अमेरिकामा कोरोना संक्रमण गतबर्षको डिसेम्बरमा नै भएको पुष्टी


प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार

अमेरिकामा कोरोना संक्रमण गतबर्षको डिसेम्बरमा नै भएको पुष्टी भएको छ । अर्थात् चीनमा कोरोना संक्रमणको पहिलो केस सार्वजनिक गर्नु अगाडि नै विश्वमा कोरोना भाइरस फैलिसकेको एक अध्ययनबाट पुष्टी भएको छ ।

डिसेम्बर १३ देखि डिसेम्बर १७ सम्म अमेरिकाका ९ वटा राज्यमा रक्तदान गरेका ७ हजार ३ सय ८९ जनाको रगतको नमुना जाँच गर्दा १ सय ६ जनामा कोरोना संक्रमण भएको देखिएको छ । ती रगतका नमुनाहरु अमेरिकन रेडक्रसमार्फत संकलन गरेर एन्टीबडी भए नभएको पत्ता लगाउन अमेरिकन सीडीसी समक्ष पठाइएको थियो ।

उक्त अध्ययनको निष्कर्ष सोमबार प्रकाशित गरिएको छ । उक्त अध्ययनमा अमेरिकामा कोरोना संक्रमण गतबर्षको डिसेम्बरमा नै देखिएको पुष्टी भएको उल्लेख गरिएको छ । चीनको वुहानमा सुरुमा रहस्यमय निमोनिया फैलिएको बताइएको थियो भने पछि त्यो भयानक रुपमा बढेको थियो । जसलाई पछि कोभिड १९ को नाम दिइएको थियो ।

अध्ययन अनुशार कोरोना भाइरस विश्वले थाहा पाउनु अगाडि नै चुपचाप फैलिएको पुष्टी भएको छ । यद्यपी सन् २०२० भन्दा अगाडि नै चीनबाहिर कोरोना संक्रमण फैलिएको पुष्टी गर्ने यो नै पहिलो प्रमाण भने होइन । फ्रान्समा डिसेम्बरको अन्त्यमा रुघाखोकी जस्तो लक्षण देखिएपछि अस्पतालमा भर्ना भएका बिरामी कोरोना संक्रमित भएको जनाइएको थियो ।

अमेरिकाका कैयन राज्यमा जनवरीमा संकलन गरिएको रगतमा समेत एन्टीबडी पाइएको छ । कोरोना संक्रमण भएर निको भइसकेकाहरुमा एन्टीबडीको विकाश हुने भएकाले उनीहरुलाई त्यो भन्दा अगाडि नै कोरोना संक्रमण भएर निको भएको थियो । कोरोना संक्रमण भएकै कारण एन्टीबडी विकाश भएको र अन्य प्रकारका कोरोना भाइरसबाट कोभिड १९ बिरुद्धको एन्टीबडी नबनेको वैज्ञानिकहरुको विश्वास छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com