अमेरिकामा कार दुर्घटना, फ्लु, आत्महत्या र स्ट्रोकबाट भन्दा धेरैको कोरोनाबाट मृत्यु
प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे २ लाख नाघेको छ । जोन हप्किन्स युनिभर्सिटीले संकलन गरेको तथ्यांक अनुशार महामारी सुरु भएयताका १० महिनामा अमेरिकामा कोरोना संक्रमणबाट कम्तीमा २ लाख ५० हजार २९ जनाको मृत्यु भएको हो ।
अमेरिकामा कोरोना संक्रमणबाट पहिलो मृत्यु गत फरबरी २९ मा वासिंटन राज्यमा भएको थियो । यदि अमेरिकनहरुले गम्भिरता पूर्वक नलिई लापरवाही गरेको खण्डमा मृत्यु संख्या डरलाग्दो तरिकाले बढ्ने विज्ञहरुले चेतावनी दिएका छन् ।
सीएनएनले अमेरिकामा विभिन्न कारणबाट मृत्यु हुने र कोरोनाबाट मृत्यु हुनेहरुको तुलना गरेको छ । त्यसको सारसंक्षेप ।
कार दुर्घटना र कोरोना
अमेरिकामा हरेक बर्ष कार दुर्घटनामा औषतमा २४ हजार १ सय ६६ जनाको मृत्यु हुने गरेको छ । कार दुर्घटनाबाट हुने मृत्युको तुलनामा कोरोना संक्रमणबाट १० महिनाकै अवधिमा १० गुणा बढीको मृत्यु भएको छ ।
फ्लु र कोरोना
अमेरिकामा सन् २०१४ देखि सन् २०१८ सम्मको तथ्यांक हेर्दा फ्लुबाट हरेक बर्ष औषतमा ४२ हजार २ सयको मृत्यु हुने गरेको छ । जसको तुलनामा कोरोना संक्रमणबाट १० महिनामै ५ गुणा बढीको मृत्यु भइसकेको छ ।
कोरोना भाइरसलाई फ्लुजस्तै सामान्य तरिकाले लिनेहरुको कमी छैन । तर फ्लुको तुलनामा कोरोना भाइरसम धेरै खतरनाकमात्र होइन, रोगजनक र संक्रामक समेत रहेको छ ।
आत्महत्या र कोरोना
अमेरिकामा बर्षेनी औषतमा ४५ हजार ४ सय ३० ले आत्महत्या गरेको तथ्यांक छ । सन् २०१४ देखि सन् २०१८ सम्मको सीडीसीको त्थ्यांकले यही भन्छ । कोरोना संक्रमणबाट यसको तुलनामा ५ गुणा बढीको मृत्यु भइसकेको छ ।
मुटुको रोग र कोरोना
अमेरिकामा मुटुको रोगबाट हरेक बर्ष औषतमा ६ लाख ७० हजार ५ सय ९५ जनाको मृत्यु हुने गरेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या भने एकबर्षमा यति हुने अपेक्षा गरिएको छैन । तर आगामी जनवरीसम्म दैनिक मुटुरोगबाट मृत्यु हुनेको संख्याभन्दा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढी हुने अनुमान गरिएको छ ।
क्यान्सर र कोरोना
अमेरिकामा हरेक बर्ष क्यान्सरबाट औषतमा ६ लाख १२ हजारको ज्यान जाने गरेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या यसको अनुपातमा कम रहेको छ ।
स्ट्रोक र कोरोना
अमेरिकामा हरेक बर्ष स्ट्रोकबाट औषतमा १ लाख ४२ हजारको मृत्यु हुने गरेको छ । कोरोनाबाट १० महिनाको अवधिमा १ दशमलव ८ गुणा बढीको मृत्यु भएको छ ।