस्नुपर्ने सिफारिस गर्दै आएको सीडीसीले अब निश्चित अवस्थामा ७ वा १० दिनमात्र क्वारेन्टीन बसे हुने सिफारिस गरेको छ ।
बुधबार सार्वजनिक गरिएको नयाँ निर्देशिका अनुशार कोरोना संक्रमितको नजिकका सम्पर्कमा पुगेका व्यक्तिले नेगेटिभ रिजल्ट पाएमा ७ दिनमा र परीक्षण नगराएको अवस्थामा १० दिनमात्र क्वारेन्टीनमा बसे पुग्ने जनाइएको छ । नजिकको सम्पर्क भन्नाले संक्रमितको ६ फिट वा त्यो भन्दा कम दुरीमा १५ मिनेटसम्म रहेको सीडीसीले परिभाषित गरेको छ ।
तर व्यक्तिले लक्षणबारे भने निगरानी राखिराख्नुपर्ने जनाइएको छ । क्वारेन्टीनको अवधि घटाउँदा लामो समय क्वारेन्टीनमा बस्नुपर्दा भोग्नु परेको आर्थिक समस्यामा कमी हुने अपेक्षा गरिएको छ । सीडीसीले आफैले र अन्य संस्थाहरुले गरेको अध्ययनका आधारमा यो निर्णय लिएको हो ।
१४ दिन बस्न चाहनेहरुले बस्न सक्ने तर ७ वा १० दिनको अवधि राम्रो विकल्प हुनसक्ने अपेक्षा गरिएको छ । अध्ययन अनुशार लक्षण देखिएको र व्यक्तिमा सरेको १० दिनसम्ममात्र भाइरस संक्रामक हुने निष्कर्ष निकालिएको छ । कोरोना संक्रमण भएका बिरामीबाट सबैभन्दा धेरै अरुमा सर्ने अवस्था पहिलो सातामात्र हुने अध्ययनले जनाएको छ ।
अमेरिकाले केही युरोपियन देशहरुले जस्तै क्वारेन्टीनको अवधि कम गरेको हो । गत सेप्टेम्बरमा फ्रान्सले सेल्फ आइसोलेसनको अपधि १४ दिनबाट घटाएर ७ दिन कायम गरेका थियो । जर्मनीले पनि अति जोखिम भएको क्षेत्रबाट आउनेहरुलाई सेल्फ आइसोलेसनको अवधि १० दिनमा झारेको छ ।