अमेरिकन नर्सको अनुभव: ‘केही बिरामी मर्नुअगाडिसम्म नै कोरोना वास्तविक भएको स्वीकार्दैनन्’
प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार
केही बिरामीहरुले कोरोना संक्रमणबाट मृत्यु हुनुभन्दा अगाडिसम्म नै आफू कोरोना संक्रमणका कारण सिकिस्त भएको स्वीकार्न तयार नभएको अनुभव अमेरिकाको साउथ डाकोटाको अस्पतालमा इमर्जेन्सी रुपमा कार्यरत एक नर्सले संचारमाध्यमहरुलाई बताएकी छिन् । जोडी डोरिंग नामकी ती नर्सले केही बिरामीहरुले कोरोनाकै कारण अन्तिम अवस्थामा पुग्दासम्म पनि कोरोना बास्तविक भएको स्वीकार नगर्ने बताएकी छिन् ।
उनले भनिन् कतिपय बिरामी कोरोना संक्रमणबाट मृत्यु हुनु अगाडि अन्तिमपटक बोल्दासमेत कोरोना वास्तविक नभएको र यस्तो हुनै नसक्ने बताउँछन् । मान्छेहरु आफू अन्तिम अवस्थामा पुग्नुको कारण अरु नै रोग भएको तर्क गर्दा हामीलाई यो एउटा भयानक सपना देखिरहेजस्तो लाग्छ ।
कोरोना संक्रमण पुष्टी भएपछि पनि अस्पतालको इमर्जेन्सीमा भर्ना भएका कोरोना वास्तविक रहेको नस्वीकार्ने कैयन बिरामीहरु आफूले देखेको उनले बताइन् । कतिपय बिरामीहरु आफूलाई निमोनिया, इन्फ्लुएन्जा वा अन्य कुनै रोग लागेकाले त्यसबाटै यो अवस्था आएको तर कोरोनाबाट यस्तो हुनै नसक्ने तर्क गर्ने गरेको उनले बताइन् ।
ती नर्सले भनेकी छिन् -‘बिरामीहरुले हामीलाई सोध्छन् कि आफू बिरामी हुनुको खास कारण कोरोनाबाहेक अरु नै केही होला । उनीहरुले कोरोना वास्तविक नै नभएको तर नर्स र डाक्टरहरुले किन सुरक्षाका पोशाकहरु लगाएको भनेर समेत प्रश्न गर्छन् । यो हामीले कैयन महिनादेखि भोग्दै आएका छौं ।’
‘जब उनीहरुलाई भेन्टिलेटरमा राख्ने अवस्था आउँछ । अनिमात्र उनीहरु बोल्न रोकिन्छन् । अनि उनीहरुमध्ये कैयनको मृत्यु हुन्छ । मलाई यो एउटा तर्साउने फिल्म जस्तो लाग्छ । जुन हरेक दिन गएर हामीले बारम्बार दोहोराउनुपर्छ ।’ – उनले भनिन् ।