संक्रमण बढेपछि टोरन्टोमा २८ दिने लकडाउन


प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार

कोरोना संक्रमण बढेपछि क्यानडाको टोरन्टो २८ दिनका लागि लकडाउन गरिने भएको छ । पसल, ब्यापार र रेष्टुरेण्टहरु बन्द गरिने भएको छ भने भित्र भेला हुनमा समेत रोक लगाइएको छ । लकडाउन सोमबारदेखि सुरु हुनेछ ।

घरभित्र फरकफरक घरका व्यक्ति जमघट र भोतभतेर गर्नमा रोक लगाइएको छ । घरबाहिर पनि १० जनाभन्दा बढी जमघट हुनमा रोक लगाइएको छ । अहिले सम्पूर्ण प्रान्तमा नभई ग्रेटर टोरन्टो क्षेत्रमा मात्र लकडाउनको घोषणा गरिएको हो ।

toronto

शुक्रबार ओन्टारियोमा मात्र १४ सय भन्दा बढी संक्रमणका केसहरु भेटिएका थिए । प्रान्तभर संक्रमितको संख्या १ लाख नाघिसकेको छ । टोरन्टो क्षेत्रमा डरलाग्दो तरिकाले संक्रमण दर बढ्दै गएको छ ।

लकडाउनको बेलामा खुद्रा स्टोरहरु पिकअपका लागिमात्र खुल्ला रहनेछन् । रेष्टुरेष्टहरुमा टेक अवेमात्र संचालन हुनेछ । ग्रोसरी स्टोर र फार्मेसीहरु ५० प्रतिशत क्षमतामामात्र खुल्नेछन् ।

विद्यालयहरु खुला रहनेछन् । तर विवाह, दाहसंस्कार र धार्मिक कार्यक्रमहरुमा सामाजिक दुरी कायम गरेर १० जनाभन्दा बढी भेला हुन पाइनेछैन । क्यानडाका प्रधानमन्त्री जस्टिन टु्रडोले मान्छेहरु घरभित्रै बसेको खण्डमा सुरक्षित हुने भन्दै घरमै बस्न आग्रह गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com