कांग्रेस नेता पौडेलमाथिको दमन निन्दनीय भन्दै विश्वभरका जनसम्पर्क समितिहरुको भत्र्सना


प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद रामचन्द्र पोख्रेल लगाएतका नेताहरु घाइतेहुने गरि भएको दमन र हस्तक्षेप निन्दनीय भएको भन्दै विश्वका ३५ देशका नेपाली काँग्रेस सम्बद्ध जनसम्पर्क समितिका सभापतिहरुले विरोध गरेका छन् । उनीहरुले संयुक्त वक्तब्य जारी गरी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गृहजिल्ला तनहुँमा भएको प्रहरी दमन र हस्तक्षेपको कडा निन्दा र भर्त्सना गरेका छन् ।

वक्तब्यमा भनिएको छ – ‘यो दमन र गिरफ्तारी वर्तमान कम्युनिष्ट अधिनायकवादी सरकारको विद्रुप रुप हो भन्ने हाम्रो बुझाई छ। कम्युनिष्ट अधिनायकवाद यस्तै दमन र हर्कतको आवरणमा लोकतन्त्रको खिलाप सार्वजनिक हुने गर्दछ। आजको यस घटना सर्वसत्ताबादतर्फ उन्मूख वर्तमान कम्युनिष्ट सरकारले मुलुकको जिम्मेवार पार्टीका वरिष्ठ नेतामार्फत सिंगो पार्टी र लोकतान्त्रिक आचरणमाथि प्रहार गरेको ठहर गरेका छौं।’

‘लोकतन्त्रमा शान्तिपूर्वक भेला हुने,आफ्ना कुराहरु स्वतन्त्रतापूर्वक राख्न पाउने र विकास निर्माणका कामलाई विना कुनै अवरोध संचालन गर्न पाउने आधारभूत हक,अधिकारको सुरक्षा गरिएको हुन्छ। तर आफ्नै सरकारको पालामा निर्माण सम्पन्न भएको पूल उद्घाटन जाने क्रममा नेपाली कांग्रेसका नेतामाथि ओली सरकारको ठाडो निर्देशनमा भएको यस किसिमको प्रहरी हर्कत,धरपकड र गिरफ्तारीले सरकारको अधिनायकवादी अनुहार र चरित्र समेत उदांगो भएको छ।’ –  वक्तब्यमा अझ अगाडि भनिएको छ ।

वक्तब्यमार्फत चेतावनी दिइएको छ – ‘हामी पार्टीका वरिष्ठ नेतासहित अन्य नेतागण र साथीहरुमाथि आज भएको बर्बर प्रहरी दमन र हस्तक्षेपको विरुद्ध नेपाली कांग्रेस पार्टीले गर्ने सबैखाले प्रतिरोधप्रति ऐक्यवद्धता जाहेर गर्दै वर्तमान कम्युनिष्ट अधिनायकवादी सरकारको दिनगन्ती आजको घटनाबाट सुरु भएको चेतावनी समेत दिन चाहन्छौं।’

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य एबं नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य एबं नेपाली जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डे, बेल्जियमका सभापति सीता सापकोटा, मकाउका सभापति लेख बहादुर गुरुङ लगायत ३५ सभापतिहरुले वक्तब्य जारी गरेका हुन् ।

यसैबीच नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य एबं नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले छुट्टै वक्तब्य जारी गरी पौडेलमाथिको प्रशासनिक दमन र हस्तक्षेपको निन्दा र भर्त्सना गरेका छन् ।  तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलाको पूल उद्घाटन गर्ने क्रममा त्यसतर्फ गएका पौडेलमाथि अवरोध सिर्जना गर्ने र प्रहरीले नियन्त्रणमा लिने हर्कत आपत्तिजनक र घोर निन्दनीय रहेको वक्तब्यमा उल्लेख छ।

जनसम्पर्क समिति अमेरिकामा सभापति तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट ।

वक्तब्यमा भनिएको छ – ‘कम्युनिष्ट अधिनायकवादी शैलीको यो अराजक घटना नेता पौडेलविरुद्ध नभई सिंगो नेपाली कांग्रेस पार्टीका विरुद्ध लक्षित छ। पूर्व सभामूख,पूर्व उपप्रधान र गृहमन्त्री समेत रहिसक्नु भएका नेता पौडेललाई कम्युनिष्ट सरकारले गरेको यस किसिमको दुर्व्यवहार र गिरफ्तारीले सरकार जनताको शान्तिपूर्वक भेला हुने,विकास निर्माणका कामलाई समेत अवरोध गर्ने जस्ता नैसर्गिक अधिकारको समेत हनन गर्न उद्धत रहेको पुष्टी भएको छ। हामी नेता पौडेल र पार्टीका अन्य नेता र कार्यकर्तामाथि आज भएको प्रहरी दमन,गिरफ्तारी र धरपकडको खिलाप पार्टीले गर्ने सबैखाले प्रतिरोधप्रति ऐक्यवद्धता जाहेर गर्दछौं।’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको थियो । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थियो । संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले बिरोध जनाएका थिए ।

बुधबार पौडेलले पुल उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि जिल्ला प्रशासन कार्यालयले भने पुल उद्घाटनको विरोध गर्दै राष्ट्रिय युवा सं‌घलगायतले विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको र झडपको सम्भावना भएको भन्दै पुल क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न कांग्रेस कार्यकर्ताको ठूलो समूहसहित पुगेपछि प्रहरीले निषेधाज्ञा लगाइएको भन्दै नियन्त्रणमा लिएको थियो । निषेधित क्षेत्र तोड्न खोजेकाले पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कांग्रेस कार्यकर्तालाई निषेधित क्षेत्रबाट हटाउन प्रहरीले लाठीचार्ज र दर्जनौ सेल अश्रुग्यासको सेल हानेको थियो । नेता पौडेलसँगै प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई प्रहरीले पक्राउ गरेको थियो । तीन घण्टापछि उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com