सुगन्धित क्यामोमाइलको उत्पादित तेलले पाएन बजार


प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान राधिका साउदले मनग्य आम्दानी हुने क्यामोमाइल खेती गर्न छाडेकी छन् । सुगन्धित क्यामोमाइलको प्रशोधित तेल बिक्री हुन छाडेपछि यस वर्ष उनले खेतमा क्यामोमाइल खेती गरेकी छैनन् । खेतमा उनले गहुँ छरेकी छन् ।

“क्यामोमाइलको प्रशोधित तेल बिक्री गर्नका लागि व्यापारी खोज्न निकै भौँतारिनुपर्ने समस्या छ”, उनले भनिन्, “बिचौलियामार्फत पाइएका व्यापारीले थोरै मूल्यमा तेल खरिद गर्दा निकै समस्या भएको छ । खेती गर्दादेखि तेल प्रशोधन गर्दासम्मको लागत खर्चसमेत नउठ्ने भएपछि खेती गर्न छाडेका छौँ ।”

तीन वर्षदेखि क्यामोमाइल खेती गर्दै आएकी उनले प्रतिवर्ष क्यामोमाइलको तेल बिक्री गरेर रु ४० हजार जति आम्दानी लिँदै आएकी छन् । बिचौलियाले रु ५५ हजार प्रतिलिटरमा बिक्री हुँदै आएको तेलको मूल्य घटाएर रु २५ हजार पुर्याएपछि उनीजस्तै गाउँका अधिकांश किसानले क्यामोमाइलको खेती गर्न छाडेका छन् ।

तीन जना किसानबाट शुरु गरेको क्यामोमाइल खेती गर्ने किसानको सङ्ख्या तीन वर्षको अवधिमै ७० पुगेको थियो । हाल सो खेती गर्ने किसानको सङ्ख्या शून्यमा झरेको छ । “जङ्गली जनावरले नखाने, थोरै मेहनत गरे पुग्ने र सिँचाइमा अन्नबालीभन्दा गतिलो आम्दानी हुने भएपछि परिवारको खर्च धान्नका लागि वैदेशिक रोजगारीमा जाने युवाले गाउँमै रोजगारी पाएका थिए”, प्रगति महिला जडीबुटी व्यवस्थापन समितिका सचिव हर्कबहादुर ऐरले भने, “नसोचेको आम्दानी क्यामोमाइल खेतीबाट हुन थालेपछि युवा खेतीमा संलग्न हुन थालेका थिए । परिवारको खर्च सहजै क्यामोमाइल खेतीले धानेको थियो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बजार नै नपाइएपछि किसानले खेती गर्न छाडेका छन् । क्यामोमाइललगायतको जडीबुटीमा संलग्न भएका युवा रोजगारी खोज्दै विदेशिनुपर्ने बाध्यता सिर्जना भएको उनले बताए । पहिलो वर्ष क्यामोमाइलको प्रशोधित तेल प्रतिलिटर रु ४० हजारमा बिक्री भएकोमा दोस्रो वर्ष रु ५३ हजार र तेस्रो वर्ष रु २५ हजारमा बिक्री भएको छ । बजार मूल्यमा आएको उत्तारचढाव र बिचौलियाका कारण उत्पादित क्यामोमाइलको चार लिटर तेल बिक्री हुनसकेको छैन ।

“क्यामोमाइल रोप्ने अहिलेको समयमा किसानले कुनै सुरसार नै गरेका छैनन्”, प्रगति महिला सामुदायिक वनका अध्यक्ष रामबहादुर साउदले भने, “क्यामोमाइल रोप्ने खेतमा गहुँ छरेका छन् । क्यामोमाइलको उत्पादित तेल बिक्री गर्नका लागि भरपर्दो बजार नपाउँदा किसानले यो खेती गर्न छाडेका छन् ।”

“क्यामोमाइल, मेन्था फ्रेन्चावेशील, लेमनग्रासलगायको जडीबुटी खेतीबाट आम्दानी लिन सकिने कुरा बुझाउनका लागि किसानलाई धेरै मेहेनत गर्यौँ” उनले निरास हुँदै भने, “क्यामोमाइलबाट किसानले राम्रै आम्दानी लिँदै आएका बेला प्रशोधित तेल बिक्री नहुने समस्याले किसानले खेती नै गर्न छाडेका छन् ।”

