अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे २ लाख


प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे २ लाख नाघेको छ । जोन हप्किन्स युनिभर्सिटीले संकलन गरेको तथ्यांक अनुशार महामारी सुरु भएयता अमेरिकामा कोरोना संक्रमणबाट कम्तीमा २ लाख ५० हजार २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या झण्डै १ करोड १५ लाख पुगेको छ ।

अमेरिकामा कोरोना संक्रमणबाट पहिलो मृत्यु गत फरबरी २९ मा वासिंटन राज्यमा भएको थियो । क्यालिफोर्नियामा भएका दुईवटा मृत्युलाई पछिमात्र कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टी गरिएको थियो । अमेरिकामा केहीदिन यता कोरोना संक्रमित हुनेको संख्या निकै बढेको छ भने मंगलबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एकदिनको तथ्यांकमा विगत ६ महिनाकै उच्च थियो ।

भोलिदेखि न्युयोर्क सिटीका विद्यालय बन्द

कोरोना संक्रमणदर ३ प्रतिशत पुगेपछि भोलि न्युयोर्क सिटीका विद्यालयहरु बन्द गरिने भएको छ । मेयर बिल ब्लाजिओले औषत ७ दिनको संक्रमणदर ३ प्रतिशत पुगेको भन्दै भोलि बिहिबारदेखि विद्यालय बन्दको घोषणा गरेका हुन् ।

सार्वजनिक विद्यालय भवनहरु बन्द हुने जानकारी दिदै मेयर ब्लाजिओले कोरोना महामारीको दोश्रो छालसँग लड्नैपर्ने बताएका छन् । केही दिन यता न्युयोर्कमा कोरोना संक्रमण दर बढ्दै गएको छ ।

न्युयोर्कमा हिजोसम्मको रेकर्ड अनुशार संक्रमणदर ३ दशमलव ४३ प्रतिशत पुगेको गभर्नर एन्ड्रयु कुमोले जानकारी दिएका छन् । मंगलरबार १ लाख ५४ हजार ४ सय ३४ जनाको परीक्षण गरिएकोमा ५ हजार २ सय ९४ मा कोरोना संक्रमण पुष्टी भएको थियो ।

अस्पतालमा भर्ना हुनेहरुको संख्या न्युयोर्कमा मंगलबार २२ सय २ पुगेको छ । मंगलबार न्युयोर्क राज्यभर कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com