सचिवालय वैठकमा जाने नेकपा नेतालाई सवाल: अनावश्यक लडेर समाप्तीकै बाटो रोज्ने हो ?
प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार
– राधाकृष्ण देउजा
आज नेकपाको सचिवालय वैठक बस्दैछ । अक्सर हुने पार्टी वैठकहरुले पार्टीका विद्धमान समस्याहरुको समाधान गर्दै पार्टीलाइ नया ढंगले मार्ग निर्देशन गर्ने गर्दछ , त्यसैले पार्टी बैठकहरु आम नेता कार्यकर्ताहरुको लागि अक्सर उत्साह र उमंगको कारण बन्ने गर्छन । यद्धपि यस पटकको नेकपाको वैठक नेकपा पङ्क्तिमा उत्साह र उमंग हैन विभाजनको काहालीलाग्दो त्राशदी भएर आएको छ ।
एक अध्यक्षलाइ अर्का अध्यक्ष समेत पाँच सचिवालयका सदस्यहरुको निवेदन , त्यस निवेदनको प्रतिउत्तरमा एक अध्यक्षले अर्को अध्यक्षलाइ पत्र, त्यसको जवाफमा अर्को अध्यक्षको जवाफी पत्र अनि त्यतिले नपुगेर सचिवालय वैठकमा लामो आरोप पत्र अनि अव आज त्यस आरोप पत्रको जवाफमा सम्भवत अर्को आरोप पत्र आउने सम्भावनाले नेकपाको पङ्क्ति आम रुपमै दुखित चिन्तित र त्रशित छन ।
हुन त सचिवालय वाहेक अर्को कमिटिमा रहेका नेता देखि तलका कार्यकर्ताको चिन्ताले नेकपाका ठुला भनिने नेताहरु मध्य धेरैलाइ नछोएको भए पनि नेकपाका कार्यकर्ताहरुको चिन्ता वास्तवमै जायज छन । नेकपाका वरिष्ठ नेता माधव नेपालले भन्नु भए जस्तै यो पार्टी सानो दुखले बनेको पार्टी नभएर त्याग र वलिदानको जगमा बनेको पार्टी हो , त्यसैले पनि यस पार्टी बनाउन त्याग र वलिदान गरेको नेकपाको कार्यकर्ता पंक्ति अहिलेको अनुचित , असामयिक र असान्दर्भिक सिंगौरीबाट चिन्तित हुनु स्वाभाविक हो ।
त्यो किन पनि स्वाभाविक हो भने जनताको सामिप्यमा रहेर हुर्केका बढेका नेकपाका नेता कार्यकर्तालाइ थाहा छ कि जनताको सिंगो पंक्ति अन्योल , अनिश्चितता र अभावमा रुमलिँदै गर्दा अनेकन बखेडामा फस्ने कामले जनतामा आधारित पार्टी केवल कम्जोर मात्रै हुनसक्छ ।
त्यसैले नेकपाको आम पंक्ति पार्टी भित्रको संवाद मार्फत सहमति सहकार्यको वातावरण बनाउँदै सवै मिलेर जनताको सुख देशको सम्वृद्धिको अभियान सफलतामा जुटनु पर्छ भन्ने धारणा राख्दछ । वास्तवमै नेकपाको पंक्ति समझदार छ , गुटका केहि माहरथी र तिनका केहि थान दलालहरुको बोलि र हर्कत नै नेकपाको परिचय हुँदो हो त सबै भन्दा पहिला नेकपा भन्ने पार्टी नै सम्भव हुने थिएन र यदी भैहाले पनि दुइ तिहाइ वहुमत बनाउने तहमा हुने थिएन ।
नेकपा त त्याग , वलिदान , निष्ठा र इमानलाइ आफ्नो धर्म कर्म मान्नेहरुको वाहुल्य भएको पार्टी हो जसका अधिकाँश सदस्य देशको हित र जनताको सुखको ग्यारेण्टीलाइ नै सफलता मान्छन । अनि उनीहरुलाइ थाहा छ देशको सम्वृद्धि र जनताको सुखको सपना मिलेर देखिएको हुनाले त्यस सपना पुरा गर्न पनि पार्टीको आन्तरिक र सकारात्मक सोच राख्ने वाह्य ( अरु पार्टीहरु ) शक्तिहरुसंगको एकता पनि अनिवार्य छ ।
त्यसैले त नेताहरुको उदेकलाग्दो व्यवहारहरु , लाज लाग्दा अभिव्यक्तिहरु देख्दा देख्दै पनि फेरी पनि एकताको अनिवार्य आवश्यकताको मर्म अनुसार आफ्नो धारणा राखिरहेका छन , यो वा त्यो पक्ष नभनिकन विधि र पद्दतिको जगमा पार्टीको समस्या समाधान अनि देश जनता र पार्टीको हितलाइ आधार बनाएर गरिने सहमतीको आधारमा एकताको पक्षमा उभिएका छन ।
तर बिडम्वना ठुला नेताहरुले आम नेता कार्यकर्ताहरुको भावना नबुझेको स्पष्ट हुँदैछ अनि परिस्थिति अनकुलता हैन प्रतिकुलता तर्फनै बढेको हो कि जस्तो देखिँदै छ , जसले विभाजनको भय पैदा गराएको छ । आशा गरौँ देर से आए दुरुस्त आए भन्ने हिसाबले नेकपाको आन्तरिक विवादले किनारा पाउने छ किनकि त्यही आवश्यकता हो ।
अव पनि नेकपामा आन्तरिक एकता नहुने हो भने नेकपा चाहिं समाप्त हुने पक्का छ । त्यसैले नेकपाका सचिवालयका नेताहरुले आफ्नो आफ्नो दम्भ , कुण्ठा , असन्तुष्टि सबै छोडेर अव एकताको बाटोमा अगाडी बढनु बढाउनु आवश्यक देखिएको छ ।
लडेर भिडेर सबै समाप्त पार्ने, समाप्त हुने जस्तो विनासक बन्नु भन्दा थोरै सम्हालिएर , जिम्मेवार भएर पार्टी बचाउने एकताको प्रतिक भएको राम्रो छ भन्ने सत्यको वोध होस । अहिलेलाई नेपालमा आज दिउँसो सचिवालय वैठकमा जानु हुने सबै नेताहरुलाइ विनम्र पुर्वक सवाल – “के अनावश्यक लडेर समाप्तिकै बाटो रोज्ने हो ?”