नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको जवाफी प्रस्ताव पेस, १६ गते पुनः बस्ने
प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ ।
शनिबार दिउँसो बालुवाटारमा बसेको बैठक मंसिर १६ गते दिउँसो १ बजे पुनः पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक सम्पन्न भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूचि रहेको थियो । सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्ताव र आरोपपत्र अस्वीकार गरी प्रधानमन्त्री ओलीले भनाइ राख्ने तयारी गरेका थिए । बैठकमा प्रधानमन्त्री ओलीले बन्द खाममा राखेर जवाफी प्रस्ताव पेश गरेका थिए ।
अबको अर्को बैठकमा दुवै प्रस्तावको अध्ययन गरेर छलफल गरिने बताइएको छ ।