जडीबुटीको उत्पादित तेल बिक्रीका लागि बजार नहुँदा निकै समस्या भएकाले बजारको खोजी गरी पुनःकिसानलाई जडीबुटीखेती तर्फ डोर्याउने प्रयासमा लाग्ने उनी बताउँछन् । क्यमोमाइलसँगै बेलडाँडीका किसानले प्रगति महिला सामुदायिक वनबाट तीतेपाती(करिपत्ता)सङ्कलन गरी उद्योगमा प्रशोधन गरी तेल उत्पादन गर्दै आएका छन् । यो वर्ष तीतेपातीको तेल बिक्री नभएपछि सो सङ्कलनको कार्यसमेत बन्द भएको छ ।

सामुदायिक वनका उपभोक्ताले उत्पादन गरेको करिपत्ताको तेल ६५ लिटर बिक्री हुनसकेको छैन । व्यापारी नै तेल खरिद गर्न नआएपछि तेल सामुदायिक वनको कार्यालयमा थन्किएको हो । करिपत्ताको तेल रु चार हजार प्रतिलिटरका दरले बिक्री हुँदै आएको छ ।

यस क्षेत्रका किसानले मेन्था खेती भने गरेका छन् । बेलडाँडीका २८ परिवारले मेन्थाको खेती गर्दै आएका छन् । प्रतिवर्ष मेन्थाबाट ४० टिर तेल उत्पादन हुँदै आएको छ । यसको बजार मूल्य प्रतिलिटर रु दुई हजार ४०० छ । प्रगति महिला सामुदायिक वन र दातृ निकायको सहयोगमा जडीबुटी प्रशोधनका लागि दुईवटा प्लान्ट जडान गरिएका छन् ।

एउटा प्लान्ट निड्स नामक गैरसरकारी संस्थाले रु पाँच लाख २० हजारको लगानीमा र अर्को प्लान्ट सोहीअनुसारको लगानीमा सामुदायिक वनले जडान गरेको छ । जडीबुटी उद्योगका छाना र छहारी घरसमेत सामुदायिक वनले बनाएको छ । जडीबुटी प्रशोधनको काम बन्द भएपछि उद्योगमा कार्यरत आधा दर्जनभन्दा बढी व्यक्तिको रोजगारीसमेत खोसिएको छ । जिल्लामा प्रतिवर्ष क्यामोमाइलको तेल २५१ लिटर उत्पादन हुने गरेको छ । यसको बजार मूल्य रु एक करोड २५ लाख ५० हजार रहेको छ ।

वेदकोट नगरपालिकाका धर्मपुर, जडेपानी, बैतडा, महाकाली नगरपालिका, दोधारा चाँदनी, पुनर्वास–३ अमरबस्ती, शुक्लाफाँटा नगरपालिकाको बेलडाँडी, जुडा, कसरौलगायत क्षेत्रका किसानले क्यामोमाइल खेती गर्दै आएका छन् ।

क्यामोमाइलको प्रशोधित तेल व्यापारीले सस्तोमै खरिद गरी भारतीय बजारमा बढी मूल्यमा बिक्री गर्दै आएका छन् । यस वर्ष कोरोना भाइरसको महामारीका कारण उत्पादित तेलले बजार पाउन नसक्दा मूल्यमा कमी आएको तेल खरिदमा संलग्न व्यापारीको भनाइ छ । सुगन्धित प्रशोधित क्यामोमाइलको तेलमा जीवाणु प्रतिरोधात्मक गुण हुने भएकाले आँखा दुखेको, टाउको दुखेको, छाती दुखेको, लुतो, खोकी, कफ, दमसँगै मानसिक चिन्ता हटाउन, अनिद्रा, अमलपित्त, अल्सर, जीउ पोल्ने समस्या भएका बिरामीका लागि उपयोगी हुने गरेको छ ।

क्यामोमाइलले पाचनशक्ति बढाउने र उत्तेजना बढाउने कार्यसमेत गर्दछ । यसमा एन्टी अक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी तत्व पाइने गरेको छ । विभिन्न सौन्दर्य प्रशोधन, खाद्य तथा पेय पदार्थलाई बास्नादार बनाउन क्यामोमाइलको तेल प्रयोग हुने गरेको छ । क्यामोमाइल सयपत्री फूल परिवारको सुगन्धित वनस्पतिका रूपमा रहेको छ ।

यसको फूलबाट निकालिने सुगन्धित तेल विभिन्न खाद्य सामग्री, सौन्दर्य प्रशोधन तथा औषधीय प्रयोजनका लागि प्रयोग हुने भएकाले यो आयमूलक वनस्पतिका रूपमा रहेको छ । क्यामोमाइलको प्रशोधित तेलको व्यापारिक नाम ‘ब्लुआइल’ रहेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com